Logo
|
Saturday 27th July 2024
Logo

epaper

आज साउने संक्रान्ति, लुतो फाल्ने दिन: के हो लुतो, कसरी फालिन्छ ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज साउने सक्रान्ति अर्थात लुतो फाल्ने दिन । आजबाट असार सकिएर साउन महिना शुरु भएको छ ।

साउन महिनामा सूर्य कर्कट राशीमा रहने भएकालो धेरै गर्मी हुने र निरन्तर झरि पर्ने तथा कृषकहरु कृषीकार्य गर्दा पानीमा भिज्ने, माटोमा खेल्ने, अनि हिलाम्मे हुने हुन्छ । जसका कारण मानिसलाई यो महिनामा विभिन्न किसिमका छालासंग सम्बन्धित रोगहरु विषेश गरि लुतो, दाद, घमौरा आउने सम्भावना बढी हुन्छ ।

साउने संक्रान्तिलाई यो परिपेक्षमा लुतो फाल्ने संक्रन्तिका रुपमा मनाउने चलन छ । लुतो फाल्ने आ–आफ्नै जनविश्वास रहेको छ ।

यस दिन नदि किनारमा गई शरीरमा लेसिलो पहेंलो माटो दलेर नुहाउँदा फोहोरजन्य कारणबाट आउने लुतो फालिन्छ भन्ने जनविश्वाश छ भने कसैले भान्टालाई दूलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा समेत लुतोबाट छुटकारा पाइने जनविश्वास रहिआएको छ । कतै भने आज बेलुका साझ परेपछि पैयाको हाँगा, कुरिल्लो आदि राखेर आगोको राको लाई फाल्ने चलन पनि छ ।

साउन महिनाभरि अत्यन्त वर्षा हुने भएकोले यसलाई ‘पावस ऋतु’ पनि भनिन्छ । कृषिप्रधान देशमा ‘मानो खाई मुरी उब्जाउने’ प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् ।

असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने छालाको रोग बाट मुक्ति पाउन साउने सङ्क्रान्तिका दिन साँझ लुतो, दाद आदि चर्मादि रोगबाट मुक्ति पाउन लुतो फाल्ने प्रचलन छ ।

महिलाहरुले साउने संक्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउने र शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् । देवी पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेकाले सोमबारको व्रतको महत्व रहेको ग्रन्थहरुमा उल्लेख छ । साउन महिना भगवान् शिवको महिना भएकाले यो महिनाभर शिवालयमा दर्शनार्थीको अत्यधिक भीड हुने गर्छ ।

के हो लुतो ?
लुतो मानव शरीरको छालामा लाग्ने रोग हो । यो रोगमा छालामा साना साना फोका वा दागहरू देखिने र चिलाउने गर्छ । ‘सारकोप्टस स्क्याबी’ नामक किटाणुका कारण शरीरमा लुतो आउँछ । दादभन्दा लुतो छिटो र सजिलै सर्छ । काखी, कुहिनो, यौनांग लगायतका शरीरका विभिन्न भागमा लुतो आउन सक्छ । जुनसुकै उमेरका व्यक्तिलाई लुतो हुन सक्छ । शरीरको एक ठाउँमा आएको लुतो अन्य ठाउँमा पनि फैलँदै जान्छ ।

लुतो भएको व्यक्तिलाई छुँदा, उसको लुगा लगाउँदा लुतो सर्छ । लुतो भएको साथीको घरमा गएर एउटै बिछ्यौनामा सुतेपछि पनि लुतो सर्न सक्छ । लुतो शरीरको बाहिरी भागमा मात्र देखा पर्ने समस्या हो ।

पिपसहितको फोका उठ्ने र पानी भएको फोका उठ्ने गरी लुतो दुई किसिमको हुन्छ । उपचार गरेपछि दाद र लुतो दुवै निको हुन्छ । शरीर चिलाउने समस्याबाट मुक्त हुने हो भने दाद र लुतो हुन पाउँदैन। त्यसका लागि सरसफाइमा ध्यान दिनुपर्छ । नुहाउन अल्छी गर्नु हुँदैन । सकेसम्म सुतीको लुगा लगाउनुपर्छ । छालासम्बन्धी समस्या देखिनासाथ सम्बन्धित विज्ञ चिकित्सकसँग परामर्श लिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्