आत्महत्या: कारण, लक्षण र रोकथामका उपाय
आज सेप्टेम्बर १०, अर्थात विश्व आत्महत्या रोकथाम दिवस । विश्वव्यापी रुपमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइंदैछ । यो वर्षको विश्व आत्महत्या दिवसको विषयवस्तु ‘Creating Hope Through Action’ अर्थात ‘कार्यद्वारा आशाको सृजना’ भन्ने नै छ । जुन सन् २०२१ देखि २०२३ सम्मको त्रिवर्षीय थिम रहेको थियो । यो विषयवस्तुले शक्तिशाली कार्य गर्नका लागि आवाजको रुपमा कार्य गर्दछ । ‘आत्महत्याको विकल्प छ र हाम्रो पहलबाट आशा बढाउने प्रोत्साहन गर्न तथा आत्महत्या रोकथामलाई अझै बलियो बनाउन सक्छौं’ भन्ने धारणामा काम गर्दछ भन्ने मान्यता राखेको छ । काम द्वारा आशा जगाएर हामीले आत्महत्या गर्ने विचार अनुभव गरिरहेका मानिसहरूलाई आशा छ है भनेर अझै संकेत गर्न सक्छौं । हामी उनीहरूलाई हेरचार तथा सहयोग गर्न सक्छौं भनेर पनि त्यसतर्फ संकेत गरेको छ । यो आत्महत्या रोकथाम दिवसको विषयवस्तुले हाम्रा प्रयासहरू साना वा ठूला जे भएता पनि संघर्ष गरिरहेकाहरूलाई आशा दिन सक्छौं, आत्महत्या रोकथाम जनस्वास्थ्यको प्राथमिकता हो र आत्महत्याको मृत्युदर घटेको सुनिश्चित गर्न तत्काल कदम चाल्न आवश्यक छ भनी सम्झाउने काम गर्दछ । यस किसिमको दिवसले आत्महत्या रोकथाममा ध्यान केन्द्रित गर्ने विश्वव्यापी प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ । साथै जनचेतना अभिवृद्धि गरी वर्षेनी अकालमा मृत्यु हुने लाखौँ मानिसको ज्यान जोगाउन सहयोग पुग्दछ ।
आत्महत्या के हो ?
सामान्यतया आफैंले आफ्नो हत्या गर्नु वा आफैंले आफैंलाई मार्नुलाई आत्महत्या भनिन्छ । धेरैजसो मानिसहरू मानसिक तनाव तथा पिडा खाप्न नसकेर आजित भैसेकेपछि मर्नुलाईनै अन्तिम विकल्प ठानी आत्महत्या गर्ने गर्दछन । आत्महत्या मान्छेको चरम मानसिक पीडाको अभिव्यक्ति पनि हो भन्न सकिन्छ । मानसिक पीडा मात्र नभई दिर्घरोगको कारणले शारीरिक पीडा तथा असहजतालाई झेल्न नसकेर पनि मान्छेले आत्महत्याको बाटो रोजेको पाइन्छ । आत्महत्यालाई सामाजिक, धार्मिक तथा कानुनी कुनैपनि रुपमा कुनै पनि समाजमा उचित मानेको र स्वीकारिएको पाइंदैन । अधिकांश देशमा त यसलाई सामाजिक–धार्मिक रुपमा पाप मानिन्छ भने कानुनी रुपमा अपराध समेत मानिन्छ । विश्वका २० भन्दा बढी देशमा आत्महत्यालाई गैर कानुनी मानिन्छ । नेपालमा पनि आत्महत्या गर्न दुरुत्साहन दिने र आत्महत्या गर्नुपर्ने परिस्थिति सिर्जना गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था“मुलुकी अपराध संहिता ऐन, २०७४” ले गरेको छ।
सन् २०१९ को विश्व स्वास्थ्य संगठनको तथ्याकं अनुसार हरेक वर्ष ७ लाख भन्दा बढी व्यक्तिको मृत्यु आत्महत्याद्वारा हुन्छ भने हरेक आत्महत्याका लागि २० भन्दा बढी आत्महत्याका प्रयासहरू भएका हुन्छन्। आत्महत्या जीवनको जुनसुकै बेलामा हुन्छ भने उक्त तथ्यांक अनुसार विश्वव्यापी रुपमा १५–२९ वर्षको उमेरमा मृत्युको प्रमुख कारण मध्ये आत्महत्या चौंथो कारण थियो । प्रत्येक १०० जनाको मृत्युमा एक जनाको मृत्य आत्महत्याबाट हुने गर्दछ ।
