Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

औषधि व्यवसायी सुशान्त मुररकाको व्यवसायिक सफलता

सानै उमेरमा आफ्नो व्यवसायलाई अग्रस्थानमा ल्याउन कसरी भए सफल ?



सुशान्त मुररका आफ्नो कार्यकक्षमा

सुशान्त मुररका मेडिलिंक इन्डियाबाट ‘साउथ एसिया प्यासिफिक हेल्थकेयर समिट एण्ड विजनेस अवार्ड २०२२’ बाट सम्मानित हुनुभएको छ । यो साउथ इष्ट एसियामा भएका इमर्जिङ कम्पनिहरुलाई प्रोत्साहन गर्न बनाएको अवार्ड हो । मेडिलिंकले नेपाल, भारत, श्रीलंका, बंगलादेश, चीन, थाइल्यान्डलगायत साउथ इष्ट एसियामा भएका देशहरुको इमर्जिङ कम्पनिहरुको प्रोफाइल बारे जानकारी लिन्छ र उनीहरुले कसरी काम गरिरहेका छन् ? कस्तो खालको उत्पादनमा काम गरिरहेका छन् ? गुणस्तर कतिको कायम राख्ने गरेका छन् ? भन्नेबारे मूल्यांकन गर्छ र त्यसैको आधारमा प्यारामिटर ठीक भएपछि अवार्डका लागि चयन गर्दछ ।

सुशान्तले विगत ११ वर्षदेखि शारदा मेडिकेयर प्रा.लि., ट्रु डर्मा एस.ए. प्रा.लि., ट्रु क्योर प्रा.लि., ट्रु फार्मेसिया प्रा.लि., आन्या रत्न प्रा.लि.गरी पाँच वटा संस्थामार्फत स्वास्थ्यसम्बन्धि विभिन्न उत्पादनहरुको बजारीकरण गर्दै आउनुभएको छ । नेपाली बजारमा क्रिटिकल केयरको औषधिको माग धेरै रहेकाले यससँग सम्बन्धित औषधि र मिर्गौलाको बिरामीहरुका लागि आवश्यक ट्याक्रोलिमस औषधिहरु आपूर्तिमा केन्द्रित रहेको उहाँको भनाइ छ ।

११ वर्षको अवधिमा उहाँ फूड सप्लिमेन्टस्, छाला र सौन्दर्य एवं इन्जेक्टेबल औषधिको बजारीकरणमा फड्को मार्न सफल हुनुभएको छ । सानै उमेरमा आफ्नो व्यवसायलाई अग्रस्थानमा ल्याउन सफल मुरारका कसरी व्यवसायमा सफल हुनुभयो त ? कसरी बन्यो उहाँको यसमा करियर ?


करियरको सुरुवात्

जनकपुरको धनुषामा जन्मिएका सुशान्त छिमेकी मुलुक भारतमा स्नातकसम्मको अध्ययन पुरा गरेर सन् २००६ तिर राजधानी काठमाडौं छिर्नुभएको थियो । त्यो बेला उहाँको अष्ट्रेलिया जाने सोच थियो । तर केही पारिवारिक कारणले जान सक्नुभएन । त्यसपछि काठमाडौं विश्वविद्यालयबाट एमबीए गर्नुभयो । मुरारका भन्नुहुन्छ—‘सन् २००९ सालमा बिजय अग्रवाल दाइसँग फर्मा मार्केटिङसम्बन्धि काम सिक्दै औषधि व्यवसायको क्षेत्रतर्फ पाइला अघि बढाएँ । उहाँलाई २ वर्षजति काम सिक्न लाग्यो । सन् २०११ तिर उहाँको करियरको पहिलो सुरुवात् निर्यातसम्बन्धि श्रीलंकाबाट भयो । त्यसपछि बंगलादेश र सन् २०१२ बाट नेपालमा औषधिको आयातसम्बन्धि काम शुरु गर्नुभयो । ‘शुरुमा मैले फूड सप्लिमेन्टसम्बन्धि काम गरेँ । अहिले पनि त्यसैलाई निरन्तरता दिइरहेका छौं ।’

