Logo
|
Saturday 1st February 2025
Logo

epaper

चितवनमा ८ महिनामा भेटिए झण्डै ६ सय क्षयरोगी



जनस्वास्थ्य सरोकार, चितवन । चितवनमा ८ महिनामा झण्डै ६ सय जनामा क्षयरोग देखिएको छ । चालु आर्थिक वर्ष (०७९,८०) को फागुन मसान्त सम्ममा ५ सय ९२ जनामा क्षयरोग देखिएको हो ।

गत आर्थिक वर्षमा जिल्लामा १ हजार १९६ जनामा क्षयरोग देखिएकोमा ३१ जना बालबालिकामा सङ्क्रमण भेटिएको कार्यालयको तथ्याङ्क छ ।

यस्तै आर्थिक वर्ष २०७७/०७८ मा जिल्लामा सङ्क्रमितको सङ्ख्या ८ सय ९३ रहेको थियो । जस मध्ये १८ जना बालबालिका रहेका थिए भने चालु आर्थिक वर्षको फागुनसम्ममा ८ जना बालबालिकामा क्षयरोग देखिएको कार्यालयले जनाएको छ ।

कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दवाडीका अनुसार सङ्क्रमित बालबालिका मध्ये भरतपुर महानगरपालिकामा ३ जना, रत्ननगर नगरपालिकामा २ जना, राप्ती, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा १/१ जना रहेका छन् ।

१४ वर्ष मुनिका बालबालिकामा क्षयरोग देखिने क्रम बढ्दो रहेको उहाँले बताउनुभयो । बालबालिकामा बढी सङ्ख्यामा ग्रन्थि, पेट र आन्द्रा,गिदी र रगतमा क्षयरोग देखिने गरेको उहाँले जानकारी दिनुभयो । सङ्क्रमित सबै बालबालिकाले नियमित औषधिको सेवन गरिरहेको उहाँको भनाई छ । ६ महिना सम्म नियमित औषधि सेवन गरे क्षयरोग निको हुने उहाँले बताउनुभयो ।

‘माइकोव्याक्टेरीयम टुबर क्लोसिस’ नामक कीटाणुका कारण यो रोग लाग्ने गर्दछ । उहाँले भन्नुभयो “अभिभावकलाई सर्ने खालको क्षयरोग भएमा बालबालिकामा पनि हुने गरेको छ । विद्यालय जाँदा, खेल्ने क्रममा समेत बालबालिकामा क्षयरोगको सङ्क्रमण हुने गर्छ ।” दुवाडीले भन्नुभयो ।

क्षयरोग लाग्दा दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, साँझपख हल्का ज्वरो र पसिना आउनु, खान मन नलाग्नु, छाती दुख्नु, दुब्लाउँदै जानु, खकारमा रगत देखिनु मुख्य लक्षण रहेको दवाडीले बताउनुभयो ।

यो रोग लागेमा नियमित ६ महिना औषधि सेवन गर्नु, स्वास्थ्य कर्मीको निगरानीमा रहनु, समय समयमा खकार जाँच गर्न सके निको हुने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्