आत्महत्या संसारको जुनसुकै क्षेत्रमा पनि हुने गर्दछ ।७७५ आत्महत्या निम्न र माध्यम आयस्तर भएको मुलुकमा हुने गर्दछ । सन २०१९ को सर्वेक्षण अनुसार ५८५ आत्महत्या ५० वर्षको उमेर अगावै हुने गर्दछ । विश्वव्यापी आत्महत्या दर महिलाको तुलनामा पुरुषमा दोब्बर भन्दा बढी छ । आत्महत्याका कारण सबैभन्दा बढी मृत्यु न्यून र मध्यम आय भएका देशहरूमा हुने गर्छ । तर उच्चतम उमेर–मानकीकृत आत्महत्या दर (१०.९प्रति १००,०००) उच्च आय भएका देशहरूमा छ । आत्महत्याको प्रयास गरिसकेका मान्छेमा आत्महत्याद्वारा मृत्यु हुनमा पहिलेको प्रयास नै प्रमुख कारक हुन्छ । एक तथ्यांकअनुसार विश्वमा प्रत्येक ४० सकेन्डमा एक जना मान्छेले आत्महत्या गर्छन । एउटा व्यक्तिले आत्महत्या गर्दा अरु २५ जनाले प्रयास गरेका हुन्छन् भनिन्छ । त्यसैगरी एउटा व्यक्तिले आत्महत्या गर्दा उसको परिवार छरछिमेक र इष्टमित्र गरी ८० जना पीडाबाट गुज्रिन्छन भन्ने देखिएको छ । यसै कारण उनीहरुको पीडाप्रति संवेदनशील हुनुपर्छ । विभिन्न अनुसन्धानले देखाएअनुसार अनुसार आत्महत्या गर्ने व्यक्तिमध्ये ८०–९० प्रतिशतले कुनै न कुनै लक्षण देखाएको हुन्छ । डिप्रेसनबाट पीडित व्यक्तिको आत्महत्याले मृत्यु हुने सम्भावना यो विकार नभएको व्यक्तिको तुलनामा बीस गुणा बढी हुन्छ ।
आत्महत्याको पहिलो कारण मानसिक रोग वा समस्या हो भने दोस्रो चाहीं आवेगमा गरिने आत्महत्या हो । बालबालिकाको हकमा आवेगमा आएर वा कौतुहलताको कारणले पनि आत्महत्या भएको पाइएको छ । त्यसैले परिवारको सदस्य वा साथीभाइमा आत्महत्या सम्बन्धि कुनै पनि लक्षण देखिन थालेमा उक्त व्यक्तिलाई सहयोगको आवश्यकता छ भन्ने बुझ्नुपर्छ ।
के कारणले गर्छन् मानिसहरू आत्महत्या ?
आत्महत्याको मुख्य कारक तत्वको भनेको व्यक्तिको मनोवैज्ञानिक पक्ष हो । मनोवैज्ञानिक पक्षले आत्महत्यालाई एक किसिमको मानसिक विकार (रोग) को रुपमा लिन्छ । कुनै पनि व्यक्तिले आत्महत्या गर्नुमा कुनै एउटा कारक तत्वले मात्र काम नगरी विभिन्न कारक तत्वहरूको भूमिका रहेको हुन्छ । व्यक्तिले आत्महत्या गर्नुमा उसको जैविक, मनोवैज्ञानिक तथा सामाजिक पक्षमध्ये सबै पक्षको निर्णायक भूमिका रहन सक्छ । त्यसैले आत्महत्यालाई एउटा जटिल जैविक, मनोवैज्ञानिक तथा सामाजिक कारक तत्त्वको उपजको रुपमा लिन सकिन्छ । आत्महत्याको जोखिमलाई निम्न आयाममा रहेर त्यस अन्तरगतका कारक तत्वहरूलाई लिन सकिन्छ ।
सामाजिक कारण
फ्रान्सेली समाजशास्त्री इमाइल दुर्खिमाले सन् १८९७ मा आत्महत्याको सामाजिक सिद्धान्त समेत प्रतिपादन गरेका थिए । उनका अनुसार कुनै एक व्यक्ति जति धेरै सामाजिक रुपमा एकीकृत र जोडिएको छ, उसले आत्महत्या गर्ने संभावना कम हुन्छ र सामाजिक एकीकरण घट्दै जाँदा मानिसहरूले आत्महत्या गर्ने सम्भावना बढी हुन्छ । उनले आत्महत्यालाई सामाजिक दृष्टिकोणबाट व्याख्या गरेका थिए ।
आत्महत्याको सामाजिक कारण अन्तर्गत व्यक्तिको सामाजिक जीवनको पक्ष जोडिएको हुन्छ । सामाजिक पक्षमा व्यक्तिको धार्मिक, रहन सहन, संस्कार, आर्थिक अवस्था तथा व्यवहार, चालचलन आदि पर्दछन । त्यसो त व्यक्तिका सामाजिक पक्ष पनि उसको मनोवैज्ञानिक पक्षकै उपज हो ।
