Logo
|
Saturday 20th April 2024
Logo

epaper

निःशुल्क स्वास्थ्य शिविरमा ४ हजार बढीले लिए सेवा



जनस्वास्थ्य सरोकार, अछाम । अछामको तुर्माखाँद गाउँपालिकामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा करिब ४ हजार नागरिकले सेवा लिएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजना, स्वास्थ्य कार्यालय अछामको समन्वय र तुर्माखाँद गाउँपालिकाको सहयोगमा नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मीहरू सहितको २ दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा नागरिकले सेवा लिएका हुन् ।

२ दिने स्वास्थ्य शिविरबाट २ हजार ९ सय ९ जना महिला र १ हजार १ जना पुरुष गरी जम्मा ३ हजार ९ सय १० जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बिसीले बताउनुभयो । शिविरमा बिरामीहरूको स्वास्थ्य जाँचका साथै आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।

स्वास्थ्य शिविरबाट रोगको पहिचान भई थप उपचार तथा अप्रेसन गर्नुपर्ने बिरामीहरूलाई अप्रेसन र थप उपचारका लागि विभिन्न अस्पतालमा रेफर गरिएको छ । रेफर भएका बिरामीहरूको नेपालगन्ज मेडिकल कलेजले विशेष छुटमा उपचार गर्ने व्यवस्था मिलाएको बताइएको छ ।

यसै बिच स्वास्थ्य शिविरका लागि  परिचालन भएका विशेषज्ञ सहितको टोलीलाई एक कार्यक्रमका बिच बिदाइ गरिएको छ । शिविरको समापन गर्दै औपचारिक रूपमा बिदाइ सहित उनीहरूलाई धन्यवाद ज्ञापन गरिएको हो ।

शिविरको समापन तथा बिदाइ समारोहमा बोल्दै  गाउँपालिकाका अध्यक्ष डम्बर बि।सी।ले बिकट बस्तीमा स्वास्थ्य सेवा प्रवाहका लागि खटिएका सबै स्वास्थ्यकर्मीहरूलाई धन्यवाद ज्ञापन गर्दै शिविरबाट सर्वसाधारणलाई राहत मिलेको बताउनुभयो ।

गाउँपालिकाका सर्वसाधारण तथा नागरिकहरूलाई गाउँठाउमै अन्य सेवा तथा सुविधा प्रदान गर्न आगामी दिनमा पनि यस्ता शिविर तथा कार्यक्रमको आयोजना गर्ने गाउँपालिका अध्यक्ष बि।सी।ले प्रतिबद्धता जनाउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्