Logo
|
Sunday 28th April 2024
Logo

epaper

अनियन्त्रित डायविटिजको आँखामा असरः डायवेटिक रेटिनोप्याथी

लक्षण, कारण, उपचार र रोकथाम



प्रा.डा. गोविन्द पौडेल, वरिष्ठ रेटिना सर्जन


डायवेटिक रेटिनोप्याथी अनियन्त्रित मधुमेह (चिनी रोग) भएका व्यक्तिहरूमा देखिने समस्या हो । डायबेटिक रेटिनोप्याथीको समस्या टाइप–१ र टाइप–२ दुवै मधुमेहका बिरामीलाई हुनसक्छ । तपाईलाई मधुमेह जति लामो समयदेखि हुन्छ, त्यति नै यसको जोखिम बढ्छ । यसले आँखाको पछाडि अवस्थित पर्दा (रेटिना) लाई असर गर्छ । डायबेटिक रेटिनोप्याथीको कारणले रेटिना सुन्निन्छ र रक्तश्राव पनि हुनसक्छ । यसले दृष्टिमा असर पुग्छ । लामो समयदेखि अनियन्त्रित मधुमेह भएकाहरूलाई डायवेटिक रेटिनोप्याथी हुने सम्भावना बढी हुन्छ । डायबेटिक रेटिनोप्याथी हाल विश्वमा अन्धोपनको प्रमुख कारण मानिएको छ । समयमै उपचार नगरे मानिस अन्धो हुनसक्छ ।

डायवेटिक म्याकुलर इडिमा मधुमेहले निम्त्याउने अत्यन्त जटिल अवस्था हो । जसमा रेटिनामा तरल पदार्थ जम्मा हुन्छ जुन मधुमेहका कारण स—साना रक्तकोशिका कमजोर हुँदा चिनी रोग लागेकाहरूमा दृष्टि गुम्ने खतरा अन्य व्यक्तिको तुलनामा बढी देखिएको छ । त्यसकारण समयमा आँखा रोग विशेषज्ञलाई भेट्न जरुरी पर्छ ।

डायवेटिक रेटिनोप्याथीका लक्षण

दृष्टिमा धमिलोपना, रङ छुट्याउन गाह्रो, दृष्टिमा चकिलोपनाको कमी, आँखा अगाडी काला वस्तुहरु (फ्लोटर्स) उड्ने, सिधा धर्काहरू बाङ्गो देखिने आदि ।

डायवेटिक रेटिनोप्याथीको कारण

डायबेटिक रेटिनोप्याथीको मुख्य कारण रेटिनामा रगत पु–याउने स्वस्थ्य नसाहरूमा क्षति हुनु हो । रगतमा चिनीको मात्रा बढी हुँदा स्वस्थ्य नसाहरू कमजोर र क्षतिग्रस्त हुन्छन् । रेटिनाले बिस्तारै सबै साना रक्तनलीहरू गुमाउन थाल्छ जसले गर्दा रेटिना कमजोर हुन्छ ।

कस्तो र कहाँ जाँच गराउने ?

मधुमेह भएका प्रत्येक व्यक्तिले वर्षमा एक पटक आँखाको नानी फुलाएर आँखा रोग विशेषज्ञबाट आँखाको पर्दा (रेटिना) को जाँच गराउनुपर्दछ ।

पर्दाको फोटो, पर्दाको स्क्यान आदि जाँचले डायवेटिक रेटिनोप्याथी भएनभएको र जटिलताको किसिमबारे जानकारी गराउँछ ।

के कस्ता उपचार विधि छन् ?

डायवेटिक रेटिनोप्याथीमा सुगर लेभल नियन्त्रण नै सबैभन्दा प्रमुख उपचार हो । यसका अलावा आँखामा नयाँ रक्तनली (नियोभास्कुलराइजेसन) पलाएमा लेजर गर्नुपर्छ । यसले रेटिनामा रगत जम्नबाट बचाउँछ । कतिपय अवस्थामा आँखामा इन्जेक्सन पनि लगाउनुपर्ने हुनसक्छ । ओसिटी स्क्यान हेरेर निर्णय लिनुपर्छ । जटिल अवस्थामा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ ।


लेजर फोटोकोगुलेसनः यो लेजर टेक्नोलोजीमा आधारित छ । लेजरको तापलाई रेटिनामा रहेका असामान्य रक्तनलीहरूलाई संकुचित गर्न वा नष्ट गर्न यो प्रयोग गरिन्छ । यो उपचारले रक्तसञ्चारमा सुधार गर्छ र रेटिनामा हुने क्षति रोक्न मद्धत गर्छ । यो सामान्यतया डायबेटिक रेटिनोप्याथी र म्याकुलर डिजेनेरेशन (एएमडी) जस्ता आँखाका रोगहरूको उपचारमा विशेषज्ञहरूद्वारा प्रयोग गरिन्छ ।

एन्टी—भीईजीएफ इन्जेक्सनः एन्टी—भीईजीएफ इन्जेक्सन (एक्सेन्ट्रिक्स/ राजुमाब/आइलिया/ओजुर्डेक्स) रेटिनाको सतहमा लगाउँदा डायवेटिक रेटिनोप्याथीको प्रभाव नियन्त्रण गर्न ठूलो मद्दत पुग्छ ।
भिट्रोरेटिनल आई सर्जरीः यदि रेटिनोप्याथीको समस्या बढेर लेजर विधिबाट उपचार सम्भव नभएमा शल्यक्रियाद्वारा रक्तकोषिकाको दाग हटाइन्छ ।

मधुमेह भएका प्रत्येक ३ मध्ये एक जनालाई डायवेटिक रेटिनोप्याथी हुनसक्छ । नेपालमा चिनी रोग भएकाहरूमध्ये लगभग १९% मानिसमा डायवेटिक रेटिनोप्याथी देखिने विभिन्न खोजहरूले देखाएका छन् । त्यसैले दृष्टिको समस्या नभएपनि वर्षमा एकपटक आँखाको पर्दा (रेटिना) जँचाउन अत्यन्त जरूरत पर्छ ।


डायवेटिक रेटिनोप्याथीबाट कसरी बच्ने ?

समय समयमा आँखाको रेटिना जाँच गराउनुपर्छ । यदि तपाईंलाई पाँच वर्षदेखि मधुमेह भएमा हरेक ६ महिनामा आँखा जाँच गराउनुहोस् । साथै मधुमेह हुने व्यक्तिले धुम्रपान बन्द गर्ने, प्रशस्त सागसब्जी खाने र शारीरिक व्यायाम गर्न जरूरी हुन्छ । यसले डायवेटिक रेटिनोप्याथी रोक्न मद्धत गर्छ । मोटोपनाले डायवेटिक रेटिनोप्याथी निम्त्याउने खतरा बढी भएकाले सक्रिय जीवनशैली निकै महत्वपूर्ण मानिन्छ । यसैगरी चिकित्सकले दिएको उपचार पालना गर्ने र नियमित फलोअपमा बस्नाले दृष्टि गुम्नबाट बचाउन सकिन्छ । एक पटक डायवेटिक रेटिनोप्याथी भइसकेपछि नियन्त्रणमा राख्न निकै मुस्किल पर्नसक्छ । सुगर लेभल पूर्ण रूपमा नियन्त्रण भएपनि रोग बढ्न सक्छ । त्यसैले नियमित जाँच, फलोअप र उपचार आवश्यक छ ।
(प्रा.डा. पौडेल तिलगंगा आँखा प्रतिष्ठान तथा मेट्रो आइकेयरमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्