Logo
|
Friday 29th March 2024
Logo

epaper

प्रयोगशाला सञ्चालन सम्बन्धी नयाँ मापदण्ड



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड (पहिलो संशोधन २०७८) मा प्रयोगशाला सञ्चालन सम्बन्धि क्षेत्रफल, जनशक्ति, गुणस्तरलगायतका मापदण्ड तोकेको छ । जसमा ‘क’ वर्गका प्रयोगशालाको क्षेत्रफल ४ हजार वर्गफिट, ‘ख’ को १ हजार ५ सय, ‘ग’ को ४ सय, ‘घ’ को २ सय ५० र ‘ङ’ को १ सय ५० वर्गफिट कायम गरेको छ । जसमा लजिकल फ्लो मिलाएको हुनुपर्ने, नमुना संकलन, प्रोसेसिङ, परीक्षण, रिपोर्टिङका लागि छुट्टा छुट्टै क्षेत्र हुनुपर्ने व्यवस्था छ ।


कुल क्षेत्रफलको न्यूनतम ७० प्रतिशत प्रयोगशालासँग सम्बन्धित प्राविधिक परीक्षणका लागि हुनुपर्ने उल्लेख छ ।
‘क’ वर्गका प्रयोगशालाहरुले एउटै भवनमा सेवा दिन नसकेको अवस्थामा ५ सय मिटरभित्र रहेको अर्को भवनबाट सेवा सञ्चालन गर्नसक्ने कानुनी व्यवस्था छ ।


दक्ष जनशक्ति व्यवस्था
‘क’ वर्गका प्रयोगशालाका लागि ३० जना प्राविधिक जनशक्ति तोकिएको छ । जसमा ५० प्रतिशत स्नातक वा सो भन्दा माथिको योग्यता भएको हुनुपर्छ । कार्य विविधता अनुसार प्रतिनिधित्व हुनेगरी पाँच जना स्नाकोत्तर भएको हुनुपर्छ । ‘ख’ वर्गलाई १२ जना तोकिएको छ जसमा ५० प्रतिशत स्नातक वा सो भन्दा माथिका र तीन जना स्नाकोत्तर अध्ययन गरेको हुनुपर्छ । ‘ग’ वर्गका प्रयोगशालामा ६ जना तोकिएकोमा ५० प्रतिशत स्नातक र एकजना स्नाकोत्तर अध्ययन गरेको हुनुपर्ने व्यवस्था छ । ‘घ’ वर्गलाई ४ जना जसमा एकजना स्नातकसम्मको प्राविधिक जनशक्ति हुनुपर्छ । ‘ङ’ वर्गका प्रयोगशालाका लागि २ जना ल्याव असिस्टेन्ट तोकिएको छ ।

दक्ष जनशक्ति (चौबीसै घण्टा सेवा दिने संस्थाका लागि)
चौबीसै घण्टा आकस्मिक प्रयोगशाला सेवा सञ्चालन गर्नुपर्ने स्वास्थ्य संस्थाअन्तर्गत ‘क’ वर्गका प्रयोगशालाहरुमा १० जना प्राविधिक जनशक्ति तोकिएको छ जसमा ५० प्रतिशत न्युनतम स्नातक र २ जना स्नाकोत्तर हुनुपर्छ । ‘ख’ वर्गलाई पाँच जना तोकिएको छ जसमा दुइजना स्नातक र एक जना स्नातकोत्तर अध्ययन गरेको हुनुपर्छ । ‘ग’ वर्गका लागि तीन जना र एकजना स्नातक गरेको हुनुपर्छ । ‘घ’ वर्गका लागि न्युनतम एकजना प्राविधिक जनशक्ति तोकिएको छ । तर ‘ङ’ वर्गका प्रयोगशालाको हकमा जनशक्ति तोकिएको छैन । प्रयोगशालामा काम गर्ने जनशक्ति सम्बन्धित काउन्सिलमा दर्ता हुनुपर्ने, तालिमको व्यवस्था, कार्य बोझको आधारमा फुल टाइम र पार्ट टाइम जनशक्तिको व्यवस्था हुनुपर्ने व्यवस्था उल्लेख गरिएको छ ।