शुरुमा सुशान्तको मार्केटिङ टिम ७ जनाको थियो । आजको दिन १०० भन्दा बढी व्यक्तिले यो क्षेत्रमा रोजगार पाएका छन् । त्यसमध्ये ८० जना बजारीकरणका लागि खटिएका छन् । उहाँ भन्नुहन्छ—‘अष्ट्रेलिया जान नपाउनुनै मेरो करियरको टर्निङ प्वाइन्ट बन्यो ।’


बजारमा राम्रो प्रतिक्रिया

मुरारका भन्नुहुन्छ—‘फुड सप्लिमेन्ट्सले उपचार भन्दा पनि रोकथामको काम गर्ने भएकाले अहिले हामीले विभिन्न १५ वटा रोगविरुद्ध फुड सप्लिमेन्टस्को बजारीकरण गरिरहेका छौं ।’ त्यसमा रुघाखोकी, युरिनरी ट्रयाक इन्फेक्सन, कम्प्लिट मल्टिभिटामिन, आईभिए अर्थात इरिटेबल वल सिन्ड्रोम, भिटामिन डी र भिटमिन बी १२ को कमी, घुँडा खिइएको दुखाइले हिँड्न नसक्ने, डायबिटिज (मधुमेह), रक्सी पिएर हुने ह्याङ ओभर कम गर्ने, पुरुषको स्पर्म र महिलाको एग बढाउनेलगायतका सम्प्लिमेन्ट्स रहेका छन् । यसबाहेक अझै ४ वटाजति सप्लिमेन्ट्सको रिसर्च एण्ड डेभलप्मेन्ट (आरएन्डी) को काम भइरहेको छ । ‘हामी भारतको मद्रास फर्माको फूड सप्लिमेन्ट्सको साझा कम्पनि सफ्ट जेल हेल्थ केयरसँग रिसर्च एण्ड डेभलप्मेन्ट गराउँदछौं ।’— उहाँको भनाइ छ—‘त्यहाँबाट उत्पादन गरेर हामी सिधै नेपालमा बजारीकरण गर्दछौं ।’

‘डर्मा कस्मेटिक’ अन्तर्गत फेसवास, सनब्लक, मोइश्चराइजिङ क्रिम, सेतो दुवीको लोसन आदि पर्दछन् । साथै आईसियू, सीसीयूका बिरामीका लागि एन्टिबायोटिक इन्जेक्सन, आकस्मिक कक्षमा आउने बिरामीहरुका लागि आवश्यक पर्ने विभिन्न इन्जेक्सन पनि उपलब्ध गराउँदै आएका छौं । बजारमा यसको प्रतिक्रिया राम्रो पाइएको सुशान्तको भनाइ छ ।

औषधि संवेदनशील वस्तु हो । त्यसैले यसको गुणस्तरमा सम्झौता नगरियोस् । ‘कतिपय औषधि ल्याउन खोज्छौं । तर ल्याउने प्रक्रिया एकदम झन्झटिलो छ । यसतर्फ सरकारको ध्यान जाओस् ।’ —मुरारका बताउनुहुन्छ ।


राम्रो काम गर्नु नै हाम्रो कर्म हो
हरेक व्यवसायी र व्यापारीले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्छ । यो कुरा उहाँले हजुबुबा बनारसीलाल मुरारकाबाट सिक्नुभयो । उहाँ जनकपुरको राम्रो व्यपारी हुनुहुन्थ्यो । उहाँले सामाजिक उत्तरदायित्वसम्बन्धि धेरै काम गरिरहनुहुन्थ्यो ।

