Logo
|
Thursday 25th April 2024
Logo

epaper

विश्व दृष्टि दिवस २०२२ः ‘आँखालाई माया गरौँ’

मुलुकमा ५० हजार व्यक्तिले दुवै आँखा देख्दैनन्



जनस्वास्थ्य सरोकार, काठमाडौं । आज विश्व दृष्टि दिवस । ‘आँखालाई माया गरौँ’ (लभ योर आई) भन्ने नाराका साथ देशविदेशमा विभिन्न संघसंस्थाहरुले विभिन्न कार्यक्रमका साथ यो दिवस मनाउँदै छन् ।

हरेक वर्ष अक्टोवर १३ तारेखमा विश्व दृष्टि दिवस मनाउने गरिन्छ ।

सन् १९९८ देखि विश्व स्वास्थ्य संगठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठन (इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस —आईएपिबीले संयुक्त रुपमा यो दिवस मनाउन सुरु गरेका थिए ।


विश्व स्वास्थ्य संगठनको आँकडा अनुसार विश्वमा झण्डै २ अर्ब २० करोड मानिसमा दृष्टि सम्बन्धि समस्या रहेको छ भने झण्डै १ अर्ब जतिलाई अझै पनि आँखा सेवाबाट वञ्चित रहेका र पहुँच भएमा दृष्टिको जगेर्ना गर्न सकिने बताएको छ ।

नेपालमा पनि सन् २०१९ को सर्वेक्षणले सन् १९८१ को तुलनामा अन्धोपन तथा दृष्टि दोषको अनुपातमा कमी देखाएता पनि जनसंख्या वृद्धि र जेष्ठ नागरिकको संख्यामा भएको वृद्धिले अन्धोपन तथा दृष्टिदोषको संख्यामा त्यति फरक परेको देखिँदैन ।


विश्व दृष्टि दिवस २०२२ को अवसरमा नेपाल नेत्रज्योति संघद्धारा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिगो विकास लक्ष्य प्राप्तीमा आँखा स्वास्थ्यको भुमिका उल्लेख गर्दै समुदायमा दृष्टि बिहिनताले गरिबी बढाउने, आँखा स्वास्थ्य राम्रो भएमा पारिवारिक आम्दानी बृद्धिमा मद्धत गर्ने, आँखा स्वास्थ्यले विद्यालय भर्ना, शिक्षा प्राप्ति र सिकाइमा सकारात्मक असर पार्ने जानकारी दिइयो । साथै स्वस्थ्य दृष्टिले समावेशी आर्थिक वृद्धि, रोजगारी र जीवनस्तरलाई प्रवद्र्धन गर्ने, सडक दुर्घटनाबाट हुने मृत्यु कम गर्ने जानकारी दिइएको छ ।

सो अवसरमा नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा. चेतराज पन्तले देशका प्रत्येक पालिकामा आँखा उपचार सेवा पुर्याउन राजनीतिक प्रतिवद्धताको आवश्यकता औंल्याउनुभयो । संघको सर्वेक्षणले मुलुकमा ५० हजार भन्दा बढी व्यक्तिले दुवै आँखा देख्न नसक्ने औंल्याएको छ ।


नेपाल सरकारको विश्व स्वास्थ्य संगठनको महासभाद्धारा पारित इन्ट्रिग्रेटेड पिपुर सेन्टर आई केयरको उद्देश्यलाई अवलम्बन गरी आँखा स्वास्थ्य रणनीति तयार गरिसकेको छ । सन् २०३० सम्ममा विश्वव्यापी लक्षलाई प्राप्त गर्ने, राष्ट्रिय आँखा स्वास्थ्य कार्य योजना तर्जुमा गर्ने कार्य समेत भइरहेको छ । संयुक्त राष्ट्र संघको २०२१ को महासभामा सबैका लागि दृष्टि तथा दिगो विकासका लक्ष्य प्राप्तीमा आँखा स्वास्थ्यको महत्वपूर्ण भूमिका रहेको महशुस गरिएको छ ।

यस परिपेक्ष्यमा आगामी दिनहरुमा पनि नेपालको आँखा स्वास्थ्य सेवालाई सर्वसुलभ सबैको पहुँचमा पु¥याई दिगो विकासको स्वास्थ्य सम्बन्धि लक्ष्य प्राप्त गर्न कटिवद्ध भएको संघका महासचिव भरतबहादुर चन्दले जानकारी गराउनुभयो । नेपालमा सन् १९८१ मा ०.८४ प्रतिशतअन्धोपनको स्थिति रहेकोमा सन् २०२२ सम्म आइपुग्दा अन्धोपनको स्थिति ०.२८ प्रतिशतमा सर्वेक्षणले देखाएको छ ।


नेपालमा शिक्षा, गरिबी, चेतनाको कमी तथा सेवाको पहुँचको कमी आदि कारणबाट दृष्टि विहिनताको स्थिति अझै प्रमुख स्वास्थ्य समस्याको रुपमा विद्यमान छ ।

प्रतिक्रिया दिनुहोस्