एकल प्रयोगशाला ‘क’ र ‘ख’ वर्गका लागि स्नाकोत्तर गरेको न्यूनतम एक जना फूल टाइम सूपरभाइजर हुनुपर्छ । ‘क’ वर्गको लागि स्नाकोत्तरपश्चात् अधिकृतस्तरमा एक वर्षको कार्यअनुभव हुनुपर्छ । ‘ग’ वर्गका लागि प्रयोगशाला सूपरभाइजर स्नाकोत्तर र ‘घ’ वर्गका लागि स्नातक उत्तीर्ण हुनुपर्छ । ‘क’ र ‘ख’ वर्गका लागि परामर्शदाताको व्यवस्था हुनुपर्छ । ल्याव सूपरभाइजर वा तोकिएको व्यक्तिले परामर्श दिनुपर्छ । परामर्शदाताले सेवाग्राही र परीक्षण पठाउने चिकित्सकहरुलाई परामर्श दिने, परीक्षण रिपोर्टको नतिजालाई मूल्याङ्कन गरी रोग पत्ता लगाउने र अन्य चिकित्सकलाई रोग अनुसार प्रयोगशाला परीक्षण छनौट गर्न सहयोग गर्नुपर्छ ।

‘क’ र ‘ख’ वर्गका प्रयोगशालाको परीक्षणबाट प्राप्त नतिजा कम्तिमा स्नाकोत्तर तह उत्तीर्ण प्राविधिकबाट प्रमाणित गर्नुपर्ने व्यवस्था छ । त्यसबाहेकका प्रयोगशालाको परीक्षणबाट प्राप्त नतिजा कम्तिमा स्नातक तह उत्तीर्ण प्राविधिकबाट प्रमाणित गरेको हुनुपर्छ ।

क वर्गको प्रयोगशालामा हुनुपर्ने थप व्यवस्था
प्राविधिक कर्मचारीको फेस रिडिङबाट गरिने इ– हाजिरी रेकर्ड तथा सबै कर्मचारीको तलब बैँक खातामा जाने व्यवस्था, हरेक दिन औषत २०० वटा बिरामीको नमुना प्राप्त हुनुपर्ने र सो नमुना सही ल्याबमा परीक्षण गरिनुपर्छ । साथै कम्तिमा ४०० प्रकारका परीक्षण गर्न सक्षम हुनुपर्छ । बायोकेमेष्ट्रि, सेरोलोजी, इम्युनोलोजी जस्ता मेसिनहरुले छिटो र छरितो सेवा दिन प्रति घण्टा कम्तिमा २०० ओटा टेस्ट गर्न सक्ने क्षमता भएको हुनुपर्छ । परीक्षणमा प्रयोग हुने मेसिनहरु तथा टेस्ट किटहरु युरोपियन सिई अथवा युएस एफडिए मान्यता प्राप्त भएको हुनुपर्छ । ठुला र प्रमुख उपकरणहरु वार्षिक मर्मत सम्झौता (ए.एम.सी) हुनुपर्छ । प्रविधिक कर्मचारीलाई नयाँ प्रविधिको ज्ञान र सीपको क्षमता अभिबृद्धिका लागि नियमित तालिमको व्यवस्था गर्नुपर्छ । प्रतिक्षालय, पुस्तकालय, कार्यालय प्रमुखको कोठा, बैठक हल तथा सेमिनार हलको व्यवस्था र अनुसूची २ मा भएका ८४ वटा परीक्षणमध्ये न्युनतम चालीस ओटा परीक्षण अनिवार्य गर्नुपर्छ ।

प्रयोगशालाले क वर्गको मान्यता प्राप्त गरेको दुइ वर्षभित्र उपलब्ध सेवाहरुमध्ये न्युनतम ५० वटा परीक्षणहरु आईएसओ १५१८९ मान्यता प्राप्त हुनुपर्छ । सो अवधिमा पुरा गर्न नसकेमा स्वतः बी वर्गमा जानेछ ।


हाल सञ्चालनमा रहेका प्रयोगशालाहरुले पनि यो मापदण्ड लागू भएको दुइ वर्षभित्र आईएसओ १५१८९ प्रमाणीकरण भइसक्नुपर्छ । प्रयोगशालाले ‘क’ वर्गको निवेदन दिँदा आईएसओ १५१८९ प्रमाणीकरणको योजना प्रस्तुत गर्नुपर्छ । गुणस्तर हेर्ने छुटै प्राविधिक जनशक्ति (क्वालिटी म्यानेजर) तथा सेक्युरीटी वायोसेफ्टी हेर्ने छुट्टै प्राविधिक जनशक्ति(वायोसेफ्टी अफिसर) हुनुपर्छ । बायोसेफ्टी सेक्युरीटीको हकमा स्वास्थ्य प्रयोगशाला न्यूनतम बीएसएल—२ लेवलको हुनुपर्छ बायोसेफ्टी सेक्युरीटीको कार्य सम्बन्धी जिम्मेवार जनशक्ति तोकिनुपर्छ ।

