Logo
|
Wednesday 15th January 2025
Logo

epaper

पर्वतका ४० प्रतिशत पिउने पानीमा दिसामा हुने जीवाणुको मात्रा उच्च



जनस्वास्थ्य सरोकार, पर्वत । पर्वतमा रहेका पानीका मुहानमध्ये ४० प्रतिशतमा दिसामा हुने जीवाणु ‘इ.कोली’ को मात्रा उच्च रहेको पाइएको छ ।

जिल्लाका सात स्थानीय तहमा पुगेर नमूनाका रूपमा लिइएका मुहानका पानी परीक्षण गर्दा ४० प्रतिशतभन्दा बढी मुहानको पानीमा इ.कोली र कोलीफर्म रहेको पाइएको स्वास्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो ।

यो नतिजाले जिल्लाका अधिकांश नागरिकले दूषित पानी पिउने गरेको र यसले उनीहरूको स्वास्थ्यमा असर गरिरहेको उहाँको भनाइ छ । स्वास्थ्य कार्यालय पर्वतले आज खानेपानी गुणस्तरसम्बन्धी सरोकारवाला निकाय माझ उक्त नतिजा सार्वजनिक गरेको हो ।

“इ.कोलीको कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत महामारीजन्य रोगको सङ्क्रमण हुने खतरा बढेको छ । यसले मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ”, उहाँले भन्नुभयो–“हिउँदको समयमा भन्दा वर्षातको समयमा इ.कोली बढी भेटिन्छ । वर्षाका कारण बगेर आएको पानीले पानीको स्रोतमा जमिनको सतहमा रहेको फोहरसहितको पानी मिसाउँछ । एक ठाउँको फोहर बगेर अर्को ठाउँमा जान्छ ।”

ल्याब टेक्निसियन दीपा केसीका अनुसार खाने पानीका स्रोतमा दिसामा पाइने उक्त जीवाणु उच्च मात्रामा रहेको पाइएको छ । उहाँका अनुसार कुस्मा नगरपालिकाभित्रका विभिन्न पाँच वटा आयोजनाबाट २० वटा नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा आठ वटामा इ।कोली देखिएको छ भने बाँकी १२ वटा नमूनामा खान योग्य देखिएको छ ।

मोदीका नौ वटा आयोजनाको ३५ वटा नमूनामध्ये नौ वटामा इ.कोली भेटिएको छ भने बाँकी २६ वटा खान योग्य पाइएको छ । जलजला गाउँपालिकाका ७ वटा आयोजनाबाट २३ वटा नमुना सङ्कलन गरिएकोमा ७ वटा पानीको नमुनामा इ.कोली देखिएको छ भने बाँकी १६ वटा खान योग्य पाईएको छ ।

फलेवास नगरपालिका भित्रका विभिन्न १५ ठाउँमा रहेका पानीका स्रोतको परीक्षण गर्दा तीमध्येका आठ वटामा इ।कोली देखिएको छ भने बाँकी ७ वटा खान योग्य पाईएको छ । यसैगरी विहादी गाउँपालिका भित्रका १८ वटा श्रोतको पानी परीक्षण गर्दा १० वटामा इ.कोली देखिएको छ भने बाँकी ८ वटा खान योग्य पाईएको छ ।

पैंयुँ गाउँपालिकामा पुगेर २७ वटा श्रोतको पानी परीक्षण गर्दा १५ वटामा इ।कोलीको मात्रा देखिएको छ भने बाँकी १२ वटा पिउन योग्य पाईएको केसीले बताउनुभयो । महाशिला गाउँपालिकाका १७ वटा श्रोतको पानी परिक्षण गर्दा सात वटामा इ.कोली भेटिएको छ भने बाँकी १० वटा श्रोतको पानी पिउन योग्य रहेको भेटिएको छ ।

झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत महामारीजन्य रोगको सङ्क्रमणबाट जोगिनका लागि पानीलाई शुद्धीकरण गर्नुपर्ने ल्याब टेक्निसियन केसीले बताउनुभयो ।

“इ.कोलीयुक्त पानी पिउँदा दिसाजन्य रोगहरूले महामारीको रूप लिन सक्ने पनि अवस्था आउँछ । यसबाट जोगिनको लागि उपभोक्ता स्वयंले पानीको शुद्धीकरणमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो “यो बर्खाको बेलामा कोलीफर्म मात्र नभई अरू कारणले पनि पानी दूषित बनेको हुन्छ । यो जमिनमा भएको फोहर बाढीले बगाउँदै पिउने पानीमा मिसाएको हुन्छ । जसमा धेरै प्रकारका सङ्क्रमणको जोखिम रहेको हुन्छ । त्यसैले पानी राम्रोसँग उमालेर, फिल्टर गरेर वा अन्य उपाय अपनाएर शुद्ध बनाएर पिउनुपर्छ ।” रासस

प्रतिक्रिया दिनुहोस्