Logo
|
Saturday 20th April 2024
Logo

epaper

बिरामीको मृत्यु हुँदा लाग्छ आफन्त नै बितेजस्तो

मिर्गौलाका बिरामीको समस्या नजिकबाट नियाल्नुभएकी नर्स श्रद्धाले सँगाल्नुभएको अनुभव



श्रद्धा दाहाल ६ वर्षदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालको नेफ्रोलोजी विभागमा कार्यरत हुनुहुन्छ । यसअघि ललितपुरको आरोग्य हेल्थ फाउन्डेसनमा करिब चार वर्षजति डायलाइसिस नर्स भएर बिरामीको सेवा गर्नुभयो ।

उहाँले राष्ट्रिय मिर्गौला उपचार केन्द्रबाट डायलाईसिस सम्बन्धि एड्भान्स्ड कोर्ष पनि गर्नुभएको छ । २०७१ सालमा त्रिविअन्तर्गत पोखरा नर्सिङ क्याम्पसबाट स्नातक गरेकी श्रद्धाले २०६६ सालमा बीरगञ्ज नर्सिङ क्याम्पसबाट पिसिएल कोर्ष पूरा गर्नुभएको थियो ।

निःशुल्क उपचारबारे थाहा नपाएर विभिन्न ठाउँमा भौतारिएर उपचारमा बिरामीको धेरै खर्च भइसकेको पाइन्छ । अन्तिम अवस्थामा उनीहरुसँग औषधि किन्नसक्ने समेत आर्थिक हैसियत हुँदैन । मिर्गौलाका बिरामीको समस्या नजिकबाट नियाल्नुभएकी नर्स श्रद्धाले सँगाल्नुभएको अनुभव प्रस्तुत गरेका छौं ।

भूल्नै नसक्ने घटना
आरोग्य हेल्थ फाउन्डेसनमा सेवारत रहँदा सिनामंगलस्थित केएमसी अस्पताल पुगेको थिएँ । एकजना बालकको घाँटीमा पाइप राखिएको थियो । उनको दुवै मिर्गौला फेल भएको रहेछ ।

पछि उनलाई डायलाइसिसका लागि निदानमै ल्याइयो । उनी भर्खर एसएलसीमा डिस्टिङसन ल्याएर उत्तीर्ण गरेका जेहेन्दार बिद्यार्थी रहेछन् । उनको यो पीडादायी अवस्था त छँदै थियो ।

उनका बुबा पनि सिकिस्त बिरामी भएर धरानस्थित बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सेस (विपिकेआईएचएस) को सघन उपचार कक्ष (आइसियु) मा रहेछन् । उनी काठमाडौंमा दिदीहरूसँग बस्ने र अध्ययनमा अव्बल भएकाले डायलाइसिस गर्न आउँदा ‘अब तिमी कलेज पढ, हामी एउटा टाइम मिलाई दिन्छौं’ भन्दा एकदमै खुशी हुन्थे ।

पछि उनको डा. पुकार चन्द्र श्रेष्ठको टीमबाट प्रत्यारोपण पनि भयो । उपचारमा केही सहुलियत पनि पाएका थिए । प्रत्यारोपणपछि पनि उनले बेलबेलामा खुशी हुँदै फोन गरिरहन्थे । त्यतिबेला म त्रिबि शिक्षण अस्पताल आइसकेको थिएँ । उनले खुशी भएर फोन गर्दा ‘अब भने सहज होला’ भनेर म पनि खुशी भएको थिएँ ।

तर केही समयपछि ‘दिदी, मलाई गाह्रो भएको छ, कहाँ जाँदा राम्रो होला’ भनेर फोन गरे । उनको उपचारमा धेरै जटिलता आएछ र अन्तमा मृत्यु नै भएको खबर पो पाएँ । यो घटनाले आफन्त नै बितेको जस्तै धेरै दिनसम्म पिरोलिरह्यो ।


केयरिङ भाव

नर्सिङ पेशामा आवद्ध भएपछि बिरामीप्रतिको केयरिङ (हेरचाह) त आफैँ आउँदो रहेछ । प्रोफेसनले नै केयरिङ भाव जगाउँदो रहेछ ।