गुणस्तर सम्बन्धी व्यवस्था
प्रयोगशालाले राष्ट्रियस्तरमा सञ्चालन गरेको बाह्य गुणस्तर सुनिश्चितता कार्यक्रममा सहभागी जनाउनुपर्ने र आन्तरिक गुणस्तर नियन्त्रण दुरुस्त हुनुपर्छ ।

परीक्षण रिफरल गर्ने व्यवस्था
प्रयोगशालाले आफूसँग उपलब्ध नभएका परीक्षणहरु प्रेषण गर्नुपर्छ । प्रापक (रिफरल) प्रयोगशाला न्यूनतम ‘ख’ वर्गको र प्रेषक (रिफरिङ) प्रयोगशाला न्युनमत ‘घ’ वर्गको हुनुपर्छ । प्रापक र प्रेषक प्रयोगशालाबीच करार सम्झौता, देशमा हुनसक्ने परीक्षण देश बाहिरका प्रयोगशालामा प्रेषण गर्न नहुने व्यवस्था गरेको छ । कुनैपनि प्रयोगशालाले आफ्नै प्रयोगशाला वा देशभित्रै रहेको शाखामा आफूले परीक्षण सेवा सञ्चालन नगरेको परीक्षणका लागि रिफरल प्रयोगशालाको भूमिका निर्वाह गर्न पाउने छैन । प्रेषण गरिएको सूचि निर्धारित हुनुपर्छ । सेवाग्राहीलाई उसको परीक्षण प्रेषण गरिएको जानकारी हुनुपर्छ । साथै सेवाग्राही आफैं रेफरल प्रयोगशालामा गई परीक्षण गराउँदा तिर्ने शुल्क र रिफरिङ प्रयोगशालामार्फत जाँदा तिर्नुपर्ने शुल्कको बारेमा सेवाग्राहीलाई जानकारी हुनुपर्छ । प्रेषण गरिएका परीक्षणहरुको रिपोर्ट रिफरल प्रयोगशालाकै रिपोर्ट फाराममा उपलब्ध गराउनुपर्नेछ । प्रेषण गर्ने नमुनाको ढुवानी विधि तथा नतिजा सूचना प्रवाह गर्ने विधि स्पष्ट हुनुपर्छ । नेपालका प्रयोगशालामा नहुने परीक्षण मात्रै देशबाहिर प्रेषण गर्न सकिनेछ । तर देशभित्र उपलब्ध भएका परीक्षणहरु कुनै सेवाग्राहीको इच्छा भएमा देशबाहिरको प्रयोगशालामा पठाउन सकिनेछ । देशबाहिर परीक्षण गर्न पठाउँदा सेवाग्राहीको अनिवार्य लिखित सहमति लिनुपर्ने व्यवस्था छ ।

विदेशी रिफरल प्रयोगशाला सुचिकरणसम्बन्धि व्यवस्था
देशबाहिरका रिफरल प्रयोगशाला मन्त्रालय र तोकिएको निकायमा सूचीकृत हुनुपर्ने, विदेशी रेफरल प्रयोगशाला आईएसओ १५१८९ बमोजिम प्रमाणिकरण भएको, प्रेषण गरिएका परीक्षणहरुको सूचीको अभिलेख त्रैमासिक रुपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बुझाउनुपर्ने, विदेशी रिफरल प्रयोगशालाले नेपालको कुनै एउटा प्रयोगशालामार्फत मात्र नमूना प्राप्त गर्न सक्ने, विदेशी रिफरल प्रयोगशालाको दर्ता गराउने जिम्मा नेपाल भित्रको सम्बन्धित प्रेषक प्रयोगशालाको हुने, नयाँ विदेशी रिफरल प्रयोगशालाको दर्ता गराउँदा सो को आवश्यकता र औचित्य पुष्टि हुनुपर्ने व्यवस्था छ ।


यसैगरी विदेशबाट नेपालमा परीक्षणका लागि नमूना प्रेषण गर्दा नेपालमा प्रयोगशाला ‘क’ र ‘ख’ वर्गको हुनुपर्ने, सो प्रयोगशालाले कुनै दर्तावाला विदेशी प्रयोगशालामार्फत मात्र नमूना प्राप्त गर्नसक्ने र यसरी नमुना प्राप्त गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पूर्व स्वीकृति लिनुपर्ने छ ।

