Logo
|
Friday 26th April 2024
Logo

epaper

दादः डर्माटोफाइट्स फंगसको संक्रमण

करिब १ सय जनामध्ये १० जनाको दाद निको हुन गाह्रो



डा. सुदिप पराजुली, वरिष्ठ छाला रोग विशेषज्ञ


दाद छालामा देखिने एक प्रकारको फंगल इन्फेक्सन हो । यसमा छालामा रातो, गोलो आकारको घाउ बन्छ र चिलाउँछ । घाउको वरपरबाट बिस्तारै पाप्रा निस्किन थाल्छ । त्यसैले यो रिंगवर्मको नामले पनि चिनिन्छ । बालबालिकाहरूमा कपाल खुइलिने र कत्ला–कत्ला परेर समस्या आउँछ । यो डर्माटोफाइट्स फंगसको संक्रमणले हुने गर्छ ।

शरीरको गाढा र ओसिलो भागमा सुपर–फिसियल फंगल संक्रमण धेरै हुने गर्छ । छालासँगै फोक्सो, ब्लड, यूरिनरी ट्रयाक र ब्रेनमा समेत डीप फंगल इन्फेक्सन हुनसक्छ ।

विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरूलाई बढी संक्रमण हुनसक्छ । यो एक किसिमको सरुवा रोग हो । संक्रमितले प्रयोग गर्ने कपडा, रूमाल, साबून आदिबाट सजिलै संक्रमण हुनसक्छ । पानी र जनावरसँगको संसर्गबाट पनि सर्नक्छ ।

शारीरिक र मानसिक कष्ट
दादमा छाला चिलाउने, फुस्रो हुने र रातो हुने गर्छ । समयमा उचित उपचार नपाएमा संक्रमण भएर घाउ पाक्न सक्छ र एकभन्दा बढी व्यक्तिलाई संक्रमण गर्नसक्छ । कसैलाई रातभर घाउ चिलाएर निन्द्रा पर्न सक्दैन । यसले कार्यदक्षतामा ह्रास ल्याउँछ । शारीरिक र मानसिक कष्ट दिन्छ ।

नियमित औषधि
दादको किटाणुलाई नियमित उपचारले नियन्त्रणमा राख्न सकिन्छ । जीवनशैली परिवर्तन र जथाभावी एन्टिबायोटिक्सको प्रयोगले फंगल रेजिस्टेन्सको सम्भावना बढाएको छ ।

दादमा स्टेरोइड भएका मल्हमहरू जथाभावी प्रयोग गर्नाले सुरूमा निको भएजस्तो लागेपनि विस्तारै शरीरभर फैलिएर जटिल रूप लिनसक्छ ।

करिब १ सय जनामध्ये १० जनाको दाद निको हुन गाह्रो हुने गरेको छ । यस्ता बिरामीलाई कडा औषधिको जरूरत पर्नसक्छ ।

चिकित्सकको निगरानी
औषधि लगाएर दाद निको भएपछि पनि थप केही समयसम्म औषधिलाई निरन्तरता दिनुपर्छ । अन्यथा दाद पुनः बल्झन सक्छ । दाद पुन बल्झिएमा छाला रोग विशेषज्ञ र फिजिसियनको निगरानीमा उपचारलाई निरन्तरता दिनुपर्दछ । घरपरिवारमा दाद भएमा सबै सदस्यको एकैपटक उपचार सुरू गर्नुपर्दछ ।

खुकुलो र पसिना सोस्ने खालका कपडाहरू लगाउनुपर्छ । सकेसम्म सिन्थेटिक कपडा प्रयोग गर्नहुँदैन । भित्री वस्त्रहरुलाई साबुनपानीले राम्रोसँग धोएर घाममा सुकाएर लगाउनुपर्छ । सरसफाइमा ध्यान दिनुपर्छ । विशेषज्ञको अनुमतिबिना जथाभावी औषधि प्रयोग गर्न हुँदैन । मद्यपान गर्नुहुँदैन ।

(डा. पराजुली त्रि.बि.शिक्षण अस्पताल महाराजगञ्जमा सह—प्राध्यापक हुनुहुन्छ । उहाँ विगत डेढ दशकदेखि छाला रोग विशेषज्ञ हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्