Logo
|
Saturday 27th April 2024
Logo

epaper

नेपालमा फिलर्स र बोटक्स प्रयोगबारे न अनुमति छ न गाइडलाइन नै

सम्बन्धित निकायको निगरानी शून्य



प्रा.डा. अनिल कुमार झा, वरिष्ठ कन्सल्यान्ट डर्माटोलोजिष्ट

छिमेकी मुलुक भारतमा सरकारले डर्मा फिलर्स सम्बन्धि निश्चित गाइडलाइन बनाएर सञ्चालनको अनुमति दिएको लामो समय भइसकेको छ । तर नेपाल सरकारले डर्मा फिलर्स उपचारलाई अनुमति दिएको छैन । क्लिनिकहरूमा डर्माटोलोजिष्ट, टेक्निसियन र व्युटिसियनहरूले डर्मा फिलर गर्दै आइरहेको भएपनि ति सबै अनुसन्धानको वहानमा भइरहेका छन् । नेपालमा बोटक्सले पनि कानूनी मान्यता पाउन सकेको छैन ।

अनुहारमा देखिने बूढ्यौलीपना कम गर्न र चाउरीपना हटाउन यो प्रयोग गरिन्छ । साथै न्यूरोलोजिष्ट र अन्य विशेषज्ञहरूले पनि विभिन्न रोग उपचारमा बोटक्स प्रयोग गर्दै आएका छन् ।

के आधारले अरुले गलत काम गर्यो भन्ने ?
डर्माटोलोजिष्ट व्युटिसियन वा टेक्निसियनमध्ये कसले डर्मा फिलर्स र बोटक्स प्रयोग गर्न पाउने, कुन उमेर समुहलाई लगाउने ? कस्तो अवस्थामा नलगाउने, मापदण्डमा रहेर काम गरेको छ वा छैन आदिबारे नियम र कानुनको दायरामा ल्याउने जिम्मा सरकारको हुन्छ । स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, औषधि व्यवस्था विभागलगायतका नियामक निकायले यसबारे थप अध्ययन अनुसन्धान गरी ठोस निर्णय लिनुपर्छ । राम्रो र नराम्रो पक्ष केलाउनुपर्छ । गलत लागेमा रोक्न सक्नुपर्छ । अन्यथा स्वीकृतिको बाटो खुलाउनुपर्दछ । पुर्वाग्रहीत भएर आक्रमण गर्नुहुँदैन । चिकित्सकले पनि आफ्नो सेवालाई उत्कृष्ट बनाउनुपर्छ ताकि राम्रो उपचारको खोजीमा सेवाग्राही अन्यत्र भौतारिन नपरोस् । देशको नियमले बाद्य नगरे सम्म सेवा प्रदायहरूमध्येबाट नै एकअर्काको आलोचना गर्न उचित हुँदैन । देशको नियम कानुन प्रभावकारी नभएसम्म के आधारमा अरूले गलत काम गर्यो भन्ने ?

गुणस्तरीय र विश्वसनीयता
व्युटिसियनले गल्ती गरेर अनुहार बिग्रिएमा डाक्टरलाई देखाउन आउँछन् । तर डाक्टरबाट सानो गल्ती भएमा सिधै मिडिया वा कानूनी प्रक्रियामा जाने प्रचलन छ । यो दुर्भाग्यपूर्ण कुरा हो । जे–जस्तो परिस्थिति भएपनि हामीले आफ्नो सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्छ । अरुको आलोचना गर्नुभन्दा सेवा विस्तार गरेर सर्वसाधारणहरूलाई लाभ दिन सक्नु सामाजिक उत्तरदायित्व हो ।

