बालबालिकामा हुने क्यान्सरः जनचेतना, चिकित्सकीय पूर्वाधार र आर्थिक सहयोग आवश्यक
आज अन्तर्राष्ट्रिय वाल्यकाल क्यान्सर दिवस १५ फेब्रुअरी २०२५
नेपाल हेल्थ न्युज, काठमाडौं । आज अन्तर्राष्ट्रिय वाल्यकाल क्यान्सर दिवस । हरेक वर्ष फेबु्रअरी १५ मा यो दिवस मनाउने गरिन्छ । यस दिनको उद्देश्य बाल्यकालको क्यान्सर बारे चेतना जगाउने र क्यान्सरबाट पीडित बालबालिका र उनीहरूका परिवारहरूलाई उपचार गर्न प्रोत्साहित गर्नु हो ।
![](https://i0.wp.com/nepalhealthnews.com/wp-content/uploads/2025/02/childhodd-cance-awarness-day.jpg?resize=720%2C450&ssl=1)
अधिकांश बालबालिकाहरुलाई ल्युकेमिया, मस्तिष्कको क्यान्सर, लिम्फोमा, न्यूरोब्लास्टोमा, विल्म्स ट्युमर र हड्डीको ट्युमरहरू हुने गरेको पाइन्छ । बाल्यावस्थाको क्यान्सरले विश्वभरका बालबालिकालाई प्रभावित पारिरहेको छ ।
सन् २००२ मा चाइल्ड हुड क्यान्सर इन्टरनेशनलले पहिलो पटक यो दिवस मनाएको थियो । यो पाँच महाद्वीपका ९३ भन्दा बढी देशहरुमा मनाउने गरिएको छ ।
क्यान्सरको विश्वव्यापी वितरण
क्यान्सरको घटना र मृत्युदर देश अनुसार फरक फरक देखिन्छ । उच्च आय भएका देशहरूमा बालबालिकामा क्यान्सरको उपचारको पहुँच राम्रो भएकाले निको हुने दर ८५ देखि ९० प्रतिशतसम्म छ । तर, नेपालजस्ता निम्न र मध्यम आय भएका देशहरूमा यो दर निकै कम छ ।
नेपालमा बाल क्यान्सरको अवस्था
नेपालमा प्रत्येक वर्ष करिब १,५०० नयाँ क्यान्सरका बालबालिका थपिने गरेका छन् । तीमध्ये करिब ५० प्रतिशत बालबालिका मात्र उपचारको पहुँचमा रहेका छन् ।
चिकित्सकहरूको अभाव, जनचेतनाको कमी र आर्थिक समस्याका कारण धेरै बालबालिका उपचारबाट वञ्चित छन् । बालबालिकामा क्यान्सरको समस्या विश्वव्यापी रूपमा रहेको भएपनि निम्न र मध्यम आय भएका देशहरूमा यसको प्रभाव बढी देखिन्छ । नेपालमा पनि बाल क्यान्सरको उपचारमा विभिन्न चुनौतीहरू छन् जसलाई समाधान गर्न जनचेतना अभिवृद्धि, चिकित्सकीय पूर्वाधारको विकास र आर्थिक सहयोग आवश्यक छ ।