Logo
|
Saturday 27th July 2024
Logo

epaper

‘हरेक मुटुका लागि मुटुको प्रयोग’ भन्ने मुल नाराका साथ आज विश्व मुटु दिवस २०२२ मनाइँदै

कार्डियोभास्कुलर रोगबाट वर्षेनी करिब १ करोड ७९ लाख मानिसको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं । आज विश्व मुटु दिवस । ‘हरेक मुटुका लागि मुटुको प्रयोग’ भन्ने मुल नाराका साथ विश्व मुटु दिवस २०२२ नेपाललगायत विश्वभर मनाइँदैछ । विश्व मुटु दिवस हरेक वर्ष सेप्टेम्बर २९ मा मनाइन्छ ।

यसको उद्देश्य मुटु रोग र यससँग सम्बन्धित स्वास्थ्य समस्याहरूमा मानिसहरूको ध्यान आकर्षित गर्नु हो । यो आम जनतामा मुटु रोगबारे चेतना फैलाउन प्रेरित अन्तर्राष्ट्रिय अभियान हो ।

हृदयघात, मस्तिष्कघात र मुटुसँग सम्बन्धित अन्य कुनै पनि रोगबाट बच्न विभिन्न रोकथामका उपाय र जीवनशैलीमा परिवर्तन ल्याउने उद्देश्यले यो दिवस मनाइन्छ ।

सरल शब्दमा भन्नुपर्दा विश्व मुटु दिवस विश्वभरका आम मानिसमा मुटु स्वास्थ्य बारे सचेतना फैलाउने अभियान हो ।

सन् १९९९ मा विश्व मुटु महासंघ र विश्व स्वास्थ्य संगठनले विश्व मुटु दिवस मनाउने घोषणा गरेका थिए । यो विचार विश्व मुटु महासंघका अध्यक्ष एन्टोइन बेयस डे लुना (१९९७—१९९९) को थियो । यो पहिलो पटक सन् २००० मा मनाइएको थियो ।

शुरुमा विश्व मुटु दिवस हरेक वर्ष सेप्टेम्बरको अन्तिम आइतबार मनाइँदै आएको थियो र यो २०१० सम्म जारी रह्यो । सन् २०११ देखि विश्व मुटु महासंघले हरेक वर्ष सेप्टेम्बर २९ मा विश्व मुटु दिवस मनाउन थालेको हो । (अब यो दिन आइतबार नै होस् भन्ने जरुरी छैन) । पहिलो विश्व मुटु दिवस २४ सेप्टेम्वर २००० मा मनाइएको थियो । विश्व मुटु महासंघ एक गैर–सरकारी संस्था हो । यो जेनेभा, स्विट्जरल्याण्डमा अवस्थित छ ।


सन् १९४६ मा स्थापित अन्तर्राष्ट्रिय कार्डियोलोजी सोसाइटी र १९७० मा स्थापित अन्तर्राष्ट्रिय कार्डियोलोजी महासंघलाई १९७८ मा एकीकृत गरी अन्तर्राष्ट्रिय समाज र कार्डियोलोजी महासंघ गठन गरियो । पछि सन् १९९८ मा इन्टरनेशनल सोसाइटी र फेडरेशन अफ कार्डियोलोजीको नाम बदलेर विश्व मुटु महासंघ राखियो ।

विश्वव्यापी रूपमा मुटु रोग विरुद्ध लड्ने यो एक मात्र संस्था हो । मुटुरोगसम्बन्धी जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष विश्वभर मुटु रोगसम्बन्धी विभिन्न कार्यक्रम गरी विश्व मुटु दिवस मनाइन्छ । यसको उद्देश्य संसारलाई मुटु रोगबाट मुक्त बनाउन मानिसहरूलाई प्रेरित गर्नु हो ।

विश्व मुटु महासंघले विश्वका १०० भन्दा बढी देशमा अन्य संघसंस्थासँगको सहकार्यमा विभिन्न किसिमका सचेतना कार्यक्रम आयोजना गर्दै आएको छ । यसका साथै यस दिन धेरै ठाउँमा मुटुको जाँच शिविर समेत आयोजना गरी मुटु सम्बन्धी रोगबारे सचेतना गराइन्छ ।

