Logo
|
Tuesday 19th March 2024
Logo

epaper

कटारी अस्पतालबाटै सर्पदंश उपचार सेवा



जनस्वास्थ्य सरोकार, कटारी । उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरुआत गर्ने भएको छ । गर्मीको मौसमसँगै सर्पदंशको जोखिम बढेकाले अस्पतालबाट नै सर्पदंशको उपचार गर्ने तयारी गरिएको हो ।

नगर अस्पतालका रुपमा रहेको कटारी अस्पतालमा सर्पदंशको उपचारका लागि सबै तयारी पूरा भएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भेन्टिलेटरसहितको सर्पदंश उपचार कक्षा स्थापना गरिसकेका छौँ । नगरवासीको सर्पको टोकाइबाट ज्यान नजाओस् भनेर अस्पतालबाट नै उपचार सेवा दिन लागेका हौँ ।”

नगरपालिकाको सहकार्यमा सेवा सुरु गर्ने तयारीमा रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेड डा गौरव साहले बताउनुभयो । “आवश्यक विज्ञ चिकित्सकसँगको परामर्श र सहकार्यमा उपचारको तयारी गरेका हौँ ।” उहाँले भन्नुुभयो, “सरोकारवालासँग सर्पको टोकाइ र यसको उपचारका लागि गरिने विधि र जोखिमबारेमा अन्तक्रियासमेत गरिसकेका छौँ ।”

कटारी नगर क्षेत्र उदयपुर जिल्लाकै सर्पदंशको जोखिममा रहेको छ । यस क्षेत्रमा बर्सेनि सर्पको टोकाइबाट मानिसले ज्यान गुमाउने गरेका छन् ।

यसअघि कटारी –३ को ताराघारीमा नेपाली सेनाको क्याम्प रहेको र त्यही सर्पदंश उपचार केन्द्र थियो । उक्त क्याम्पताराघारीबाट कटारी–१ कै वेलसोतस्थित आर्मी क्याम्पमा सरेपछि कटारी बजार क्षेत्रका लागि टाढा भएकाले अस्पतालबाट नै उपचार सेवा दिने तयारी गरिएको नगरपालिकाकी उपप्रमुख गीता खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रमा गर्मी बढेसँगै विषालु सर्पले बर्सेनि मानिसको ज्यान जाने गरेपछि अस्पतालमा उपचार सेवा दिन लागिएको हो । ”

प्रतिक्रिया दिनुहोस्