Logo
|
Wednesday 11th September 2024
Logo

epaper

विकट क्षेत्रमा आँखा उपचार सेवा अझै कमी

‘सरकारको ध्यान जानुपर्छ’



डा. सन्दुक रूइत, वरिष्ठ आँखा विशेषज्ञ


डा. रुइत सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाउने प्रख्यात नेपाली आँखाका डाक्टर हुनुहुन्छ । विश्वविख्यात सरल र कम लागतको मोतिबिन्दुको चिकित्सापद्धति ‘रुईतेक्टोमी’ का सुरुवातकर्ता पनि हुनुहुन्छ । उहाँले धेरैको मोतिबिन्दु शल्यक्रिया गर्नुभएको छ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङको चिनियाँ सीमावर्र्ती गाउँ ओलाङचुङगोलामा जन्मिएका डा. रूइतलाई आज देश–दुनियाँमा ‘दृश्यका देवता’ (गड अफ साइट) भनेर चिनिन्छ ।

परिवार र प्रारम्भिक जीवन
डा. रुइत तमोरखोलाको शिरमा रहेको ओलाङचुङगोलामा हुर्किनुभयो, जहाँ पुग्न अहिले पनि जिल्ला सदरमुकामबाट चार दिन लाग्छ । बुबा सोनाम, नेपाल—तिब्बतबीच नुन, चामल, घोडा, च्याङ्ग्रा व्यापार गर्नुहुन्थ्यो । बुबाका ६ मध्ये तीन छोराछोरी कलिलैमा बिते । डाक्टर बन्ने सपना भएका उहाँ जन्मस्थान ताप्लेजुङको ओलाङचुगोलाबाट १५ दिन हिँडेर दार्जिलिङ पढ्न पुग्नुभयो । त्यहाँको मिसनरी स्कूल सेन्ट रोबट्र्समा भर्ना हुनुभयो । सन् १९६२ मा चीन—भारतबीच सीमा युद्ध भयो र ती युद्धसँगै दार्जलिङका स्कूल बन्द भए । उहाँलाई बुबाले काठमाडौँ ल्याउनुभयो र सिद्धार्थ वनस्थली स्कूलमा भर्ना गरिदिनुभयो । सन् १९७० मा सिद्धार्थ वनस्थली स्कूलबाट पहिलो श्रेणीमा एसएलसी पास हुनुभयो ।


त्रिचन्द्रमा आइएससी पढेपछि छात्रवृत्ति कोटामा एमबीबीएस पढ्न भारतको लखनऊस्थित किङ जर्ज मेडिकल कलेज पुगे । एमबीबीएस पास गरेपछि नेपाल आए र वीर अस्पतालमा जनरल फिजिसियनका रूपमा तीन वर्ष बिताउनुभयो । फेरि भारत जानुभयो र अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा एमडी पढ्न थाल्नुभयो । तीन वर्ष एम्समा पढेपछि १९८४ मा नेपाल फर्किनुभयो र त्रिपुरेश्वर आँखा अस्पतालमा जागीरे हुनुभयो ।

त्रिपुरेश्वर आँखा अस्पतालमा आठ वर्ष काम गरेपछि १९८७ मा एकवर्षे अध्ययन गर्न अस्ट्रेलिया जानुभयो । अस्ट्रेलिया बसेकै वेला उहाँलाई अमेरिका—युरोप—अस्ट्रेलियाबाट पनि कामका लागि प्रस्ताव आएको थियो । उहाँले ती प्रस्तावलाई हेर्नुभएन र नेपालमै आउनुभयो ।

उपलब्धी
उहाँले एउटा आँखा अस्पतालको सपना देख्नुभएको थियो । जसलाई अस्ट्रेलियाका डा.हलोजले साथ दिनुभयो । यो अस्पताल खोल्न अस्ट्रेलियास्थित फ्रेड हलोज फाउन्डेसन, नेपालका समाजसेवी तथा साहित्यकार जगदीश घिमिरे, कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, उद्यमी रवीन्द्र श्रेष्ठ, सुहृत घिमिरे, उद्योगपति दिवाकर गोल्छा, सगरमाथा आरोही शम्भु तामाङ र डा.रीता गुरुङलगायतले साथ दिनुभएको थियो । यसरी १९९४ जुनमा जन्मियो तिलगंगा आँखा केन्द्र जुन अस्पताल अहिले मानव संसाधन तालिम केन्द्र तिलगंगा आँखा प्रतिष्ठानको नामले परिचित छ ।


नेपालमा सन् १९९६ बाट अत्याधुनिक इन्ट्रा अकुलर लेन्स उत्पादन शुरु भएको हो । यहाँ पट्याउन हुने र नहुने गरी दुई प्रकारका लेन्सको उत्पादन हुने गरेको छ । यो अत्यधिक न्यून शुःल्कमा प्राप्त हुने गरेको छ । ‘नेपाल आँखाको नानी र आँखाको लेन्समा आत्मनिर्भर छ । नेपालमा उत्पादन भएको लेन्स विश्वका करिब ५२ वटा देशमा प्रयोग भइरहेको छ ।

सुझाव

‘अहिले हटाउन सकिने अन्धोपन (एभ्वाइडेबल ब्लाइन्डेस) न्युनिकरणमा धेरै सफलता मिलेको छ । यतिले मात्र सन्तोष गर्नुपर्ने अवस्था छैन ।’—डा.रूइत भन्नुहुन्छ—‘मुलुकमा आँखा स्वास्थ्यलाई अझ प्रभावकारी बनाउन दक्ष जनशक्तिको उत्पादनमा जोड दिनुपर्छ ।

भौगोलिक विकटताका कारण हिमाल, पहाड र भित्री मधेशमा आँखा सेवा पुग्न सकेको छैन । जनशक्तिहरुलाई तालिम दिएर क्षमता बढाउनुपर्छ । हरेक बच्चालाई विद्यालयमा भर्ना गर्ने बेलामा भर्ना फाराममा आँखा जाँच अनिवार्य गर्नुपर्छ । यसप्रति सरकारको ध्यान पुग्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्