कपाल प्रत्यारोपण गर्न कति खर्च लाग्छ ? कपाल प्रत्यारोपणमा विज्ञताको जरूरत
विभिन्न किसिमका रोग, वंशाणुगत कारण, बढ्दो उमेर, हर्मोन आदिका कारण कपाल झर्न सक्छ । कतिपय बालबालिका र वृद्धबृद्धाहरूमा फंगल इन्फेक्सन र चाया आदिले कपाल झर्नसक्छ । कतिपयमा एलोपेसिया एरिएटा, मेल प्याट्रन हेयर लस (एन्ड्रोजेनिक एलोपेसिया) आदिको समस्या देखिनसक्छ । कपाल झर्नुको कारण पत्ता लागेपछि उपचार शुरू गर्नुपर्छ । कतिपय रोगको उपचार गरेर पनि झरेको कपाल फर्काउन सकिन्छ । जस्तैः एलोपेसिया एरिएटाको (चक्का चक्का भएर कपाल झर्ने रोग) । यस प्रकारको समस्यामा समयमै उपचार गराएमा कपाल राम्रोसँग पलाउँछ । कतिपयको आफैं पनि कपाल पलाउन सक्छ ।
वंशाणुगत, बढ्दो उमेर, हर्मोनका कारण कपाल झरेमा कपाल प्रत्यारोपण गर्नुपर्छ
निगरानी
मेसिनको सहायताले टाउकाको पछाडिपट्टीको डोनर एरियाको कपालको एक–एक ओटा फोलिकल्स निकालेर कपाल झरेको भागमा रोप्नुपर्छ । असुरक्षित डोनर क्षेत्रको कपाल प्रत्यारोपण भएमा प्रत्यारोपित कपाल झर्न सक्छ । त्यसकारण दक्ष प्रत्यारोपणविद्को निगरानीमा मात्र कपाल प्रत्यारोपण गर्नुपर्छ ।
कपाल प्रत्यारोपणको खर्च
नेपालमा कपाल प्रत्यारोपण शुल्क क्लिनिक पिच्छे फरक फरक छ । क्लिनिकहरूले प्रति ग्राफ्ट ४० रुपियाँ देखि १२० रुपियाँसम्म लिने गरेको पाइन्छ । दक्ष प्रत्यारोपण सर्जनले कपाल प्रत्यारोपण गर्दा तुलनात्मक रुपमा शुल्क महँगो लाग्नसक्छ । परिणाम पनि उत्कृष्ट आउँछ ।
जोखिम
कपाल प्रत्यारोपण गर्ने औजारहरू राम्रोसँग निर्मलिकरण गरिएको हुनुपर्छ । प्रत्यारोेपण पश्चात एन्टिबायोटिक्स प्रयोग गर्नुपर्छ । अन्यथा संक्रमणको जोखिम उच्च हुन्छ ।
सावधानी
कतिपय क्लिनिकहरूमा योग्यता र अनुभव नपुगेका शिकारू प्रत्यारोपण विज्ञले कपाल प्रत्यारोपण गरेको पाइन्छ । उनीहरूले प्रत्यारोपण गरेको कपालको दृश्य प्राकृतिक आउँदैन । कतिपयले जथाभावी डोनर क्षेत्रबाट कपाल निकालेर सो भाग नै खाली बनाइदिन सक्छन् ।
आम सर्वसाधारणले कपाल प्रत्यारोपण गर्दा चिकित्सकको दक्षता, प्रत्यारोपणमा दिएको समय, विगतको उसको कामको परिणाम हेर्न जरूरी हुन्छ ।
जीवनशैली
कपाल प्रत्यारोपण पश्चात ६ महिनादेखि १ वर्षसम्म कपालसम्बन्धित भिटामिन खान दिइन्छ । कपाल प्रत्यारोपण पश्चात छुट्टै आहार अवलम्बन गर्नुपर्दैन । सन्तुलित आहार लिनुपर्छ । हरेक दिन हरियो सागपात, तरकारी, माछा मासु, अण्डा, गेडागुडी, दही दूध लगायतका प्रोटिन आहार समावेश गर्नुपर्दछ ।