Logo
|
Sunday 22nd December 2024
Logo

epaper

नेपालमा कमजोर हुँदै प्राइमरी क्लिनिकल केयर

प्राइमरी केयर र टर्सरी केयरबीच ठूलो ‘ग्याप’



सेवाग्राहीको दृष्टिमा नेपालमा प्राइमरी क्लिनिकल केयर कमजोर भएको छ । किनभने अहिले सेवाग्राही स्वास्थ्यमा समस्या देखिनासाथै विशेषज्ञ चिकित्सकको खोजीमा लाग्छ । विशेषज्ञ चिकित्सक बिरामीले खोज्ने होइन, डाक्टरले पठाउने हो । मेडिकल सिस्टमअनुसार बिरामी हुँदा कोसँग सल्लाह लिने, सबैभन्दा पहिला भेट्ने एउटा निश्चित चिकित्सक हुनुपर्छ । जसले बिरामीको स्वास्थ्य बारे सबै रेकर्ड राख्छ । उसँग नियमित स्वास्थ्य परीक्षण मात्रै होइन स्वस्थ रहने विधिसमेत सल्लाह लिने गर्छ । यो सबै काम प्राइमेरी केयर फिजिसियनले गर्नुपर्छ ।

प्राइमरी केयर र टर्सरी केयरबीच ठूलो ‘ग्याप’
नेपालमा प्राइमेरी केयरसहितका चिकित्सक अभाव भयो भनेर क्यानडाको क्यालगरी विश्वविद्यालयको सहयोगमा जनरल प्राक्टिस (एमडिजीपी) कार्यक्रम सुरु भएको हो । यसको मुख्य उदेश्य नै जीवन रक्षासम्बन्धी आकस्मिक शल्यक्रिया र प्राइमेरी केयरको मेडिकल ज्ञान दिनु थियो । यही कार्यक्रमअनुसार उत्पादित चिकित्सकले देशका धेरै जिल्लामा काम गरे । तर, अहिले प्राइमरी केयर र टर्सरी केयरबीच ठूलो ‘ग्याप’ देखिएको छ । प्राइमरी केयर टिमले स्वस्थ रहने जीवन पद्धति सिकाउनुका साथै स्वास्थ्य अवस्थाको निरन्तर निगरानी गर्छ ।

प्राइमरी केयरमार्फत उपचार नहुने अवस्था भयो भने मात्रै टर्सरी केयरका विशेषज्ञहरू चाहिन्छ । तर, अहिले विशेषज्ञहरू नै प्राइमरी केयरतिर लागिरहेका छन् । जसले स्वास्थ्य उपचारमा नै समस्या ल्याइरहेको छ ।

टर्सरी केयरको मुख्य काम उपचार सम्बन्धित विभिन्न अध्ययन, अनुसन्धान, रोगका रोकथाम उपाय पहिचान गर्नु हो । तर, उनीहरू अध्ययन, अनुसन्धानतर्फ होइन क्लिनिकल प्राक्टिसमा मात्रै व्यस्त रहेका छन् ।

बिरामीलाई सास्ती
प्राइमरी केयरबारे नेपालमा कोही पनि गम्भीर छैनन् । मेडिकल प्रणालीअनुसार हरेक परिवार र व्यक्तिको स्वास्थ्य विवरण राख्ने चिकित्सक (फ्यामिली फिजिसियन) हुनुपर्छ । यसो नहुँदा सेवाग्राहीले स्वास्थ्यमा कुनै समस्या देखिए कम्तिमा पनि ३–४ जना चिकित्सकसँग भेट्नुपर्ने अवस्था छ । मेरो मेयर, वडाध्यक्ष भन्ने छ तर मेरो चिकित्सक भन्ने प्रष्ट भएन । जसरी वडाध्यक्षले सिंगो वडावासीको कार्यालय प्रयोजनसम्बन्धी रेकर्ड राख्छ त्यस्तै सबैको स्वास्थ्य अवस्थाको रेकर्ड राख्ने चिकित्सक हुनुपर्छ । यसो नहुँदा बिरामीको धेरै खर्च भइरहेको छ ।