प्रयोगशालाहरुले राख्नुपर्ने अभिलेख
प्रयोगशालाका मुख्य परीक्षणको स्टेटमेन्ट अफ पर्पोज, उपकरण प्रयोगकर्ता पुस्तिका, उपकरण मर्मत अभिलेख, क्वालिटी कन्ट्रोल रेकर्ड, एक्टर्नल क्वालिटी एसेस्मेन्ट (इक्युए) रेकर्ड, कर्मचारीको व्यक्तिगत विवरण (रेकर्ड आदिको अनुभव, तालिम, योग्यता), प्रेषण गरिएका परीक्षणहरुको अभिलेख, प्रेषक र प्रापक प्रयोगशालाबीचमा भएको करारनामा, संस्थाको कानुनी मान्यता सम्बन्धि दर्तापूर्व कागजात आदि ।

आकस्मिक प्रयोगशाला सम्बन्धि व्यवस्था
अस्पतालमा आधारित प्रयोगशालामा आकस्मिक सेवा उपलब्ध हुनुपर्छ । आकस्मिक परीक्षणको नतिजा नमुना प्राप्त गरेको अधिकतम दुई घण्टाभित्र दिनुपर्छ । छुट्टै आकस्मिक प्रयोगशाला नभएका अस्पतालले आकस्मिक परीक्षण रुटिन प्रयोगशालाबाटै हुने व्यवस्था गर्न सक्छन् । तर आकस्मिक परीक्षणको नतिजा तोकिएकै समयमै प्रदान गर्न स्पष्ट कार्यविधि तय गरेको हुनुपर्छ । आकस्मिक परीक्षण अनुसूची ४ बमोजिम हुनुपर्छ ।

प्रयोगशाला सेवा विस्तार सम्बन्धि व्यवस्था
‘क’ र ‘ख’ वर्गमा दर्ता भएका एकल प्रयोगशालाले सेवा बिस्तार गर्न संकलन इकाइ वा शाखा प्रयोगशाला वा फ्रेन्जाइज प्रयोगशाला बिस्तार गर्न सक्छन् । संकलन इकाई वा शाखा प्रयोगशाला खोल्नपूर्व मुख्य प्रयोगशालाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अग्रीम रुपमा एक पटकका लागि मनासय पत्र लिनुपर्छ । संकलन इकाई वा शाखा प्रयोगशाला वा फ्रेन्चाइज प्रयोगशालाले पहिचान खुल्ने सम्पूर्ण कागजातहरु (जस्तैः लेटर हेड, वोर्ड, होडिङ बोर्ड, वेव साइट) मा आफ्नो प्रयोगशालाको वर्ग स्पष्ट रुपमा खुलाउनुपर्छ । संकलन इकाई वा शाखा प्रयोगशाला वा फ्रेन्चाइज प्रयोगशालका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट छुट्टा छुट्टै सञ्चालन अनुमति लिएको हुनुपर्छ ।

संकलन ईकाई, शाखा प्रयोगशाला र फ्रेन्चाइज प्रयोगशालासम्बन्धि व्यवस्था
संकलन इकाई

कलन इकाइमा न्युनतम २ जना प्रयोगशाला असिस्टेन्ट वा माथिल्लो तहका कर्मचारीको व्यवस्था हुनुपर्छ । यसैगरी संकलन इकाइमा न्युनतम पनि सेन्ट्रीफ्युज र रेफ्रिजेरेटर, वारकोडको व्यवस्था, कम्युटर (ल्याबोरेटोरी इन्फर्मेसन सफ्टवेयर), फ्लेवोटोमी कुर्सीलगायतका उपकरण हुनुपर्छ भने १५० वर्ग फिट क्षेत्रफल र छुट्टै शौचालय र प्रतीक्षालयको व्यवस्था हुनुपर्छ ।

