Logo
|
Sunday 19th May 2024
Logo

epaper

आँखाको नानी दान गर्नेहरुको सम्झना र सम्मानमा सामुहिक श्रद्धाञ्जली सभा



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल आँखा बैंकले मरणोपरान्त आँखाको नानी दान गरी अमरत्व प्राप्त गर्ने व्यक्तिहरूको सम्झना र सम्मान गर्दै तिलगंगा आँखा प्रतिष्ठानमा सामुहिक श्रद्धाञ्जली–सभाको आयोजना गरेको छ ।


‘आँखा दान महादान’ भन्ने नारासहित दृष्टिविहीनहरूलाई आँखाको नानी प्रत्यारोपण गरेर नयाँ जीवन प्रदान गर्दै आएको नेपाल आँखा कार्यक्रम अन्तर्गत सो कार्यक्रमको आयोजना गरिएको हो ।


सो अवसरमा वरिष्ठ कलाकार हरिवंश आचार्य, वरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुइत, तिलगंगा आँखा प्रतिष्ठानकी कार्यकारी निर्देशक डा. रिता गुरुङ, अप्थाल्मिक सोसाइटी अफ नेपालकी अध्यक्ष डा. मिनु चौधरी, नेपाल आँखा बैंकका व्यवस्थापक शंखनारायण त्वाइनालगायत आँखा दान गरी अमरोत्त प्राप्त गर्ने हजारौं व्यक्तिका आफन्तहरुको उपस्थिति रहेको थियो


नेपाल आँखा बैंकमा हालसम्म १ लाख व्यक्तिले मृत्यु पश्चात् आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन् । आँखाको नानी दान गर्ने प्रण गरेका व्यक्ति र मृत्युपश्चात् दुवै गरी हालसम्म संकलित आँखाको नानीमध्ये १२ हजार ३ सय ४० व्यक्तिले पुनः दृष्टि प्राप्त गर्न सफल भएका छन् । यो गत अप्रिलसम्मको तथ्याङ्क हो ।


आँखाको नानीमा संक्रमण, चोटपटक, जन्मजात फुलो परेर समयमै उपचार नपाएर, अशिक्षा, अज्ञानता र गरिबी, विभिन्न घरेलु तथा हानिकारक परम्परागत उपचारका कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुन्छ । नेपालमा दृष्टिविहिन हुनुको दोश्रो प्रमुख कारण आँखाको नानी बिग्रिएर भएको प्रतिष्ठानले उल्लेख गरेको छ । यसको एक मात्र उपचार आँखाको नानी प्रत्यारोपण गरी पुनः दृष्टि दिलाउनु नै हो ।


आँखा बैकले मृत्यु पश्चात आँखाको नानी दान गर्ने दाताहरुबाट नानी संकलन,परीक्षण र संचय गरी आवश्यक परेका व्यक्तिलाई नानी उपलब्ध गराउँछ । सन् १९९४ को सेप्टेम्बर १६ मा नेपाल आँखा बैकको स्थापना भएको थियो ।

विभिन्न कारणवश आँखाको नानी विग्रिएर दृष्टिविहिन बनेका व्यक्तिहरूका लागि संकलित आँखाको नानी प्रत्यारोपण गरिन्छ । पछिल्लो समयमा आँखा दान गर्न प्रण गर्नेको संख्या दोब्बरले बढेको आँखा बैंकको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्