Logo
|
Friday 26th April 2024
Logo

epaper

झोल औषधिमा एथिलिन र डायथिलिन ग्लाइकोलको मिसावट नगर्न औषधि व्यवस्था विभागको निर्देशन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । औषधि व्यवस्था विभागले नेपालमा उत्पादन र पैठारी हुने झोल औषधिमा एथिलिन र डायथिलिन ग्लाइकोलको मिसावट नगर्न निर्देशन दिएको छ ।

बालबालिकाको झोल औषधिमा यस्ता रसायनले गम्भीर मिर्गौलाको समस्या निम्त्याएको र मृत्यु समेत गराएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको भन्दै विभागले यस्तो निर्देशन दिएको हो ।

नेपालमा उत्पादन हुने औषधिहरूमा पनि विभिन्न प्रकारका ग्लाइकोन र ग्लिस्रिन प्रयोग हुने भएकाले अब यस्तो समस्या आउन नदिन यस्तो सूचना जारी गरिएको विभागले जनाएको छ ।

विभगले नेपाली औषधि उत्पादन तथा पैठारीकर्ताले झोल बनावटका एथिलिन र डायथिलिन ग्लाइकोल नभएको भनी अनिवार्य यकिन गरेर मात्र बिक्री–वितरण गर्न निर्देशन दिएको छ ।

यस्तै, विश्व स्वास्थ्य संगठनले विषाक्त पुष्टि गरेको भारतको हरियानास्थित मेडेन फार्मास्युटिकल्सबाट उत्पादन भएका झोल औषधिहरू नेपालमा दर्ता नभएको पनि विभागले जनाएको छ ।

उक्त औषधिका कारण जाम्बियामा ६६ भन्दा बढी बालबालिकाको मृत्यु भएको पुष्टि भएपछि संगठनले सो कम्पनीका चार औषधिमा प्रतिबन्धको चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्