Logo
|
Friday 26th April 2024
Logo

epaper

बाल तथा महिला हिंसा विरुद्धको अभियानमा अञ्जिलाको सक्रियता



अञ्जिला श्रेष्ठ लाइन्स क्लव अफ काठमाडौं निर्जलाको चार्टर्ड प्रेसिडेन्ट (२०१९), रिजन चेयरपर्सन, एन (२०२२—२०२३), लाइन्स क्लव अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ एल हुनुहुन्छ । साथै उहाँ ‘मेचीमहाकाली बुहारी संयुक्त आवाज’ को बाग्मति प्रदेशको कार्यक्रम संयोजक र काठमाडौंको संयोजक हुनुहुन्छ ।

एन्जिला श्रेष्ठ

यो आवाज बाल तथा महिला हिंसाबिरुद्धको अभियान हो ।

वास्तवमा यो घरघरका बुहारीहरु समेटेर बनाएको अभियानमुलक संस्था हो ।

अहिलेसम्म करिब ६० हजार सदस्य नाघिसकेको यो सञ्जाल ५० जिल्लामा फैलिसकेको छ । देशविदेशमा रहेका महिला दिदीबहिनीहरुलाई समेटेर अझ शसक्तिकरण गरेर अघि बढाउने प्रयास भइरहेको छ । यसै सन्दर्भमा एन्जिलासँग गरिएको कुराकानीको सारसंक्षेप ।


महिला तथा बालबालिकाको उत्थानका लागि के गर्नुहुन्छ ?

मेचीमहाकाली बुहारी संयुक्त आवाजले अध्ययनबाट बञ्चित भएका अनाथ बालबालिकाहरुलाई छात्राबृत्तिलगायत गाँसबासको व्यवस्थापनसमेतमा सहयोग गर्दछ ।

मनका कुरा खुलेर भन्न नसकेर आफैंमा शोषित भएर बसेका पीडित महिलाहरुको आवाज भएकाले उनीहरुलाई सडकबाट सदनसम्म जानसक्ने वातावरणको विकास गर्ने मुख्य उद्देश्य हो ।

मेचिमहाकाली बुहारी संयुक्त आवाजलाई महिलाहरुले आफ्नो मुठीदानबाट गरेको समाजसेवा, समाजमा रहेको विकृतिलाई जरैदेखि उखालेर समाधानमा एक्यवद्ध भएर गरेको कोशिसको ज्वलन्त उदाहरणको रुपमा लिन सकिन्छ ।


यो क्षेत्रमा लाग्ने प्रेरणा कसरी पाउनुभयो ?


मैले लाइन्सबाट धेरै काम गर्दै अघि बढ्दा संयोगबस समाजिक सञ्जालमार्फत मेचीमहाकाली बुहारी संयुक्त आवाजको केन्द्रीय अध्यक्ष एमु शर्मा सुब्बा (हाल अमेरिका हुनुहुन्छ) को काम देख्ने अवसर पाएँ । हेटौंडाकी सुस्मिता क्षेत्री हत्याकाण्ड घटनामा न्यायका लागि लडिरहेको देखेर ३ वर्ष अघि बधाइ दिने क्रममा उहाँको सम्पर्कमा आएको थिएँ । ससुराले आफ्नो बुहारीलाई लोहोराले हानेर हत्या गरेको घटना थियो यो । यो घटनामा पुरै परिवार नै लागेको थियो । अमेरिकामा बसेर नेपाली महिलाहरुको हकहितका लागि गरेको काम राम्रो लाग्यो ।

अमेरिकामा बसेर पनि उहाँले नेपालमा घटेका घटनाहरुमा वकालत गरेको, शोषित र पीडित महिलाहरुलाई न्याय प्रदान गर्ने क्रममा सहजीकरण गरिरहनुभएको देखेर प्रेरित भएँ । काठमाडौंमा बसेर हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? जस्तो लाग्यो ।

विगत ३ वर्षदेखि यसैमा समर्पित छु । यमु दिदीबाट नडराइकन अघि बढ्न प्रेरणा पाएकी छु । यो संस्थाको रफ्तारमा केन्द्रिय उपाध्यक्ष चन्दा काफ्लेले झापामा बसेर गरेको योगदान पनि महत्वपूर्ण छ ।


बालबालिका र महिलाहरु कस्तो पीडा भोग्न बाद्य छन् ?


हिंसात्मक समस्याहरु नजिकबाट नियाल्ने मौका पाएको छु । पीडितले न्याय पाउने हो वा होइन भन्ने कुराले कहिलेकाँही राति निद्रा पनि नलाग्ने अवस्था आउँदो रहेछ । महिलाबाट महिला नै हिंसा पीडित भएका घटनाहरु पनि भेटियो । बाहिरबाट देख्दा सुखी परिवार लागेपनि भित्री पीडाको डँडेलो लागेको कसैले थाहा नपाउने रहेछ ।

प्रतिष्ठित परिवारमा विवाह भएका महिलाहरु पनि आफ्नो श्रीमानबाट शारीरिक रुपमा हिंसामा परेर आएका घटनाहरु पनि छन् ।

रेलिङमा झुन्ड्याएर मारेको, विभत्स हत्या गरी नग्न अवस्थामा कहिले खेतबारी, कहिले सेप्टिट्याङ्की त कहिले सडकमा फालेका जस्ता हिंसात्मक गतिविधि पनि हुने गरेका छन् । यसलाई कसरी कम गर्ने भन्ने कुरा महत्वपूर्ण छ ।


यहाँले गरेका कामहरुको विवरण बताइदिनुस् न ?


