शौन्दर्य कला व्यवसायलाई मर्यादित बनाउन स्पष्ट कानुन र मापदण्डको जरूरत
संघमा ५ हजार सदस्य, देशभर ४ लाख भन्दा बढी व्यूटिसियन
कमला श्रेष्ठ विगत चार दशकदेखि व्युटिपार्लर पेशामा आवद्ध हुनुहुन्छ । नेपालमा यो व्यवसायलाई निरन्तरता दिने उहाँ पहिलो व्युटिसियनको रूपमा चिनिनुहुन्छ । हाल श्रेष्ठ उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यमा निर्वाचित हुनुभएको छ । वि.सं २०३६ सालमा ललितपुर जिल्लामा सैलुन खोल्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ । ६५ वर्षीया श्रेष्ठ आजपनि उत्तिकै सक्रिय एवं क्रियाशील हुनुहुन्छ । सौन्दर्यसम्बन्धि व्यवसायिक शिक्षा र तालिम दिने, देशभरका व्यवसायीहरूलाई संगठित गर्ने र विद्यालयको पाठ्यक्रममा शौन्दर्यशास्त्रलाई समावेश गर्न श्रेष्ठको ठूलो योगदान छ । धेरै मेहनतपछि यस विषयलाई नेपाल सरकारले विद्यालयको पाठ्यक्रममा समावेश गरेको छ । श्रेष्ठले यसका लागि आठ वर्ष लामो अथक प्रयास गर्नुभयो । २०७९ देखि सौन्दर्यशास्त्र विषय विद्यालयको पाठ्यक्रममा समावेश भएको छ ।जानौ उहाँको आफ्नै शव्दमा ।
बैंककमा तालिम
श्रीमान यूएनमा जागिरे हुनुहुन्थ्यो । कामको शिलशिलामा उहाँसँगै थाइल्याण्डको बैंकक जाने अवसर मिल्यो । भर्खरै ग्रयाजुएसन सकेको थिएँ । हाम्रो स–साना दुई छोरा थिए । हामी सब परिवार बैंकक सिफ्ट भयौँ । एकदिन बाटोमा हिड्दै गर्दा एउटा सौन्दर्यसम्बन्धी तालिम दिने स्कुल देखेँ । सौन्दर्य पेशालाई करियर बनाउन सक्ने सोचेर ‘फ्रिङ्ग फ्राउ द स्कुल अफ व्युटिफिकेसन’ ट्रेनिङ सेन्टरमा भर्ना भएँ । दुई वर्षे डिप्लोमा कोर्ष सकेर नेपाल फर्किएँ । बैंककबाट सिकेको सीपलाई नेपालमा सदुपयोग गर्न वि.सं २०३६ सालमा ललितपुरको कुपन्डोलमा सयाम व्युटी सैलुन सुरु गरेँ । त्यसपछि नेपालको सौन्दर्य सम्बन्धि व्यवसायिक शिक्षा र तालिम दिने उद्देश्यले सन् १९९२ मा ‘सयाम इन्स्टिच्युट अफ हेयर डिजाइन व्युटी केयर’ ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएँ । यो काउन्सिल अफ टेक्निकल एजुकेशन एण्ड भोकेसनल ट्रेनिङ (सिटिइभिटी) बाट मान्यता पाउने नेपालको पहिलो ट्रेनिङ सेन्टर बन्यो । हालसम्म दशौ हजार विद्यार्थीहरूलाई व्युटिपार्लर सम्बन्धी तालिम दिन सफल भएको छ । पछि पुरुषहरूलाई पनि व्युटिपार्लरको तालिम दिन थाल्यौँ ।
देशभर ४ लाख बढी ब्युटिसियन
देशमा व्युटिसियनहरूको संख्या बढ्न थालेपछि वि.सं २०६४ सालमा देशभरका व्युटिसियनहरुलाई एकत्रित गर्ने उद्देश्यले ‘सौन्दर्यकला व्यवसायी संघ’ नामक छाता संगठन खडा गरियो । उक्त संस्था उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यमा समाबेश भएको छ । महासंघको निर्वाचनमा ४ पटक वस्तुगत तर्फ केन्द्रिय सदस्यको रुपमा सौन्दर्यकला व्यवसायी संघको प्रतिनिधित्व गर्न सफल भएकी छु । हाल संघमा ५ हजार भन्दा बढी व्युटिसियनहरू आबद्ध छन् ।
देशभर झण्डै ४ लाख भन्दा बढी व्युटिसियनहरू रहेको आङ्कलन छ । हरेक दिन विभिन्न जिल्लाका झण्डै २० देखि ३० जनाले नयाँ व्युटिपार्लर व्यवसाय सुरु गरिरहेका छन् । एउटा पार्लरले कम्तिमा २ जना देखि ४० जना व्युटिसियनलाई रोजगारी दिने गरेका छन् ।
स्वावलम्बी बनाउने व्यवसाय