संकलन इकाई सकेसम्म भुईतलामा हुनुपर्छ । सो नभएमा संकलन इकाईसम्म पुग्न लिफ्टको व्यवस्था हुनुपर्छ । नमुना सेपरेसन तथा ओसारपसारका लागि आवश्यक उपकरण तथा कन्जुमयवलहरुको व्यवस्था गर्नुपर्छ । नमुना संकलन दैनिक अभिलेखमा राखेर ओसारपसार हुनुपर्छ । मुख्य प्रयोगशालाले संकलन इकाई खोल्न मनसाय पत्रका लागि निवेदन दिनअघि प्रयोगशाला न्युनतम एक वर्ष सञ्चालन भई न्युनतम ३० हजार सेवाग्राहीको परीक्षण गरेको हुनुपर्छ । नमुना संकलन इकाई अन्य कुनै प्रयोगशालाको मातहतमा वा भवनभित्र राख्न पाइदैन । ‘क’ वर्गका प्रयोगशालाले मुलुकभर अधिकतम ५० र ‘ख’ वर्गले अधिकतम २० वटासम्म नमूना संकलन केन्द्र खोल्न पाउने कानुनी व्यवस्था छ ।

शाखा प्रयोगशाला
मुख्य प्रयोगशालाले शाखा प्रयोगशाला खोल्न मनसाय पत्रका लागि निवेदन दिनुअघि प्रयोगशाला ‘क’ वा ‘ख’ वर्गमा न्युनतम एकवर्ष सञ्चालन भई ५० हजार सेवाग्राहीको परीक्षण गरेको हुनुपर्छ । शाखा प्रयोगशालाको सम्पूर्ण स्वामित्व तथा व्यवस्थापन मुख्य प्रयोगशालाको हुनेछ । शाखा प्रयोगशाला पनि ‘क’ वा ‘ख’ वर्गको हुनुपर्छ । शाखा प्रयोगशालाको गुणस्तर प्रमुख दायित्व मुख्य प्रयोगशालाको हुन्छ । शाखा प्रयोगशालाको लागि प्राविधिक कर्मचारी र उपकरणहरु छुट्टै हुनुपर्छ । शाखा प्रयोगशालामा उपलब्ध हुने सम्पूर्ण सुविधाहरुको पूर्ण विवरण प्रमुख प्रयोगशालामा उपलब्ध राख्नुपर्छ । ‘क’ वर्गको प्रयोगशालाले मुलुकभर अधिकतम १० र ‘ख’ वर्गले अधिकतम ५ वटासम्म शाखा प्रयोगशाला खोल्न पाउने व्यवस्था छ ।

फ्रेन्चाइज प्रयोगशाला
आईएसओ १५१८९ प्रमाणिकरण भएका ‘क’ वर्गको एकल प्रयोगशालाले मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको शुल्क तिरी प्रयोगशालाको फ्रेन्चाइज बिक्री गर्न पाउँछन् । फ्रेन्चाइज प्रयोगशाला कम्तिमा ‘ख’ वर्गको हुनुपर्छ र सञ्चालन पूर्व राष्ट्रिय जनस्वास्थ्य प्रयागशालाबाट स्वीकृति लिएको हुनुपर्छ । मुख्य प्रयोगशालाले फ्रेन्चाइज प्रयोगशाला खोल्न मनासय पत्रका लागि निवेदन दिनुअघि प्रयोगशाला न्युनतम ३ वर्ष सञ्चालन भई बार्षिक सरदर ५० हजार सेवाग्राहीको परीक्षण गरेको हुनुपर्छ । फ्रेन्चाइज प्रयोगशालाको स्वामित्व तथा व्यवस्थापन मुख्य प्रयोगशालाको स्वामित्व तथा व्यवस्थापन भिन्न हुनुपर्छ । फ्रेन्चाइज प्रयोगशाला तथा मुख्य प्रयोगशालाबीच आवधिक करारनामा हुनुपर्छ ।

फ्रेन्चाइज प्रयोगशालाको गुणस्तरको प्रमुख दायित्व मुख्य प्रयोगशालाको हुन्छ । मुख्य प्रयोगशालाले वार्षिक रुपमा आफ्ना फ्रेन्चाइज प्रयोगशालाहरुको गुणस्तरसम्बन्धि आन्तरिक अडिट गर्नुपर्छ । ‘क’ वर्गका प्रयोगशालाले मुलुकभर अधिकतम १० वटासम्म फ्रेन्चाइज प्रयोगशाला खोल्न सक्छन् । सो भन्दा बढी फ्रेन्चाइज प्रयोगशाला खोल्नुपरेमा मन्त्रालयको पूर्व स्वीकृति लिनुपर्छ । मुख्य प्रयोगशालाले फ्रेन्चाइज प्रयोगशालाका लागि सेवा सञ्चालन पूर्व प्रयोगशालाको ले—आउट योजना, उपकरण योजना, जनशक्तिको योजना तयार गर्नुपर्छ ।