‘हजुरबुबाबाट धेरै राम्रो कुरा सिक्ने मौका पाएको छु । भन्नुहुन्छ—‘राम्रो काम गर्नु नै हाम्रो कर्म हो । पैसा कमाउने नाममा अरुलाई ठग्नु हुँदैन ।’ सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्न व्यक्तिगत रुपमा १० लाख रुपियाँको अध्यक्षकोष खडा गरेको छु । यसैबाट आवश्यक परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएको छु ।

बिहान ६.३० बजे उठ्ने सुशान्त ८.३० बजे बजारमा हिँडिसक्नुहुन्छ । उहाँ बेलुका ९ बजे तिर मात्र घर पुग्नुहुन्छ । ‘महिनामा २ दिन अफिसियल डे मा परिवारका लागि छुट्टी लिने गरेको छु ।’ —उहाँले भन्नुभयो । काठमाडौंको विशालनगरमा श्रीमती श्वेतका साथ बस्ने मुरारका २ छोरी र एकजना छोरा छन् । बुबा श्याम मुरारका आमा मञ्जुदेवी मुरारकाका साथ बस्नुहुन्छ उहाँ । उहाँहरु जनकपुरको पुरानो माडबारी खानदानी हो ।


देशमा वृहत् चेन अफ फार्मेसीको शुरुवात्

विगत १० वर्षदेखि औषधि व्यवसायमा समर्पित व्यवसायी सुशान्त मुरारका नेपालको औषधि उद्योगमा नयाँ सोच र सक्रियताका साथ अघि बढेको अनुहार हो । पछिल्लो समय उहाँले ‘चेन अफ फार्मेसी’ को अवधारणा अघि बढाउनुभएको छ । यो आम सर्वसाधारण बिरामीलाई सर्वसुलभ मूल्यमा स्थानीय तहबाट गुणस्तरीय औषधि उपलब्ध गराउने उहाँको पहल हो । सुशान्तले ल्याउनुभएको चेन अफ फार्मेसीको अवधारणा वृहत छ ।


हालसम्म ९ वटा चेन अफ फार्मेसी सञ्चालनमा आइसकेका छन् । बाँकेको नेपालगञ्ज, काठमाडौंभित्र बाँसबारी, महाराजगन्ज, सिनामंगल, बानेश्वर, भैसेपाटी, कुलेश्वर, लगायतका ठाउँहरुमा चेन अफ फार्मेसीको विस्तार भइरहेको छ । जनकपुर र विराटनगरमा पनि चाँडै शुरु हुने उहाँले बताउनुभयो । संवेदनशील भएर राम्रो ब्रान्डका औषधि वितरण गर्दा फार्मेसीप्रति जनताको विश्वास बढ्नेमा उहाँ ढुक्क हुनुहुन्छ ।

चेन अफ फार्मेसीमा लगानी

सुशान्त मुररका

चेन अफ फार्मेसी आफैँमा बृहत योजना हो । यसमा लगानीको मुख्य भूमिका रहन्छ । भारत, बंगलादेश, श्रीलंका, फिलिपिन्स, यूरोप तथा अमेरिकामा चेन अफ फार्मेसीको प्रचलन रहे पनि नेपालमा हालसम्म यो अवधारणा आएको छैन । त्यसमाथि चेन अफ फार्मेसीको अवधारणा बुझाउन पनि गाह्रो छ । फार्मेसीको योजनालाई निरन्तरता दिन आर्थिक पाटो कसरी व्यवस्थापन गरिरहनुभएको छ ? भन्ने प्रश्नमा सुशान्त भन्नुहुन्छ–‘बैंकहरुसँग सहकार्यको लागि कुरा गरिरहेका छौं । एफडिआईसँग पनि कुरा भइरहेको छ । एफडिआई (फरेक डाइरेक्ट इन्भेष्टमेन्ट) भन्नाले लगानी यूएस कम्पनिले गर्ने र त्यसको मातहतमा रहेर चेन अफ फार्मेसी चलाउन सक्छौं ।’