कतिपय बिरामीले आफ्नो रोगसँग सम्बन्धित समस्या डाक्टरसँग खुलेर भन्न सकेका हुँदैनन् । यस्तो अवस्थामा बिरामीका समस्या सुन्नेदेखि कस्तो खाना खानुपर्छ र कस्तो खाना खानुहुँदैनलगायतका पोषणसम्बन्धि पनि परामर्श दिनुपर्छ ।

यसअघि आरोग्यमा काम गर्दा ओपीडी बेसिस डायलाइसिसका बिरामीहरू हेर्थेँ । त्यहाँ मिर्गौला फेल भएका बिरामीहरू उपचारका लागि आउँथे ।

यसरी मिर्गौला फेल भएको अवस्थामा कि प्रत्यारोपण गर्नुपर्छ वा सातामा दुई तीनपटकसम्म आजीवन डायलाइसिस गराउनुपर्छ ।

सीमित साधन, असीमित चाप
टिचिङ अस्पतालको मिर्गौला उपचार वार्डमा ३४ वटा शैया रहेका छन् । बिरामीको चाप एकदमै धेरै भएको बेलामा कहिलेकाँही अन्य वार्डमा राखेर उपचार गर्नुपर्ने बाध्यता हुन्छ ।

सेवा चौबीसैं घण्टा उपलब्ध गराउँदा पनि ४० देखि ४८ जनासम्मको डायलाइसिस हुन्छ ।

सीमित मेसिन तर बिरामीको चाप असिमित हुने भएकाले कहिलेकाहीँ त ‘अर्को डायलाइसिस सेन्टर खोज’ भन्न बाध्य हुनुपर्छ ।

यसो भन्दा कोही जान्छन्, कोही जाँदैनन् । कतिपयले त डायलाइसिस नै गर्दैनन् । पछि गाह्रो भएर इमर्जेन्सीमा आउँछन् । ओपिडी बेसिसमा डायलाईसिस गराउने छुट्टै सुविधा शुरु भएपश्चात् डे केयर डायलाईसिसका लागि ११ वटा मेसिन रहेका छन् ।

भर्ना गरिएका बिरामीहरुका लाग ११ वटा मेसिन छन् भने आईसियूमा २ वटा, पेडियाट्रिक आईसियूमा १ वटा रहेका छन् ।
तर प्रत्यारोपणका लागि लामो समयसम्म कुर्नुपर्ने र दाता नपाउने ठूलो चुनौति छ ।

अपरेसन थियटरको अभावमा अस्पतालमा सातामा एक दिन मात्र प्रत्यारोपण हुने गर्छ ।

निःशुल्क सेवा लिने प्रक्रिया
डायलाइसिस र मिर्गौला प्रत्यारोपणका लागि राजधानी काठमाडौंलगायत देशका धेरै ठाउँबाट बिरामी आउने गरेका छन् । यसबाट देशका सबै क्षेत्रमा मिर्गौलाको समस्या व्याप्त भएको आङ्कलन गर्न सकिन्छ ।

तर, विगतको जस्तो असुविधा र उपचार अभावमा मृत्युवरण गर्नुपर्ने समस्या भने न्युनिकरण भएको छ । डायलाइसिस र प्रत्यारोपणका लागि सरकारले निश्चित अस्पताल तोकिदिएको छ ।

डाक्टरको सिफारिसमा सम्बन्धित गाउँपालिका वा नगरपालिकाबाट विपन्नताको सिफारिस ल्याएपछि डायलाइसिस सेवा निःशुल्क प्राप्त गर्न सकिन्छ ।

गर्भावस्थामा मिर्गौला विफल
अस्पतालमा हरेक महिना ८–९ जना गर्भवती महिला मिर्गौलाको समस्या लिएर आउने गर्छन् । उनीहरूमध्ये कतिपयले निरन्तर डायलाइसिस गर्नुपर्छ भने कोही राम्रो भएर घर फर्किने पनि हुन्छन् । औषधिले गर्भको शिशुलाई असर गर्ने भएका कारण गर्भपतन गराइन्छ ।

सुरुमै मिर्गौला विफल भएको थाहा पाएमा गर्भधारण नगर्न परामर्श दिने गरिन्छ ।

आकस्मिक भर्ना हुने अवस्था
यदि बिरामीलाई लगातार ज्वरो, रगतमा खराबी, सास फेर्न गाह्रो, एक्कासी उच्चरक्तचाप, पिसाबबाट प्रोटिन चुहिने समस्या भएमा आकस्मिक भर्ना गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्