Logo
|
Thursday 23rd January 2025
Logo

epaper

काभ्रेको नमोबुद्ध नगरपालिकामा निःशुल्क बाथ रोग शिविर, ८८ जनाको परीक्षण, ल्याव परीक्षणमा १० प्रतिशत छुट



जनस्वास्थ्य सरोकार, काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ८ दाप्चामा ८८ जनाको निःशुल्क बाथ रोग परीक्षण गरिएको छ ।


काठमाडौँको रातोपुलस्थित नेशनल बाथ रोग सेन्टरको प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी, डराउनेपोखरी उपशाखा, सहयोगी महिला जागरण मञ्च, काठमाडौं तथा समाजसेवी एवं दाप्चा माविका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बिलबहादुर श्रेष्ठको संयोजकत्वमा बाथ रोग परीक्षण गरिएको हो ।


नेशनल बाथरोग सेन्टरका सञ्चालक समेत रहनुभएका सन्तोष घलेका अनुसार, बाथरोगसम्बन्धि जनचेतना जगाउन, रोग निदान तथा उपचारमा सहजता होस् भन्ने उद्देश्यले निशुल्क बाथ रोग शिविर आयोजना गरिएको उल्लेख छ ।


नमोबुद्ध नगरपालिकाका मेयर कुनसाङ लामाले सो शिविरको उद्घाटन गर्नुभएको थियो । उहाँले यस्ता कार्यक्रमका लागि आफूले पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।


कार्यक्रममा विशेष अतिथिको रूपमा वडा नं. ०८ का वडाध्यक्ष शेरबहादुर तामाङ, नमोबुद्ध नगरपालिकाका प्रवक्ता तथा वडा न. ०६ का वडाध्यक्ष टिका बहादुर केसी, नमोबुद्ध नगरपालिका, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष तथा दाप्चा माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामेश्वर अधिकारी, कार्यक्रम संयोजक बिल बहादुर श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी, डराउनेपोखरी उपशाखाका सभापति नवीन अधिकारी, दाप्चा माविका प्रधानाध्यापक दिनेशप्रसाद अधिकारी, डराउनेपोखरी स्वास्थ्य चौकी, दाप्चाका प्रमुख पुरूषोत्तम न्यौपाने, सहयोगी महिला जागरण मञ्च, काठमाडौंका अध्यक्ष तथा समाजसेवी राधा श्रेष्ठ, ८७ पटक रक्तदान गरिसक्नुभएका सहयोगी महिला जागरण मञ्चका सल्लाहकार बिष्णुबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।


‘समयमै बाथरोग पहिचान र निदान गरेर थप जटिलता र अपांगता हुनबाट बचौँ’ भन्ने मूल नाराका साथ शिविर आयोजना गरिएको थियो ।


बाथरोगको निदान तथा उपचार गराउनुपर्ने थप बिरामीहरू भएमा भविष्यमा पनि यस्तो शिविर आयोजना गर्न सकिने सहयोगी महिला जागरण मञ्चकी अध्यक्ष राधा श्रेष्ठले बताउनुभयो ।


एकदुई दिनभित्र ल्याब रिपोर्ट आउने र थप उपचार गराउनुपर्ने देखिएमा त्यस्ता बिरामीहरूलाई अस्पतालले नै निशुल्क यातायातको व्यवस्था गरी नेशनल बाथरोग सेन्टर रातोपुल वा आफ्ना अन्य शाखाहरूमा फलोअपका लागि बोलाउने घलेले बताउनुभयो ।

रिपोर्ट आएपछि थप उपचार गराउनुपर्ने बिरामीलाई अस्पतालमै बोलाएर विशेषज्ञ डाक्टरहरूबाट थप उपचार गर्ने सेन्टरका का बाथरोग विशेषज्ञ डा. मनिषा भोछिभोयले जानकारी दिनुभयो ।


परीक्षण गरेको रिपोर्ट फलोअपको लागि एकपटक मात्र अस्पतालले निःशुल्क यातायात र चिकित्सकीय परामर्शका साथै थप ल्याब परीक्षण आवश्यक भएमा १० प्रतिशत छुट दिइने घोषणा गरेको छ ।


बाथरोगसम्बन्धि निशुल्क स्वास्थ्य परिक्षण शिविरले स्थानिय जनतामा बाथ रोग सम्बन्धी जनचेतना जागृत गरेको सहजकर्ता शिक्षक लोकेन्द्र घटालले बताउनुभयो ।


उक्त कार्यक्रममा दाप्चा मावि, जुनियर रेडक्रस सर्कलका विद्यार्थी भाइबहिनीहरूले स्वयंसेवकको रूपमा सहयोग गर्नुभएको कुरा जुनियर रेडक्रस शिक्षक विनोद रानाले जानकारी गराउनुभयो ।


भविष्यमा पनि यसरी नै रक्तदान लगायत अन्य कार्यक्रम सञ्चालन गर्ने नेपाल रेडक्रस सोसाइटी, डराउनेपोखरी उपशाखाका सभापति नवीन अधिकारी तथा सहयोगी महिला जागरण मञ्चका अध्यक्ष राधा श्रेष्ठले बताउनुभयो ।


आत्मप्रतिरोधात्मक रोग बाथरोगको निदान, रोकथाम र उपचारमा सहजता होस भन्ने उद्देश्यले १० बर्षअघि बाथरोग विशेषज्ञ डा. बिनित वैद्यको नेतृत्वमा स्थापना गरिएको नेशनल बाथरोग सेन्टरले अहिले रातोपुल काठमाडौं, टेखापुखु भक्तपुर, पुल्चोक ललितपुर, मुस्ताङ चोक पोखरा, बिर्तामोड झापा, बुटवल, भरतपुर चितवन र तुलसीपुर दाङ गरी ८ ठाउँमा शाखा विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्