Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

सफल डायग्नोष्टिक चेनल्याव : देशका आठ ठाउँमा शाखा बिस्तार, काठमाडौंमा मात्र १० करोडको लगानी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सँगै अध्ययन गरेका साथीहरु मिलेर सात जनाको टिमले २०७० सालमा बुटवलमा सञ्चालनमा ल्याएको एनपीएलले वुटवल, भैरहवा, धनगढी, नेपालगञ्ज, गुल्मी, घोराही, तुलसीपुर, काठमाडौं गरी आठ ठाउँमा शाखा विस्तार गर्न सफल भएको छ । सबै सञ्चालकहरु ल्यावटेक्नोलोजिष्ट भएतापनि एनपीएललाई देशव्यापी रुपमा संस्थागत गर्न सबैको समान जिम्मेवारी छ । पवन जोशी नेशनल प्याथल्याव (एनपीएल) मा १० वर्षदेखि प्रबन्ध निर्देशक हुनुहुन्छ । जोशीले सानै उमेरबाट ल्याबोरेटोरी व्यवसाय शुरु गर्नुभएको हो । उमेरले उहाँ ३२ वर्षको हुनुहुन्छ । ल्याव शुरु गर्दा जोशी २२ वर्षको हुनुहुन्थ्यो । उहाँका अनुसार चितवन, विराटनगर र पोखरामा पनि शाखा बिस्तार हुँदैछन् । यसै विषयमा केन्द्रित भएर गरिएको कुराकानीः


काठमाडौं बाहिर ल्याव शुरु गर्नुको कारण के थियो ?
झण्डै १० वर्षअघिसम्म नेपालमा धेरै नमुना परीक्षण गर्न सम्भव थिएन । त्यतिबेला काठमाडौँ उपत्यकमा थोरै ल्यावले सेवा दिइरहेको भएतापनि उपत्यका बाहिर एउटा पनि ल्याव सञ्चालनमा आउन सकेका थिएनन् । सबै नमुना परीक्षण गर्न भारत पठाउनुपर्ने बाध्यता थियो । उपत्यका बाहिर ल्यावको आवश्यकतालाई ख्याल गरेर वुटवलबाट नेशनल प्याथल्याव सञ्चालनमा ल्याउन सफल भयौं ।

शुरुदेखि नै हामीले हर्मोन, ट्यूमरको जाँच, हिस्टोप्याथोलोजी सेवा, पिसिआर सेवा लगायतका सबै परीक्षण सेवा प्रदान गर्न सफल भयौं । नेपालमा रेफरेन्स इन्डिपेन्डेन्ट ल्याव सञ्चालनमा आएपनि अत्यधिक परिष्कृत परीक्षणहरु जस्तैः इम्युनो फ्लोरोसेन्स, पीसीआर बेस्ड जाँच, इम्युनो हिस्टोकेमिस्ट्री, फ्लोसाइटोमेट्रि, माइक्रोएरे लगायतका परीक्षण गर्ने ल्याव नभएकाले २०७८ साउन देखि काठमाडौँमा अत्याधुनिक ल्याव ‘एनपिएल काठमाडौं’ शुरु गरेका छौं ।

नेपालका अन्य ल्यावमा नहुने धेरै परीक्षणहरु हामीकहाँ हुन्छन् । अबको २०८० सालभित्र चितवन, पोखरा र बिराटनगरमा पनि नयाँ शाखा सञ्चालनमा ल्याइसक्ने अभियानका साथमा अघि बढेका छौं ।


यसरी ल्याव खोल्ने सोच कसरी बन्यो ?
महेन्द्रनगरबाट प्लस टु पास गरेपछि ल्याव टेक्नोलोजिष्ट अध्ययनका लागि विदेश गएँ । नेपाल फर्किएपछि ६ महिना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा इन्टर्नशिप गरेँ । त्यो बेला धेरै कुरा सिक्ने र जान्ने अवसर मिल्यो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा धेरै परीक्षणहरु हुँदैनथे । एएनए, क्यान्सरमा गरिने परीक्षण इम्युनोहिस्टोकेमिस्ट्री र संक्रामक रोग, पीसीआरमा आधारित परीक्षणका नमुनाहरु भारत पठाइन्थ्यो । इन्टर्नशिपका क्रममा नेपालमा परीक्षण गर्न सकिने नमुनाहरु, नमुना संकलन हुने क्षेत्र, भारतीय ल्यावहरुको सञ्जालहरुबारे अध्ययन र तथ्याङ्क संकलन गर्ने मौका पाएँ ।

अहिले सम्म कति लगानी भइसकेको छ ?
अहिले तीन प्रदेशका ९ जिल्लाबाट प्रयोगशाला सेवा दिइरहेका छौँ । दुइ करोडको लागतमा बुटवलमा शुरु गरिएको एनपिएलका सबै शाखा गरेर अहिले सम्म ५० करोड रुपियाँ भन्दा बढी लगानी भइसकेकोे छ । काठमाडौँ शाखा विस्तारमा मात्र करिब १० करोड रुपियाँ लगानी भइसकेको छ ।

समय अनुसार क्लिया, इम्युनोहिस्टोकेमेस्ट्री, फ्लोसाइटोमेट्री जस्ता अत्याधुनिक उपकरण अपडेट गरेका छौं । प्रयोगशालाले नयाँ टेक्नोलोजी भित्र्याउन कन्जुस्याइँ गर्नुहुँदैन भन्ने मेरो मान्यता हो ।

