Logo
|
Friday 29th March 2024
Logo

epaper

झाँक्रीले उपचारको बहानामा अगुल्टो मुखमा झोस्दा र्‍यापर घाइते



जनस्वास्थ्य सरोकार, नवलपरासी । नवलपरासीपूर्वको कावासोती नगरपालिका(१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन् ।

सामाजिक सञ्जालमा उपचारको बहानामा झाँक्रीले अगुल्टो मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएको भिडिओ भाइरल भएको नौ दिनपछि घटना बाहिर आएको हो।

काठमाडौँ बसेर विभिन्न प्रतियोगितामा भाग लिँदै गरेका र्‍यापर समेत रहेका कावासोती १ का २० वर्षीय मिलनजङ्ग कुँवर बिरामी भएर घर आएका थिए।

उपचारका लागि परिवारले नौ दिनअघि घरमा झारफुक गर्न देवचुली १२ का ४२ वर्षीय झाँक्री दीपक सार्कीलाई बोलाएको थियो। सार्कीले झारफुक गर्ने क्रममा अगुल्टोले मुखमा पटक पटक झोस्दा कुँवर गम्भीर घाइते भएका हुन्।

घाइते कुँवरको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको परिवारले जनाएको छ।

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि शुक्रबार झाँक्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्