एफडिएलाई ५० वटा फार्मेसीको डिजाइन दिइसकेको र यसको लागि दुईसय देखि तीनसय करोड रुपिँया आवश्यक पर्ने उहाँको भनाइ छ ।नेपाल सरकारले लगभग एफडिआईलाई प्राथमिकता दिएको छ । यसले चेन अफ फार्मेसी सञ्चालन गर्न कठिन नहुने सुशान्तको विश्वास छ ।

देशका ५० भन्दा बढी ठाउँमा चेन अफ फार्मेसीको विस्तार गर्ने र भविष्यमा पब्लिक लिमिटेडको अवधारणा अघि सार्नुभएको छ सुशान्तले । पब्लिक लिमिटेडमा गएपछि अझ सस्तोमा गुणस्तरीय औषधि उपलब्ध गराउन सकिने उहाँको विश्वास छ ।

‘मुख्य–मुख्य शहरमा औषधिको गुणस्तरीयताबारे जनचेतना जगाउँदै देशभर चेन अफ फार्मेसीको महत्व बढाउन सकिन्छ ।’—सुशान्त भन्नुहुन्छ—‘ट्रु फार्मेसीया’ नामबाट चेन अफ फार्मेसीको ब्रान्डिङ गरेका छौं ।’ ‘स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिले गुणस्तरीयता, सुलभ उपचार र उच्च कोटीको औषधि वितरणमा ध्यान दिनुपर्छ । नाफामुखी भन्दा पनि सेवामा केन्द्रित हुनुपर्ने सुशान्तको भनाइ छ । बिरामीलाई सहजता प्रदान गरी आवश्यक परामर्शको पनि जरुरत पर्छ । ‘कतिपय रोगहरु सामान्य घरेलु उपचारले पनि निको हुन्छन् ।’—सुशान्त भन्नुहुन्छ—‘हाम्रो चेन अफ फार्मेसीको लक्ष्य औषधि बिक्रीका साथै बिरामीलाई सन्तुष्ट बनाउने पनि हो ।’मापदण्डअनुसार पहिलो प्राथमिकता यूएसएफडीए र त्यसपछि डब्लूएचओलाई प्राथमिकता दिनेछौं’ —उहाँ भन्नुहुन्छ—‘डब्लूएचओ मापदण्डअनुसार उच्च गुणस्तरीय औषधि उत्पादन गर्ने स्वदेशी कम्पनिहरुलाई प्राथमिकतामा राखेका छौं । त्यसपछि आयातित ब्रान्ड रहनेछन् । हाम्रो लक्ष्य स्थानीय तहमा सर्वसुलभ मूल्यमा जनताले गुणस्तरीय औषधि पाउन सकून भन्ने हो ।’

यसका साथै हाल ९ वटा फार्मेसीमा १५० जनाले रोजगारी पाएका छन् । कम्तिमा एकहजार जनालाई रोजगारी दिने चेन अफ फार्मेसीको लक्ष्य रहेको छ ।


सफल व्यवसायीमा हुनुपर्ने गुण

गुणस्तरीय सेवा र निरन्तरता नै सफल व्यवसायीमा हुनुपर्ने गुण भएको सुशान्तको ठम्याइ छ । ‘व्यापारमा कमाउने होडबाजी भन्दा पनि स्वास्थ्य क्षेत्रमा लगानी गरेपछि गुणस्तरीय सेवामा जोड दिनुपर्छ ।’ शुरुका दिनहरुमा बजारमा स्थापित हुन धेरै गाह्रो थियो । गुणस्तरीय सेवालाई निरन्तरता दिँदै गयौं ।

चिकित्सकहरुको साथ र सहयोगबाट आज चेन अफ फार्मेसीको कन्सेप्टसम्म पुग्न सफल भएको सुशान्तले बताउनुभयो ।

जनस्वास्थ्य सरोकार राष्ट्रिय मासिकको कभर पेजमा सुशान्त मुररका

प्रतिक्रिया दिनुहोस्