दोर्दी घटनामा खाद्यान्न वितरण, मेलम्ची घटनामा लत्ताकपडा, भाँडाकुँडा वितरण, कोरानाकालमा गरिबहरुलाई खाद्यान्न वितरण, कोरोनाकालमा मिडियटर भएर अस्पतालमा वेड, रगत, अक्सिजन, एम्बुलेन्स खर्च राहत उपलब्ध, ह्वीलचेयर, स्कूल व्याग, ड्रेस बालबालिकाहरुलाई स्कलरसिप, च्यारिटी कार्यक्रम, धादिङमा विद्यार्थीहरुलाई स्वेटर, टोपी वितरण, मुगु र महेन्द्रनगरमा ब्ल्यान्केट वितरण, पर्वतको कुस्मा र सिन्धुपाल्चोकमा कम्प्युटर वितरण, इल्याइब्रेरी स्थापना गरिएको थियो । हामीले सन्धीखर्कमा आगलागीमा क्षतिग्रस्त परिवार र मिर्गौला बिरामीलाई आर्थिक सहयोग गरेका छौं । ललितपुरको अञ्जना लामा हत्या काण्ड, ताप्लेजुङको घरेलु हिंसादेखिको सिन्धुपाल्चोक सम्मको खुकुरी प्रहारसम्मको घटना, भक्तपुरको आगलागीदेखि श्रीमतीले श्रीमानलाई एसिड हालेको घटनाको मध्यस्थकर्ता गरिएको थियो । बालिकाहरुमा भागिरथी, निर्मला, करुणा जस्ता वलात्कारी हत्या घटनाहरु विरुद्ध कानुन संशोधन गर्न जोड, सडकमा हिंसाविरुद्धको रयाली गरेर सरकारलाई दवाव दिँदै आएका छौं ।


कसरी महिला हिंसा न्युनिकरण गर्न सकिन्छ ?


महिलाहरु आर्थिक रुपमा सवल भएमा महिलाप्रति हुने हिंसा कम हुनसक्छन् । त्यसैले महिला दिदीबहिनीहरुको शसक्तिकरणका लागि सीपमुलक शिक्षा उपलब्ध गर्नेतर्फ लागिपरेका छौं । हुन त म आफैंले पनि अनलाइन व्यापार गर्छु । कोही इच्छुक हुनुभएमा म सँग जोडिन सक्नुहुन्छ । आर्थिक सवलीकरणका लागि यो एउटा उदाहरण मात्र हो । आत्मनिर्भरतका लागि आर्थिक रुपमा सवल हुनुपर्छ ।

घरबाट बाहिर निस्केर ‘आत्मनिर्भर हुनसक्छु’ भन्ने आत्मविश्वास भएमा घरको पीडा सहेर बस्न सक्ने अवस्था हुँदैन ।

हामीले महिलाहरुको आत्मबलका लागि मनोविज्ञानसँग सम्बन्धित कार्यक्रमहरु पनि गर्दै आएका छौं ।


यहाँको सन्देश के छ ?


वास्तवमा मलाई आत्मनिर्भरताको पाठ कोरोनाकालले पनि सिकाएको हो । पहिला खाद्यान्नको पारिवारिक व्यवसाय थियो । कोरोना कालमा सुतेर बस्न सकिनँ । यही दौरानमा अन्जिला किचेन भनेर युवट्युव च्यानल पनि बनाएको छु । आखिर समयको सदुपयोग त भयो नि । मलाई अनलाइन व्यवसाय गर्न पनि सिकायो । त्यसैले महिलाहरु सीपमुलक शिक्षातर्फ अग्रसर हुनुपर्छ ।

घरमा बसेर समय खेर नफालौं । परनिर्भरता त्यागौं । आफूलाई सवल महिलाको रुपमा प्रस्तुत गर्न सकेमा दबिएर, अपहेलित भएर बस्नुपर्दैन । ‘म जान्दिन र म सक्दिनँ’ भन्ने भावनाबाट बाहिर निस्कन जरुरी छ । उद्यमशील महिला बन्नुपर्छ । यसबाट आर्थिक रुपमा बलियो भइन्छ ।

आफ्नो सीप अरुलाई शेयर गरेमा सबैलाई फाइदा पुग्छ । यसबाट सभ्य र भव्य समाजको निर्माणमा मद्धत पुग्छ । अहिले सरकारले पनि घरायसी महिलाहरुले केही उद्यमशील व्यवसाय गरेमा बैंकहरुबाट सहुलियत व्याजमा ऋण दिने व्यवस्था गरेको छ । यसले पनि केही सहजीकरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्