टाउको दुख्ने र चक्कर लाग्ने समस्या
जनस्वास्थ्य सरोकार, काठमाडौँ । टाउको दुख्ने धेरैलाई हुने स्नायु प्रणालीसम्बन्धि समस्या भएको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ । विश्वका १८ देखि ६५ वर्ष उमेर समूहका ५० प्रतिशत वयस्कहरुमा वर्षमा कुनै एकपटक टाउको दुख्ने गरेको छ । त्यसमध्ये ३० प्रतिशतमा माइग्रेनले टाउको दुखेको छ । यसरी बारम्बार टाउको दुख्ने समस्याले व्यक्तिगत र सामाजिक बोझ, अशक्तता, गुणस्तरीय जीवनमा क्षति र आर्थिक भार बढाइरहेको संगठनले उल्लेख गरेको छ । तर उचित रुपमा टाउको दुख्ने समस्या निदान र उपचार गर्न सकिने संगठनको भनाइ छ । टाउको प्रारम्भिक र सेकेन्डरी गरी दुई प्रकारका हुन्छन् ।
प्रारम्भिक टाउको दुखाई
तनावले हुने टाउको दुखाइ
तनावले टाउकोमा धेरै दबाब दिन्छ र कसैले निचोरिरहेको जस्तो लाग्छ । तनावले हुने टाउको दुखाई ३० मिनेदेखि केहि घण्टा र दिनसम्म पनि रहन सक्छ । तनावले हुने टाउको दुखाइको उपचार सामान्यतया प्यारासिटामोल र आइबुप्रोफेन जस्ता साधारण दुखाइ कम गर्ने औषधिहरूबाट गर्न सकिन्छ ।
माइग्रेन
सामान्यतया माइग्रेनमा टाउकाको दायाँबायाँ भागमा कष्टदायी बल्किने दुखाई महसुस हुन्छ । माइग्रेनको टाउको दुखाई तनावले हुने टाउको दुखाई भन्दा बढी कष्टकर हुने भएकाले तपाइको सामान्य दैनिक गतिविधिहरुमा असर पार्छ ।
माइग्रेन टाउको दुखाइलाई ओभर–द–काउन्टर औषधिहरू (पारासिटामोल आदि) द्वारा सफलतापूर्वक उपचार गर्न सकिन्छ । तर यदि यो पीडादायी भएमा चिकित्सकको सिफारिसमा कडा औषधिहरू पनि आवश्यक पर्नसक्छ ।
क्लस्टर टाउको दुखाइ
दुर्लभ मानिने यस प्रकारको टाउको दुखाईको आधा भाग (अर्धकपाली) र आँखाको पछाडी पट्टी समूहगत रूपमा हुन्छ । यो टाउको दुखाईको बेला नचलीकन स्थिर भएर बस्न सकिदैन । यो अत्यन्त पीडादायी र एउटा आँखा वरिपरि दुखाइ हुन्छ । आँखाबाट पानी आउने वा रातो हुने, नाक अवरुद्ध हुने वा नाकबाट पानी बग्ने भएकाले चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्न जरुरी हुन्छ ।
औषधि सेवनले हुने टाउको दुखाइ
धेरै दुखाइ कम गर्ने औषधिहरु (पेनकिलर) सेवन गर्दा पनि बारम्बार टाउको दुख्ने हुनसक्छ । औषधि सेवन गर्न बन्द गरेको केही हप्ताभित्र निको हुन्छ ।
धेरै रक्सी पिउने, चिसो रुघाखोकी, पिनास, कार्बन मानोअक्साइडको असर, स्लिप एपनिया टाउकाको घाउ, चपाउने मांशपेशी र तल्लो बंगारा र खोपडीबीचको जोर्नीको असरले पनि टाउको दुख्नसक्छ ।
सेकेन्डरी (अन्य कारणले हुने) टाउको दुखाइ
मस्तिष्कमा हुने संक्रमण (इन्सेफेलाइटिस), मेनिन्जाइटिस, मस्तिष्कको घाउ, स्नायु कोषमा हुने संक्रमण (बंगुरबाट हुने फित्ते जुका), मस्तिष्क को ट्यूमर, मस्तिष्काघात, मस्तिष्कमा रक्तश्राव, पिनास, आँखाको समस्या, औषधीजन्य कारण (जस्तै नाइट्रेट्स,निफेडीपाइन) , मस्तिष्कमा चोटपटक, उच्च रक्तचापसम्बन्धी आपतकालीन अवस्था, रक्तवाहिनीको सूजन, मनोरोग, शरीर सम्बन्धी कुनै गम्भीर रोग वा लक्षण (जस्तैः ज्वरो) ले पनि टाउको दुख्न सक्दछ । धेरैजसो अवस्थामा टाउको दुख्नु गम्भीर समस्याको संकेत होइन । तर कहिलेकाही यो स्ट्रोक (पक्षाघात), मेनिन्जाइटिस, र मस्तिष्क ट्युमर जस्ता समस्याहरुको लक्षण पनि हुनसक्छ । यदि तपाइलाई टाउको दुखाइ चिन्ताजनक भएजस्तो लागेमा तुरुन्तै चिकित्सकको सल्लाह लिनुहोला ।