बिरामीको तथ्याङ्कलाई सुरक्षित राख्न छुट्टै सफ्टवेर व्यवस्था गरेका छौं ।

गुणस्तरीय रिपोर्ट प्रस्तुत गर्नमा एउटा व्यवस्थापकको भूमिका कस्तो हुुनुपर्छ ?
यदि पवन जोशीले मात्र ल्याव सञ्चालनमा ल्याएको भए आज नेपालमा एउटा मात्र ल्याव हुने थियो होला । ल्याव बारे यस. ओ. पी. हुनुपर्छ । डिफाइन सिस्टम आर्किटेक्चर हुनुपर्छ । हामीले तयार गरेको लिखित पोलिसीमा मापदण्ड, आवश्यक उपकरण, जनशक्ति र लगानीबारे स्पष्ट रुपमा उल्लेख गरिएको छ । स्टाफहरुलाई मिनिमम ट्रेनिङ के के दिनुपर्ने हो र कति समयको ट्रेनिङले पुग्छ भन्ने बारे पनि सुरुवात देखि नै बिचार गरी सोही अनुरुप काम गर्दै आएकाले यस क्षेत्रमा सफल भएका हाँै ।

असल व्यवस्थापकमा हुनुपर्ने गुण के के हुन् ?
कुनैपनि संस्था सञ्चालन गर्न असल व्यवस्थापकको भूमिका महत्वपूर्ण हुन्छ ।

व्यवस्थापकलाई सानादेखि ठूला सबै कुरा थाहा हुनुपर्छ । फ्रन्ट अफिसमा काम कसरी गर्ने, नमुना संकलन कार्यविधि, लूप होल र सम्भावित जोखिमबारे ज्ञान हुनुपर्छ । सबै डिपार्टमेन्टबारे ज्ञान नभएका व्यवस्थापकलाई काम गर्न सहज हुँदैन ।

कतिपय ठाउँमा राम्रो पोलिसी भएर पनि व्यवस्थापक राम्रो नपर्दा संस्था राम्रोसँग चल्न सक्दैन । हामीले ल्यावको मापदण्ड अनुसार व्यवस्थापकलाई ६ महिनादेखि नौ महिना सम्मको तालिम दिने गरेका छौं ।

अन्य ल्याव भन्दा नेशनलप्याथ ल्याव उत्कृष्ट छ भनेर कसरी ठान्ने ?
कुनै टेस्ट गर्नुपूर्व सम्भाव्यता अध्ययन, गुणस्तर सुनिश्चितता गरिन्छ । बुटवल र काठमाडौँमा गुणस्तर नियन्त्रण सम्बन्धी हेर्ने छुट्टै विभाग छ । यसले ल्यावहरुलाई निरन्तर निगरानी गर्छ । हरेक महिनाको दुईपटक इन्टर ल्याव कम्पेरिजन गरिन्छ । त्यसैगरी ल्यावमा विश्वसनीय एवं भरपर्दो कम्पनीका गुणस्तरीय नियन्त्रण सामाग्री प्रयोग भएका छन् ।


त्यस्तै नेशनल प्याथल्यावले छोटो समयमा धेरै शाखा विस्तार गरेर सबैको विश्वास जित्न सफल भएको छ । देशभरका शाखाबाट गरी प्रत्येक दिन दुई हजार भन्दा बढी नमुना परीक्षण हुँदै आएका छन् । नेपालका अन्य ल्यावहरुमा परीक्षण नहुने टेष्ट यस एनपीएलमा हुन्छ । त्यसैले अहिले परीक्षणका लागि मुलुक बाहिर जाने नमुनालाई रोक्न सफल भएका छौं ।

बुटलवको ल्याव क्षेत्रगत भएकाले सीमित ल्याव टेस्ट दायरा थिए । अहिले सेन्टरमा आइसकेपछि धेरै दायरा बढाएका छौँ ।

जाँचको रिपोर्ट चाँडै उपलब्ध गराउन के कस्तो पहल गर्नुभएको छ ?
रुटिन जाँचहरुको परीक्षण त नेपालमा धेरै ल्याबहरुमा हुन्छ, तर हामीले उच्चतम प्रबिधिबाट एजोटेरिक टेस्टहरुको परीक्षण पनि यहि सुरु गरेका छौँ, इम्युनोफ्लोरोसेन्स प्रविधिबाट धेरै परीषण यहीं गर्छौ, ग्लोमिरुलोनेफराइटिस प्यानल, अटोइम्युन हेपाटाइटिस प्यानल, इन्सेफलाइटिस प्यानलहरुको जाँच हुँदै आइरहेको छ ।

फ्लोसाइटोमेट्रीबाट ल्यूकेमियाको जाँच सुरु गरेका छौँ । जुन जाँचको रिपोर्ट २४ घण्टा भित्र दिनुपर्छ । जति छिटो रिजल्ट आयो त्यति नै बिरामी निको हुने सम्भावना बढी हुन्छ । उक्त परीक्षण गर्न भारत पठाउनुपर्दा रिपोर्ट आउन तीन चार दिन लाग्थ्यो । अहिले आजको भोलि रिपोर्ट दिइरहेका छौँ । इम्युनोहिस्टोकेमिस्ट्री प्रविधिबाट क्यान्सर सम्बन्धि धेरै जाँचहरु गरिरहेका छौं ।

अन्त्यमा, यस विषयमा केही भन्नु छ कि ?
छिटो र सहुलियत दरमा गुणस्तरीय रिपोर्ट दिनु यस ‘एनपीएल’को मुख्य उदेश्य हो । सोही अनुरुप ल्याव सेटअप गरेका छौँ । इन्डिया जाने धेरै टेष्ट नेपालमै गरिहरहेका छौँ । गुणस्तरमा कहिल्यै पनि सम्झौता गदैनौं । सहुलियत दर र समयमा रिपोर्ट उपलब्ध गराउने प्रतिबद्ध छौं ।

प्रतिक्रिया दिनुहोस्