Logo
|
Friday 26th April 2024
Logo

epaper

स्वास्थ्य पर्यटनको गन्तव्य बन्दै तातोपानी कुण्ड



जनस्वास्थ्य सरोकार, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा रहेको प्राकृतिक तातोपानी कुण्ड स्वास्थ्य पर्यटनको गन्तव्य बन्दैगएको छ । प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र आफन्तहरूको भीड लागेको छ । तातोपानीका होटल र घरबास ‘होमस्टे’हरु भरिभराउ भएका छन् ।

तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा बिरामी कुण्डमा नुहाउन आउने गरेका छन् । अहिले कुण्डमा आलोपालो गरेर नुहाउने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

निर्वाचन सकिएपछि यहाँ विगतको भन्दा उल्लेख्य मात्रामा भीड बढ्ने अनुमानसहित आवश्यक सुविधाहरू थप गरिएको समितिले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ बगेको म्याग्दी नदीको किनारमा अवस्थित तातोपानी कुण्डमा प्राकृतिकरूपमा नै जमिनभित्रबाट ५० डिग्री सेल्सियस तापक्रमको पानी निस्कने गर्दछ ।

बिरे नुनको गन्ध मिश्रित तातोपानी पिउँदै कुण्डमा बिहान तीन घण्टा र बेलुकी तीन घण्टा सातदेखि दश दिनसम्म नुहाएमा बाथरोग, ढाड दुख्ने, ग्यास्ट्रिक, चर्मलगायत रोग निको हुने विश्वास रहेको छ । बागलुङको ढिकीचौरबाट पहिलो पटक तातोपानीमा नुहाउन आउनुभएकी शर्मिला गौतमले लगातार सात दिनसम्म तातोपानीमा डुबेर उपचार गर्दा आफूलाई ढाड दुख्न कम भएको बताउनुभयो ।

यहाँ लगातार एक हप्तादेखि १५ दिनसम्म डुबेर उपचारका लागि तातोपानी कुण्डमा स्नान गर्नेको भीड लाग्छ । नेपाल र भारतका ठूला अस्पतालमा उपचार गर्दा पनि निको नभएका बिरामी उहाँ उपचारका लागि आउने गरेका छन् । परिवार र आफन्तको सहायतामा तातोपानी कुण्ड पुग्ने बिरामी लगातार हप्ता दिनसम्म स्नान गरेपछि आफ्नै खुट्टाले टेकेर घर फर्कने गरेको स्थानीय कृष्णबहादुर केसीले बताउनुभयो ।

वार्षिक करिव २० हजार जनाले तातोपानी कुण्डमा स्थान गर्न आउने गरेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए । कोरानाकालका २ वर्षबाहेक त्यसअघिका वर्षहरूमा यहाँ कात्तिकदेखि फागुन महिनासम्म थेगीनसक्नुको भीड हुने गर्दथ्यो । कात्तिक दोस्रो सातासम्म सात सय जना भन्दा बढीले स्नान गरेका कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

नेपालबाट मात्रै होइन, भारत र तेस्रो मुलुकबाट पनि स्नान गर्न आउने बिरामीको सङ्ख्या बढ्दो छ । स्नान गर्न आउनेको सङ्ख्या बढ्दै गएपछि पुरुष र महिलालाई पालैपालो स्नानका लागि व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्