Logo
|
Friday 3rd May 2024
Logo

epaper

हतारमा ट्याटु हानेर फूर्सदमा नपछुताउनुुस्

लेजरले यसरी हटाइन्छ ट्याटु



भनिन्छ–‘खतले मानिसलाई मनमा चोट दिएर जान्छ । जसलाई हत्तपत्त भूल्न सकिदैन ।’ लडेर, धारिलो हतियारले काटेर, आगोले पोलेर, ठूला दुर्घटना, शल्यक्रियालगायतका चोटपटकबाट खत बस्ने गरेको हुन्छ । चोटपटकबाट बसेको खत धेरै व्यक्तिमा पाइन्छ । घाउ निको भएपनि बाँकी रहेको पातलो भाग खत हो । यसरी निधार, गाला, हात गोडा आदिमा खत भएमा भौतिक र मनोवैज्ञानिक दुवै किसिमबाट आफ्नो सौन्दर्य कुरूप भएजस्तो लाग्नसक्छ । धेरै व्यक्तिहरू विगतको घटना विर्सन खत हटाउन चाहन्छन् । प्लास्टिक वा कस्मेटिक सर्जरीबाट पनि खत हटाउन सकिन्छ । तर सेवा नभएको ठाउँ र खर्च धान्न नसक्नेहरूका लागि न्युन शुल्कमा गर्न सकिने लेजर भरपर्दो प्रविधि मानिन्छ ।


फ्र्याक्सनल सी ओ टू (कार्वनडाइअक्साइड) लेजर खत हटाउन प्रयोग गरिन्छ । यो एक प्रकारको रेडियसन दिएर गरिने उपचार हो । खत भएको ठाउँमा लेजर लाइटलाई पोइन्ट गरिन्छ । खत वरपर रौँ आकारका स–साना प्वाल (पंचर) पारेर लाइट भित्र छिर्छ । यसले छालाभित्र भएको कोल्याजन र इलास्टिक तत्वलाई सक्रिय बनाउँछ र स–साना खत पुरिंदै जान्छ । लेजरले बनाएको प्वाल पुरिने क्रममा नयाँ छाला पलाउने भएकाले पुराना खत मेटिदै सामान्य अवस्थामा आउँछ ।

लेजर प्रविधि अलि पीडादायी प्रोसिजर भएकाले लेजर गर्नुपूर्व व्यक्तिलाई नदुख्ने मल्हम लगाउनुपर्छ । मल्हम लगाएको ४५ मिनेटदेखि १ घण्टामा सम्बन्धित भाग विस्तारै लाटो भएपछि प्रोसिजर गरिन्छ ।

कतिपटक गर्नुपर्छ ?

खतको प्रकृति र अवस्थाअनुसार लेजरको सेसन पूरा गर्नुपर्छ । साधारणतया डन्डिफोर र चोटपटकको खतलाई ६ देखि ८ ओटा सेसन आवश्यक पर्नसक्छ । यो खतको आकार प्रकारको आधारमा कोहीलाई कम र कोहीलाई बढी सेसन आवश्यक पर्नसक्छ । प्लास्टिक सर्जरी र लेजर प्रविधिको संयोजनले राम्रो सँग खत हटाउन सकिन्छ । साधारणतया ३–४ हप्ताको अन्तरालमा लेजर सेसन गरिन्छ ।

प्लास्टिक सर्जरी गरेर खत मिलाउने र नमिलेको ठाउँमा लेजर प्रयोग गर्दा रिजल्ट राम्रो पाइएको छ । त्यस्तै फ्र्याक्सनल र नन् एब्लेटिभ लेजरले पनि केहि हदसम्म खत हटाउन मद्धत गरेका छन् ।

डा. सञ्जुबाबु श्रेष्ठ

सस्तो होइन गुणस्तरीय मेसिन

क्लिनिकमा प्रयोग हुने मेसिन, खतको आकार, प्रकार, सेसन आदिमा शुल्क निर्धारण गरिएको हुन्छ । सामान्यत प्रति सेसन दुई हजारदेखि १०–१२ हजार रूपैँया सम्म खर्च लिने गरेको पाइन्छ । राम्रो मेसिन र दक्ष जनशक्तिका कारण लेजर गर्ने ठाउँमा शुल्क केही महँगो हुन सक्छ । राम्रो मेसिनले ४ पटक गर्दा आउने रिजल्ट न्यून गुणस्तरको मेसिनले ८ पटक गर्दा पनि देखिन सक्दैन । समय पनि बढी लाग्नसक्छ भने पीडा पनि बढी नै हुन्छ ।

सस्तो होइन दक्ष चिकित्सक र गुणस्तरीय मेसिनबाट मात्र लेजर सेवा रोज्नुपर्छ ।

के लेजरको रिजल्ट स्थायी हुन्छ ?