प्रत्येक वर्ष विश्व मुटु दिवस मनाउन विशेष विषयवस्तु तय गरिएको छ र सोही अनुसार विश्वभर विभिन्न कार्यक्रमहरु हुने गर्दछन् । यसलाई विश्व मुटु दिवसको नारा भनिएको छ ।

सन् २००० मा पहिलो विश्व मुटु दिवसको विषयवस्तु ‘लभ माइ हार्ट लेट इट विट’ थियो । हरेक वर्ष विश्व मुटु दिवसको अवसरमा विश्वभर आ–आफ्नो हकमा लाग्ने विशिष्ट विषयवस्तु अनुसार विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ । सन् २००० अघि विश्व मुटु दिवसको नारा ‘आई लव माइ हार्टः लेट इट बीट’ थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार,

  • मुटु रोग (कार्डियोभास्कुलर डिजिज) विश्वव्यापी रूपमा मृत्युको प्रमुख कारण हो ।
  • कार्डियोभास्कुलर रोगबाट वर्षेनी करिब १ करोड ७९ लाख मानिसको मृत्यु हुने गरेको छ जुन विश्वव्यापी मृत्युको ३२ प्रतिशत हो । तीमध्ये ८५ प्रतिशतको मृत्यु मुटु रोग र मस्तिष्कघातका कारण हुने गरेको छ ।
  • कार्डियोभास्कुलर रोगबाट हुने मृत्युको तीन चौथाई भन्दा बढी कम र मध्यम आय भएका देशका नागरिक हुने गरेका छन् ।
  • सन् २०१९ मा नसर्ने रोगका कारण भएका १७ लाख अकाल मृत्यु (७० वर्ष मुनिका) मध्ये ३८% मुटुजन्य रोगका कारण भएको थियो
  • धेरैजसो मुटु रोगहरूलाई सुर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ आहार, मोटोपना, शारीरिक निष्क्रियता र रक्सीको हानिकारक प्रयोग जस्ता व्यवहारजन्य जोखिम कारकहरूलाई रोकथाम गरेर नियन्त्रण सकिन्छ ।
  • जतिसक्दो चाँडो मुटुरोग पत्ता लगायो त्यति नै चाँडो परामर्श र औषधिको प्रयोग गरेर व्यवस्थापन गर्न सकिन्छ ।

हृदयघात र मस्तिष्कघातहरू तत्काल हुने घटना हुन् जुन मुख्यतया मुटु वा मस्तिष्कमा रगत प्रवाह रोकिने अवरोधको कारणले हुन्छन् । यसको सबैभन्दा धेरै हुने कारण मुटु वा मस्तिष्कलाई आपूर्ति गर्ने रक्तनलीहरूको भित्री पर्खालहरूमा बोसो जम्मा हुनु हो । मस्तिष्कको रक्तनलीमा रक्तस्राव वा रगत जमेका कारण मस्तिष्कघात हुनसक्छ ।

मुटु रोग कस्ता प्रकारका हुन्छन् ?

कोरोनरी मुटु रोग– मुटुको मांसपेशीमा आपूर्ति गर्ने व्लड भेसल्स (रक्त वाहिका) मा हुने समस्या हो ।

सेरेब्रोभास्कुलर रोग– मस्तिष्कमा आपूर्ति गर्ने व्लड भेसल्स (रक्तवाहिका) मा हुने समस्या हो यो ।

पेरिफेरल आर्टरियल रोग– हात र खुट्टामा आपूर्ति गर्ने ब्लड भेसल्स (रक्तवाहिका) मा हुने समस्यालाई पेरिफेरल आर्टरियल रोग भनिन्छ ।

वाथ मुटु रोग– स्ट्रेप्टोकोकल ब्याक्टेरियाको कारणले हुने ज्वरोबाट मुटुको मांसपेशी र मुटुको भल्भमा पुग्ने क्षति वाथ मुटु रोग हो ।

जन्मजात मुटु रोग– जन्मदेखि मुटुको संरचनाको विकृतिका कारण मुटुको सामान्य विकास र कार्यलाई प्रभावित गर्ने जन्म दोष हो यो ।

डिप भेन थ्रोम्बोसिस र पल्मोनरी एम्बोलिज्म– खुट्टाको नसाहरूमा रगत जम्ने समस्या हो जसलाई बाहिर निकालेर जमेको रगत मुटु र फोक्सोसम्म पु¥याउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्