कामको मूल्याङ्कन शून्य
नेपालमा हालसम्म ६ सय जना जति एमडिजीपी उत्पादन भए होलान् । त्यसमध्ये कतिपय विदेशतिर छन् बाँकी पाँच सय जति नेपालमा होलान् । सरकारी सेवामा २५–३० जना जति छन् । उनीहरू जीवन रक्षासम्बन्धी शल्यक्रिया, सुत्केरी, एपेन्डिक्स, एनेस्थेसिया, हाडजोर्नीसम्बन्धी सबै काम गरिरहेका छन् । तर, कामको मूल्याङ्कन भइरहेको छैन ।

योजनाविहीन अवस्थामा राज्य संयन्त्र

६ वर्षअघि स्वास्थ्य मन्त्रालयले सन् २०३० सम्ममा नेपालमा कस्ता चिकित्सक कति चाहिन्छ भनेर अध्ययन गरेको थियो तर सो फाइल मन्त्रालयमै थन्कियो ।

अध्ययनले यसअवधिमा ५५ सय जति चिकित्सक चाहिने उल्लेख गरेको थियो । १५ सयजति प्राइमेरी केयर चिकित्सक चाहिने प्रष्टाएको थियो । यसको आधार रोगको ढाँचा नै हो । अध्ययनलाई विश्व स्वास्थ्य संगठनले पनि सहयोग गरेको थियो ।

चिकित्सा शिक्षा आयोगको ध्यान पुगोस्
नेपालमा चिकित्सा शिक्षा आयोगले प्रत्येक वर्ष १२ सय जना जतिलाई एमडीएमएस पढाउँछ । आयोगले देशमा कति विशेषज्ञ चिकित्सक आवश्यक छ भनेर हेर्दैन, सिर्फ कुन कलेजमा कति प्राध्यापक छन् भनेर हेर्छ । माग र पुर्तिको अवस्था मिलिरहेको छैन । मागअनुसार चिकित्सक उत्पादन गर्ने राज्यसँग कुनै योजना पनि छैन । अहिले कै अवस्थाले त चिकित्सक उत्पादन गर्ने र विदेश पठाउने मात्रै भइरहेको छ ।

पहिला आवश्यकता पहिचान गरौं
देशको आवश्यकता कति हो पहिचान गर्नुपर्छ । त्रिविले एमबीबीएस सुरु गर्नुभन्दा पहिला प्रा.डा. मथुराप्रसाद श्रेष्ठले कति चिकित्सक उत्पादन गर्ने भनेर अनुसन्धान गर्नुभएको थियो । त्यसयता नेपाललाई कति चिकित्सक आवश्यक छ भनेर कुनै अध्ययन भएको देखिँदैन ।

सामान्य औषधिले गर्ने ठाउँमा दशौं हजार खर्च
नागरिकको स्वास्थ्य अवस्था सुधार गर्ने हो भने प्राइमेरी केयर फिजिसियन उत्पादन नबढाइ सुखै छैन । अहिले वार्षिक २५–३० जना जति एमडिजिपी उत्पादन भइरहेका छन् । हालको अवस्थामा नेपालमा १५ सय जनाजति जनरल प्राक्टिसनर आवश्यक पर्छ । युरोप, अमेरिकातिर जनरल फिजिसियन (जिपी) ले नहेरी विशेषज्ञ चिकित्सकले बिरामी नै हेर्दैनन् । यहाँ पनि त्यसो गर्न सके प्राइमेरी केयरको महत्व बढ्छ । नेपालमा जिपी सिस्टममा उपचार नहुँदा सेवाग्राही पनि महंगोमा परिरहेका छन् । बिरामीले अनावश्यक परीक्षण र औषधि खरिद गरिरहेका छन् । सामान्य औषधि खाएर निको हुने रोगको उपचारमा दसौं हजार खर्च गर्नु परिरहेको छ ।
(डा. श्रेष्ठ वीर अस्पतालबाट अवकाश भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै हाल चितवन मेडिकल कलेजमा एमडिजीपी र आकस्मिक उपचार कार्यक्रममा प्राध्यापन गरिरहनु भएको छ । )

प्रतिक्रिया दिनुहोस्