एकपटक सेसन पुरा गरेर खतलाई निको बनाइसकेपछि पुनः लेजर गर्नुपर्दैन । थप केही सेसन गरेमा रिजल्टमा सुधार आउन सक्छ । कसैको ८ सेसन गर्दा ९० प्रतिशत रिजल्ट देखिएको छ भने थप एक दुई सेसन गर्दा ९५ प्रतिशत सम्म रिजल्ट पु¥याउन सकिन्छ । त्यसैगरी गर्भावस्थामा देखिने धर्सा, मोटो मान्छे दुब्लाउदा देखिने धर्सा (स्ट्रेच मार्क) का लागि पनि लेजर प्रभावकारी मानिन्छ । राम्रो रिजल्ट चाहनेहरूका लागि लेजर सँगसँगै प्लेटलेट रिच प्लाज्मा थेरापी (पीआरपी) पनि गर्नुपर्ने हुनसक्छ । कसैकसैले डर्मा रोलर पनि प्रयोग गरेको पाइन्छ । तर लेजर र पीआरपीको संयोजनात्मक उपचारले खत र स्ट्रेच मार्क हटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

लेजरले यसरी हटाइन्छ ट्याटु

स–साना पिनको माध्यमबाट छालाभित्र इंक (मसी) राखेर इच्छाअनुसार ट्याटु खोपिन्छ । कहिलेकाहीँ सडक पीच गर्ने अलकत्रा लागेर, गोलीको छर्राले र बच्चाले पेन्सिल खेलाउँदा निव भाँचिएर संयोगवस ट्याटू बन्न पुग्छ । यसलाई एक्टिडेन्टल ट्याटु भनिन्छ । यसैगरी ट्याटू आर्टिसले इच्छा अनुसार विभिन्न रंग हालेर खोपिने ट्याटु अम्याचूअर्ड ट्याटू हो । कतिपयले देखासिखी वा प्रेमभाव देखाउन पनि ट्याटु खोप्ने गरेको पाइन्छ । सम्झना मेटाउन, मन नपरेको ट्याटु हटाउन, सरकारी जागिर खान, विदेश जान ट्याटू मेटाउन खोज्छन् ।

लेजरले सबै ट्याटू नमेटिन सक्छ । विशेषगरी हरियो र पहेँलो रङको ट्याटु मेटाउन अलि कठिन पर्नसक्छ । तर पीको एनडि याग लेजर मेसिनले गर्दा रंगिन ट्याटु हटाउन सहज भएको छ । यसबाट कालो, निलो र रातो रंगको ट्याटु वा सबै रङ्ग सजिलै हटाउन सकिन्छ ।

लेजरबाट ट्याटु कसरी हटाइन्छ ?

पीको एनडि याग लेजर मेसिनबाट ५३२ र १०६४ फ्रिक्वेन्सी भएको दुई प्रकारको लेजर लाइट निस्किन्छ । उक्त लेजर लाइटले हिट गरेर ट्याटु हटाउने भागमा पोइन्ट गरिन्छ । लाइले हिट गरेपछि ट्याट वरीपरी पड्किएको जस्तो आवाज निस्कन्छ जसलाई फोटो अकोस्टिक इफेक्ट भनिन्छ । लेजर लाइटले ट्याटुको कलर पार्टिकल्सहरूलाई फुटाइदिन्छ । त्यसपछि पार्टिकल्सहरु छाला बाहिर निस्किन्छ । त्यसैगरी छालाभित्र हुने म्याक्रो फेज (ठूला सेलहरु) ले ट्याटुलाई धमिलो बनाउँछ ।
कतिपय प्री—म्याचुअर ट्याटु एक सेसन गरेर पनि हट्न सक्छ । अम्याचुअर र प्रोफेसनल ट्याटु हटाउन कम्तिमा पनि ६ देखि ८ सेसन पूरा गर्नुपर्छ । ट्याटु हटाउने सेसन डेढ देखि दुइ महिनाको अन्तरालमा गरिन्छ ।

ट्याटुको प्रकार हेरेर एक हजार देखि २० हजार रूपैंयासम्म खर्च लाग्न सक्छ ।

(डा. श्रेष्ठ स्किन सिटीमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्