Logo
|
Sunday 5th May 2024
Logo

epaper

डण्डिफोरको मारमा म नै किन

डण्डिफोरबाट छुटकारा पाउन के गर्ने ?



डा. श्रद्धा श्रेष्ठ, कन्सल्यान्ट डर्माटोलोजिष्ट


किशोरावस्था वा युवावस्थामा धेरैलाई अनुहारमा डण्डिफोरले दुःख दिएको पाइन्छ । वास्तवमा किशोरावस्थामा नै यो किन धेरै आउँछ ? किशोर र युवावस्थामा शरीरभित्र बढ्दो हर्मोनका कारण तेल निकाल्ने ग्रन्थी सक्रिय हुन्छ र धेरै चिल्लो पदार्थ निस्केपछि यो छाला मुनि जमेर छिटो छिटो खटिराको रूप लिन्छ । जसलाई हामी डण्डिफोर भन्दछौं ।

डण्डिफोरको समस्या पाइलोसिवासियस युनिटबाट आउने कण्डिसन हो । यो रोग भन्दा पनि छालाको प्रकारसँग जोडिएको समस्या हो । तेलीय (चिल्लो) छाला भएका व्यक्तिहरूमा निश्चित उमेरमा पाइलोसिवासियस युनिटमा गिर्खाहरू धेरै बन्छन् र डण्डिफोरको रूप लिन्छ ।

खासगरी रौं (कपाल) को जरामा तेल निकाल्ने सिवासियस ग्रन्थी, फोलिकल्स लगायतका विभिन्न तत्व हुन्छन् । जसलाई पाइलोसिवासियस युनिट भनिन्छ । यो छालाको सामान्य बाटो हो । सिवासियस ग्रन्थीले एक प्रकारको चिल्लो पदार्थ निकाल्छ जसलाई सिवम् भनिन्छ । यो नेचुरल मोइच्चराइजिङ एजेन्ट हो । जुन सबैको छालामा हुन्छ ।

यौवनमा डण्डिफोर आउने जाने अनौठो कुरा होइन । यो क्रम चलिरहन्छ । तर डण्डिफोर ज्यादा आएर बिग्रन थालेपछि छालामा समस्या देखिन थाल्छ । अझ पाक्न थालेपछि त दुख्ने, पोल्ने असजिलो महसुस गराउँछ ।

कडा खालको डण्डिफोरले खत छाडेर जान्छ । वास्तवमा यसको उपचार गर्दा ज्यादा डण्डिफोर आउँदा कम गर्ने र कण्डिसनलाई शान्त पार्ने गरिन्छ । निर्मुल पार्न सकिदैन । उमेर बढ्दै गएपछि यो आफैं निको हुन्छ ।

डण्डिफोरबाट छुटकारा पाउन के गर्ने ?

सामान्य अवस्थाको डण्डिफोरमा छालाको हेरचाहमा जोड दिनुपर्छ । चिल्लो छाला भएकाहरूले सफा राख्नुपर्छ । पाइलोसिवासियस युनिटमा अवरोध हुन नदिन थिक प्रोडक्ट लगाउन हुँदैन ।

मसिना डण्डिफोर निकाल्ने भ्रममा कमेडोजेनिक (डण्डिफोर निकाल्ने) मेकअपका सामाग्री प्रयोग नगर्नुहोला । कमेडोजेनिक भनेको भिजिटेवल तेल हो । वारम्बारको भेजिटेवल तेलको प्रयोगले अनुहारको छालामा मसिना कमेडोजोन्स अर्थात व्ल्याक हेड्सको जन्म हुन्छ ।

डण्डिफोर एकै जातको खटिरामा सिमित हुँदैन । यसमा शुरूमा व्ल्याक र ह्वाइट हेड जातका मसिना खटिरा निस्कन्छन् । यिनीहरू पाक्न थालेपछि रातो खटिरा बन्छ । खटिरा पाकेपछि पिपको पिड्का (पस्च्युल) को रूप लिन्छ । पिप बढेपछि छालामा डल्ला बन्छ जसलाई हामी सिस्ट भन्छौं । यो दुःख्छ र अनुहारमा खत छाडेर जान्छ ।

डण्डिफोरको प्रकारका आधारमा उपचार गर्नुपर्छ । मसिना व्ल्याक र ह्वाइट हेड्समा स्किन केयर गर्न जरूरी हुन्छ । रातो खटिरा र पिप आउने समस्यामा औषधिले न्युनिकरण गर्नुपर्छ । खटिरा सिस्ट बनिसकेको अवस्थामा अलि कडा औषधिको आवश्यकता पर्नसक्छ । डण्डिफोरको प्रकार, उमेर र छालाको प्रवृत्तिमा औषधि फरक प्रयोग गर्नुपर्ने हुनसक्छ । सबैलाई एउटै उपचार सूट गर्दैन ।

खासगरी कडा खालका डण्डिफोरको उपचार ४ देखि ६ महिनासम्मको हुन्छ । यो वीचमा औषधिको मात्रा बढाउने वा घटाउने निर्णय गर्न क्रमिक रूपमा डाक्टरको सल्लाह र परामर्शको जरूरत पर्छ ।

लेट अनसेट डण्डिफोर

यौवनमा आउने डण्डिफोरबाहेक लेट अनसेट डण्डिफोर पनि देखिनसक्छ । यो एउटा उमेर गएपछि हुन्छ । यसमा एउटै कारण हुँदैन । जुन छालाको प्रकार, तेल निकाल्ने ग्रन्थी, हर्मोनको कारण मात्र नभई धेरैपटक औषधिहरूको प्रयोग र मल्हमहरूको असरले आउनसक्छ । यस्ता डण्डिफोरमा कारण केलाउनुपर्छ र विज्ञको सल्लाह अनुसार उपचार गर्नुपर्छ ।

अनुहारमा कागति

कागतिमा सिट्रिक एसिड हुन्छ । यसले छालामा भएको चिल्लो कम गर्ने भएकाले कतिपयले घरेलु उपचारका रूपमा प्रयोग गरेको पाइन्छ । तर कागति प्रयोग गर्ने तरिका नमिलेमा कहिलेकाँही फाइदाको सट्टा वेफाइदा पनि गर्नसक्छ ।


तसर्थ सामाजिक सञ्जालमा देखेको÷सुुनेको भरमा जथाभावी मल्हम/क्रिमको प्रयोग गर्नाले धेरैको छालामा वेफाइदा भएको भेटिएको छ । समयमै छाला रोग विशेषज्ञसँग परामर्श लिई उपयुक्त उपचार गर्नाले डण्डिफोर र यसले छाड्ने दागलाई कम गर्न सकिन्छ ।
(डा. श्रेष्ठ द स्किन आर्टस् एस्थेटिक्समा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्