जिम्मेवारीको वोध
अनुभव र दक्षता नभएका व्यक्तिहरूले बोटक्स र फिलर्स गर्दा सेवाग्राहीको अनुहार बिग्रने, प्यारालाइसिस हुने जस्ता जोखिम बढ्नसक्छ । यस्ता विकृति विरूद्ध आवाज उठाउनुपर्छ । सबैले देशको नियम कानूनको परिधिभित्र रहेर काम गर्नुपर्छ । अन्यथा विकृति फैलन सक्छ ।

यस क्षेत्रको विज्ञको नाताले वर्तमान चुतौतिबारे बोल्नै पर्छ । तर देशको नीति नियम कस्तो हुनुपर्छ भनेर खाका तयार पार्ने जिम्मेवारी सम्बन्धित निकायको हो ।

अरुको काममा चासो र हस्तक्षेप गरेर कसलाई फाइदा ? सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरेमा स्वभाविक रूपमा देशको विकास सम्भव छ ।

समयमा आफ्नो क्षमतालाई प्रयोग गर्ने
२० वर्ष अगाडि मलाई कहिलेकाहीँ दिक्क लाग्थ्यो । आज आएर त्यो समय खेर फालेँ जस्तो लाग्छ । आज जति काम गर्दै छु त्यो बेला त्यतिनै काम गरेको भए आज धेरै अगाडी पुग्थे कि जस्तो लाग्छ । त्यसैले समयमा आफ्नो क्षमतालाई प्रयोग गर्नुपर्दछ । आफू के बन्ने भनेर सपना देख्नुको सट्टा के गर्न सकिन्छ भनेर सपना देख्नु उत्तम हुन्छ ।

स्वार्थ होइन
यहाँ राजनीतिक दलका नेताहरूको स्वार्थका आधारमा नियम कानुन बनाइन्छ । यस पछाडी धेरै लेनदेनका कुराहरू जोडिएका हुन्छन् । यदि कुनै विषयमा नियम कानून बनाउँदा सम्बन्धित विज्ञ र परिपक्क व्यक्तिलाई संलग्न गराउँदा निकै प्रभावकारी हुने गर्छ । व्यवहारीक पक्षलाई विशेष ध्यान दिनुपर्दछ । पर्याप्त गृहकार्य हुनुपर्दछ ।

बोटक्सलाई कानुनी मान्यता दिनहुँदैन भनेर लागू गर्नुभन्दा पहिला देशभरका सम्बन्धित चिकित्सक, प्लास्टिक सर्जन, व्युटिसियनलाई उचित तालिम दिन सकेको भए यो अवस्था आउने थिएन । सरोकारवाला निकायले विज्ञको समन्वय, गृहकार्य नगरी अव्यावहारिक नियम बनाउँदा झन अन्योल बढ्नसक्छ ।

अहिले कपाल प्रत्यारोपण छाला सम्बन्धी डाक्टरले बाहेक डेन्टल सर्जन र प्लास्टिक सर्जनले पनि गरेको पाइन्छ । कपाल प्रत्यारोपण कसको विज्ञता हो ? कसले गर्ने ? भनेर छुट्याउने निकाय नै छैन । त्यसैले अहिले जुन जुन व्यक्तिहरूबाट बोटक्स, डर्मा फिलर्स र कपाल प्रत्यारोपण भइरहेको छ, उनीहरू सबैलाई एक ठाउँमा ल्याउनुपर्छ र छलफलको विषय बनाएर लिखित खाका तयार गर्नुपर्ने आवश्यकता देखिन्छ । अनुभवी, तालिम प्राप्त र विज्ञ व्यक्तिले मात्र बोटक्स लगाउनुपर्छ । बोटक्स सामान्य सुइ त हो नि भनेर जो कोहीले लगाउँदा भावी दिनमा जटिलता सिर्जना हुनसक्छ । कस्तो व्यक्तिले लगाउने, कुन उमेर समुहले कहिले लगाउने, सम्भावित जोखिहरू के के छन् भनेर गाइलाइन बनाउन जरूरी छ ।

प्रतिक्रिया दिनुहोस्