मुख्य प्रयोगशालाले फ्रेन्चाइज प्रयोगशालाका लागि प्रयोशाला सम्बन्धि प्राबिधिक तथा व्यवस्थापनका प्रोटोकल तयार गर्नुपर्छ । मुख्य प्रयोगशालाले फ्रेन्चाइज प्रयोगशालाका लागि ल्याबोरेटोरी इन्फर्मेसन सफ्टवेयर (एआईएस) को व्यवस्था र बजार व्यवस्थापनसम्बन्धि आवश्यक सहायकता प्रदान गर्नुपर्छ । मुख्य प्रयोगशालाले स्थापना गरेका प्रोटोकलहरु फ्रेन्चाइज प्रयोगशालाले पालना गर्नुपर्छ ।

इजाजत प्राप्त गरेपछिको हरेक वर्ष आर्थिक वर्ष समाप्त भएको मितिले एक महिनाभित्र इजाजतपत्र प्रदान गरेको निकायसमक्ष मन्त्रालयले तोकेबमोजिम विवरणसहितको स्वःमूल्यांकन प्रतिवेदन पेश गर्नुपर्छ । स्थापना भएको एक वर्षसम्म हरेक महिना गरेका परीक्षणहरुको विवरण अनुमति दिने निकायमा बुझाउनुपर्छ । मासिक १०० भन्दा बढी वायप्सी नमूना प्राप्त गर्ने प्रयोगशालाले हिस्टोसाइटोप्याथोलोजी सेटअप राख्नुपर्छ । सो भन्दा कम नमूना प्राप्त प्रयोगशालाले वायोप्सी प्रोसेसिङ तथा आईएचसी सेवा आउटसोर्स गर्न सक्छन् । आईसियू सेवा प्रदान गर्ने अस्पतालमा कल्चर र सेन्सिटिभिटी गर्ने सुविधा अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

५० रुपियाँको जाँचः अमूल्य ज्यान

केही समयअघि एउटा ५० रुपियाँको दिशाको जाँचले ५ वर्षको बालिकाको ज्यान बचेको कथा छ । काठमाडौंको चर्चित हस्पिटलमा अत्यधिक ज्वरो र बेला बेलामा पखाला लागेका कारण एक जना बालिकालाई पेडियाट्रिक आईसियूमा ३ दिनदेखि राखिएको थियो । उनलाई एन्टिवायोटिक चलाइएको थियो । तर ज्वरो घटेको थिएन । बच्चाको अभिभावकले सो हस्पिटलको ल्यावको रिपोर्ट चित्त नबुझेपछि आफूले नियमित जाँच गर्ने अर्को ल्यावमा दिशाको जाँच गर्न पठाए । केही दिनपछि ति अभिभावक ल्यावमा आएर तपाईंको ल्यावको रिपोर्टले मेरो बच्चाको ज्यान बच्यो भनेर खुशी व्यक्त गर्दै थिए । उनले बच्चाको रोग पहिचान भएकाले मेट्रोनिडाजोल दिएपछि निको भएर २ दिनमै आईसियूबाट बच्चा निकाल्न सफल भएको बताए । अर्को ल्याबमा दिशाको नमुना पठाएकै दिन पनि सोही हस्पिटलको ल्यावमा जाँच गर्दा समस्या पहिचान भएको थिएन । परीक्षणमा दिशामा एमिवियासिस पत्ता लागेको थियो । मेट्रोनिडाजोलले ती बालिकाको ज्वरो घट्यो र पखाला पनि रोकियो । त्यही घटनाले अभिभावक आफ्नो छोरीको ज्यान बचेको खुशी बाँड्दै थिए । त्यसैले ल्याव जवाफदेही हुन जरुरी हुन्छ । ल्यावले समस्या पहिचान गर्न नसक्दा यसले पार्ने समस्या ठूलो हुने यो ज्वलन्त उदाहरण हो । त्यसैले एउटा बिरामीलाई रोगमुक्त गराउन प्याथोलोजी सेवाको भूमिका महत्वपूर्ण हुन्छ । सही प्याथोलोजी रिपोर्टबिना रोग पहिचान हुनसक्दैन र रोग पहिचान नभई डाक्टरले औषधि सिफारिस गर्न सक्दैन । त्यसैले डाक्टरको उपचारका आँखा भनेकै सही ल्याब रिपोर्ट हो ।

प्रतिक्रिया दिनुहोस्