हर्मोनले हुने टाउको दुखाइ
महिलाहरुमा टाउको दुखाइ महिनावारीसँग सम्बन्धित हुन्छ । गर्भनिरोधक चक्की, रजोनिवृत्ति र गर्भाधान पनि सम्भावित कारकहरू हुन् । मानसिक तनाव नलिने, नियमित निद्रा लिने, सन्तुलित खानपानमा ध्यान दिएमा मासिक धर्मसँग जोडिएको टाउको दुखाई कम गर्न मद्धत गर्छ ।
चक्कर लाग्ने समस्या
रिङ्गटा लाग्नुको पछाडि तपाईका केही स्वास्थ्य समस्या र खानपान पनि जिम्मेवार हुन्छन् । रिंगटा लाग्दा कसै कसैलाई हल्का टाउको दुख्दै टाउको घुमाउने गर्छ भने कतिलाई वरिपरिको सवै वस्तुहरु घुमिरहेको महसुस भई विस्तारै कम हुन्छ । यसलाई भर्टाइगो (रिंगटा लाग्ने) भनिन्छ । अचानक रक्तचाप कम भएमा, झाडापखाला, वान्ता, उच्च ज्वरो, धेरै गर्मी, आदिले चक्कर लाग्नसक्छ । छारेरोग, कानमा ट्युमर, स्ट्रोक, माइग्रेन, तनाव र चिन्ता, मोशन सिकनेस, माइग्रेन, मुटु रोग, शरीरमा आइरनको कमी, हाइपोग्लाइसेमिया आदिका कारण चक्कर लाग्नसक्छ । रगतमा ग्लुकोजको मात्रा सामान्यभन्दा कम भएमा व्यक्तिलाई चक्कर लाग्न सक्छ
डाक्टरलाई कहिले भेट्ने ?
कानको भित्री भागमा विकार, न्यूरोलोजिकल समस्या, संक्रमण, चोट, खराब रक्त परिसंचरण जस्ता अन्तर्निहित स्वास्थ्य समस्या भएमा तत्काल डाक्टरलाई देखाउन जरुरी हुन्छ ।
विशेषगरी नयाँ वा गम्भीर प्रकृतिको टाउको दुखाई, पटक पटक जोडले आउने खालको बान्ता, धेरै ज्वरो, बेहोश, अचानक बोली, सुन्ने शक्ति र दृष्टिमा समस्या, झम्झमाउने वा हातखुट्टा निदाउने, हात र खुट्टा कमजोर भएको महसुस, सहयोग बिना हिड्न गाह्रो, छाती दुख्ने, सास फेर्न गाह्रो, मुटुको धड्कन बढेमा, टाउकोमा चोट लागेमा, छारेरोग, घाँटी कडा हुने समस्या भएमा डाक्टरलाई भेट्न ढिला गर्न हुँदैन ।
सावधानी
रिंगटा लाग्ने व्यक्तिले बसेर उठ्दा केही द¥ह«ो चिजमा समातेर मात्र उठ्ने, सुतेर उठ्नुपर्दा पहिले बिस्तारै बस्ने अनि एकछिनपछि मात्र बिस्तारै उठ्ने, अचानक उठ्ने बस्ने वा शरीरको स्थितिलाई परिवर्तन नगर्ने, शरीरमा जलविनियोजन हुन नदिने, रिंगटा लागेको बेलामा नचलीकन आरामसँग बस्ने, अचानक छिटो छिटो शरीरको स्थितिलाई परिवर्तन नगर्ने, चम्किलो प्रकाशमा हेर्ने, पढ्ने आदि काम नगर्ने, गाडी चलाउने, रुख चढ्ने, पौडी, मोवाइल खेल्ने वा मेशीनको काम लक्षण देखिन छाडेको एक हप्तासम्म गर्नहुँदैन । साथै कम्प्युटर पनि चलाउन हुँदैन ।
(काठमाडौँको सिनामंगलस्थित प्रोमेड मल्टी स्पेशियालिटी क्लिनिकमा डा. विश्वनाथ कोइराला प्रबन्ध निर्देशक र डा. परशुराम घिमिरे मेडिकल डाइरेक्टर हुनुहुन्छ ।)