Logo
|
Friday 24th January 2025
Logo

epaper

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउनुपर्छ : प्रधानसेनापति प्रभुराम शर्मा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रका लागि आवश्यक चिकित्सक उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

नेपाली सेनाको कल्याणकारी कोषले सञ्चालनमा ल्याएको संस्थानको ११ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उहाँले सबल, सक्षम र योग्य स्वास्थ्यकर्मीको माग पूरा गर्न संस्थानको ठूलो योगदान रहेको बताउनुभयो ।

“नेपाल राष्ट्रका लागि अत्यन्त आवश्यक चिकित्सा जनशक्ति उत्पादन गरी समग्र देश र नेपाली सेनाका लागिसमेत व्यावसायिक दक्षता हासिल गरेका सबल, सक्षम र योग्य स्वास्थ्यकर्मी प्रवाह गर्न यस संस्थाले ठूलो योगदान पुर्‍याएको छ”, उहाँले भन्नुभयो ।

प्रधानसेनापति शर्माले नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको शिक्षा ऐनको परिधिभित्र रही संस्थानले विभिन्न शैक्षिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै आएको बताउनुभयो । उहाँले चिकित्साशास्त्रसम्बन्धी नियामक निकाय चिकित्सा शिक्षा आयोगबाट प्राप्त सहयोगका लागि आभार प्रकट गर्नुभयो ।

“दक्ष जनशक्ति सुविधा सम्पन्न पूर्वाधार निर्माण गरेर संस्थानलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले राष्ट्रको स्वास्थ्य जनशक्तिको आवश्यकता परिपूर्ति गर्ने कार्यमा यस संस्थानले सधैँ नै उच्चरुपको मान्यता राखन र सोही अनुसारका योग्य चिकित्सक उत्पादन गर्न शुभकामना दिनुभयो ।

उहाँले आवश्यकताको परिपूर्तिका लागि विभिन्न प्रकारका स्रोतको उपलब्धता सुनिश्चितता गर्नेतर्फ आफूले पहल गरिरहेको बताउनुभयो । संस्थानलाई अब्बल बनाउन सिफारिस गरिएका सुझावलाई आफूले स्वीकार गरी संस्थानलाई राम्रो बनाउनका लागि थप बजेट तथा लगानी गर्ने गरेको उहाँको भनाइ छ ।

प्रधानसेनापति शर्माले संस्थाको गरिमा र गुणस्तरलाई कायम राख्न सबैको ध्यानाकर्षण गराउनुभयो । उहाँले सूचना प्रविधिमा पोख्त हुँदै आफ्नो दक्षता प्रदर्शन गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले संस्थान छोटो अवधिमा विद्यार्थीको पहिलो रोजाइ बन्न सफल भएको र प्रतिस्पर्धामा उच्च स्तरको रहेको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय, चिकित्सा शिक्षा अध्ययन संस्थानका डिन प्राडा दिव्यासिंह शाहले संस्थान छोटो समयमा उत्कृष्ट प्रतिष्ठानका रुपमा स्थापित भएको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको माग पूरा गर्न संस्थान सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

संस्थानका कार्यकारी निर्देशक नगेन्द्रबहादुर केसीले स्थापनाकालदेखि हालसम्म एक हजार ८२ विद्यार्थीले चिकित्सासम्बन्धी उच्च शिक्षा लिएका जानकारी दिनुभयो । उहाँले हाल संस्थानमा एक हजार एक सय नौ विद्यार्थी अध्ययनरत रहेको जनाउनुभयो ।

सो अवसरमा प्रधानसेनापति शर्माले खेलकुद सप्ताह२०७९ मा विजेता खेलाडीलाई शिल्ड र मेडल प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रधानसेनापति शर्माले वार्षिक मुखपत्रको विमोचन गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्