पछिल्लो समय सौन्दर्य व्यवसायमा महिला र पुरुष दुवैको अकर्षणको केन्द्र भएको छ । करिब ३० देखि ४० प्रतिशत पुरुषहरू पार्लर व्यवसायमा संलग्न रहेको अनुमान छ । सौन्दर्यकला व्यवसायलाई छिट्टै आत्मनिर्भर र स्वावलम्बी बनाउने व्यवसायको रुपमा लिइन्छ । वैदेशिक रोजगारीमा जाने, अध्ययनका लागि विदेशमा जाने, डिभी परेर जाने, छोराछोरीलाई भेट्न जाने जो कोहीले व्युटिपार्लर सम्वन्धि तालिम लिन्छन् । स्वदेशको तुलनामा विदेशमा प्रशस्त रोजगारीका अवसर पाइन्छ । राम्रो तालिम र प्रमाणपत्र लिएका, दक्ष एवं अनुभवी व्युटिसियनहरूले विदेशमा प्रति घण्टा १५ देखि ४० डलर सम्म कमाउन सक्छन् । स्देशमा पनि आफ्ना वरपरका छरछिमेक–नातागोतालाई मेकअप गरेरै भएपनि सीप विकास गर्न सकिन्छ । आफ्नो हात बसेपछि सानो लगानीमा व्यवसाय सुरू गर्न सकिन्छ ।
पाठ्यक्रममा समावेश गर्न संघर्ष
सौन्दर्य विधालाई स्कुलको पाठ्यक्रमा समावेश गरेर ऐच्छिक विषयको रुपमा पठनपाठन गराउनुपर्छ भनेर लामो समय शिक्षा मन्त्रालय र शिक्षा विभाग धाएँ । झण्डै ८ वर्ष लामो अथक प्रयासपछि अन्तत शिक्षा मन्त्रालय र शिक्षा विभागले सौन्दर्यशास्त्रको रुपमा पाठ्यक्रममा समावेश गरेर पठनपाठनको अनुमति दियो ।
काठमाडौँको डिल्लीबजारस्थित पद्मकन्या स्कुलले नेपालमा पहिलोपटक कक्षा ९ देखि १२ सम्म सौन्दर्यशास्त्रलाई ऐच्छिक विषयको रुपमा अध्यापन सुरु गरिसकेको छ । हाल कक्षा ९ मा ३५ जना र कक्षा ११ मा ४० जना छात्राहरूले सौन्दर्यशास्त्र अध्ययन गरिरहेका छन ।
पढ्दै–कमाउँदै
सौन्दर्यशास्त्र पढ्ने विद्यार्थीहरूले सिकेको ज्ञानलाई तुरुन्तै व्यवहारमा उतार्न पाउँछन् । पढ्दै कमाउन सक्छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले महानगरभित्रका ६० ओटा विद्यालयमा सौन्दर्यशास्त्र विषय पढाइ सुरु गर्ने इच्छा जनाउनुभएको छ । विस्तारै देशभरका विद्यालयहरूमा विस्तार गर्ने लक्ष्य छ । हामीले दक्ष जनशक्ति र पाठ्यक्रम विकासमा पनि विशेष जोड दिएका छौँ ।
ल्यावको आवश्यकता
हरेक फ्याकल्टीलाई जस्तै सौन्दर्यशास्त्र पढ्ने विद्यार्थीहरूका लागि प्रयोगात्मक परीक्षण गर्न ल्याब आवश्यक पर्छ । ल्याबमा फेसियल, मेकअप, हेयर कलर लगायत विभिन्न किसिमका कस्मेटिक प्रोसिजर हुन्छन् । साथै विद्यार्थीहरूले विभिन्न केमिकलहरू प्रयोग गर्न सम्बन्धित शीर्षकअनुसार ल्यावमा स्रोत साधन आवश्यक पर्छ । त्यसैले प्रयोगात्मक कक्षा सञ्चालनका लागि ल्यावको जरूरत छ ।
विकृति
कतिपय कस्मेटिक क्रिममा कडा स्टेरोइड मिसाइएको हुन्छ जसले प्रत्यक्ष छालालाई असर गरिरहेको हुन्छ । कस्मेटिक प्रोसिजरले छालामा हुनसक्ने सम्भावित असर कम गर्न भिटामिन बी कम्पलेक्स, भिटामिन इ, क्याल्सियम जस्ता सम्लिमेन्ट दिनुपर्ने हुन्छ ।
शिक्षा, ज्ञान र सचेतनाको अभावले कसैलाई एलर्जी, कसैलाई मेकअप सुट नगर्ने जस्ता समस्या देखिएको छ । कतिपयले व्युटिसियनले युट्युबमा हेरेको भरमा लेजर चलाइदिन्छन् । उनीहरूलाई स्किनको लेयर कति छ, कुन लेयरमा काम गर्ने, कुन उमेरसमुहलाई कस्तो प्रोसिजर गर्ने, कुन रोग लागेकालाई गर्नु हुन्छ हुँदैन भन्ने केही थाहा छैन ।
नियमन गर्ने निकाय खोइ ?
नेपालमा व्युटिपार्लर कहाँ दर्ता गर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था छैन । दुईचार महिना तालिम लिएर कोठामा पार्लर खोल्नेको संख्या धेरै छ । सौन्दर्य व्यवसायीलाई नियमन र नियन्त्रण गर्ने निकाय नहुँदा विकृति फैलिने जोखिम बढेको छ ।
सरकारले व्युटिपार्लर दर्ता गर्ने निकाय, निश्चित मापदण्ड र व्युटिसियनको अनुभव, तालिम अवधि र दक्षताको आधारमा लाइसेन्स लिएर मात्र व्युटिपार्लर खोल्न पाउने नियम बनाउन ढीला भइसकेको छ ।