सामाजिक अपमान तथा बहिस्कार, आत्म सम्मानमा ठेस, लान्छना, बेइजती, सम्बन्ध विच्छेद, प्रियजनको विछोड वा मृत्यु, घरेलु हिँसा, पारिवारिक कलह, असफलता, बेरोजगारी, आर्थिक समस्या, यौन दूव्र्यवहार–बलात्कारका घटना, पारिवारिक इतिहास, बाल्यावस्थाको हुर्काइ, शिक्षा आदि जस्ता सामाजिक विषयसँग जोडिएका समस्याहरूले व्यक्तिको मनोसामाजिक स्वास्थ्यमा प्रत्यक्ष वा परोक्ष नकारात्मक प्रभाव पार्दछ र व्यक्तिको मानसिक स्वास्थ्यमा ह्रास आइ आत्महत्याको कारण बन्न सक्दछ ।
जैविक कारण
आत्महत्याका जैविक कारणमा विभिन्न स्नायु रसायनहरू जस्तै सेरोटोनिंन नामक रसायन कम उत्पादन हुनु वा उत्पादन भएको पनि ट्रान्सपोर्टर वा रेसेप्टरमा समस्या उत्पन्न हुनाले राम्रोसंग सन्चार हुन नसक्नु अर्थात सेरोटोनिनको मात्रा आवश्यक मात्रामा सन्तुलित नभई कमी हुनुले व्यक्तिमा भावना र संवेदना नियमनमा तथा व्यवहार नियन्त्रणमा कठिनाइ उत्पन्न हुन्छ र व्यक्तिमा आक्रामक तथा विध्वंशक आचरण बढ्छ । जसले उसलाई आत्महत्याको अवस्था सम्म पुर्याउन सक्छ । त्यसैले मस्तिष्तकमा सेरोटोनिनको कमीलाई पनि आत्महत्याको जैविक कारणमध्ये एउटा मुख्य र महत्त्वपूर्ण कारणको रुपमा लिइएको छ र यो विषयमा धेरै वैज्ञानिक खोज अनुसन्धान पनि भएको पाइन्छ । यसको अलावा पनि ग्लुटामेट, गाबा जस्ता स्नायु रसायनहरूलाई पनि प्रत्यक्ष अथवा सहायक कारक तत्वको रुपमा लिएको पाइन्छ । कतिपय अवस्थामा वंशाणुगत कारण तथा हर्मोनको असन्तुलन पनि आत्महत्याको कारण भएको पाइन्छ । परिवारमा आत्महत्याको इतिहास छ भने जोखिम रहन्छ तर त्यसले मात्र निर्धारण भने गर्दैन । त्यसै गरी उमेर समूहलाई पनि जैविक कारणको रुपमा लिइएको छ ।
मानसिक तथा मनोवैज्ञानिक कारण
विभिन्न अध्ययनहरूले आत्महत्याको प्रयास गर्ने वा आत्महत्या नै गर्ने व्यक्तिमध्ये झन्डै ९५ प्रतिशत व्यक्तिहरूमा कुनै न कुनै किसिमको मानसिक रोग रहेको हुन्छ भन्ने देखाएको छ । त्यसमध्ये पनि धेरै जसो व्यक्तिहरूमा आत्महत्याको मुख्य कारण उदासिनता वा डिप्रेसन रहेको पाइएको छ । बाँकी करिब ५५ प्रतिशत भने कहिलेकाहीं आवेगमा आएर आत्महत्याको प्रयास गर्ने वा आत्महत्या गर्ने गर्दछन । यसरी आवेगमा हुने आत्महत्या चाहीं अकस्मात हुने घाटनाले उत्पन्न गर्ने तनाव खप्न नसकेर वा व्यवस्थापन गर्न नसकेर हुने गर्दछ ।
मानसिक रोगले तुरुन्त आत्महत्या नभई विस्तारै नैराश्यता बढ्दै गई विस्तारै आत्महत्याको विचार आउँछ, त्यसपछि आत्म हत्याको योजना बनाउँछ अनि आत्महत्याको प्रयास गर्छ वा आत्महत्या गर्छ । त्यसैले व्यक्तिले आवेगमा आएर गर्ने आत्महत्या बाहेक मानसिक समस्याको कारणले गर्ने आत्महत्या सम्मको अवस्था विस्तारै विकास हुन्छ ।
व्यक्तिलाई यसरी आत्महत्याको अवस्थासम्म पुर्र्याउने मानसिक रोग (विकार)हरूमा डिप्रेसन, बाइपोलार डिसअर्डर, स्किजोफ्रेनिया, व्यक्तित्व विकार, लागू पदार्थ मादक पदार्थको प्रयोग र निर्भरता जस्ता मनोवैज्ञानिक तथा मानसिक विकारहरूको कारणले पनि आत्महत्याको व्यवहारलाई बढाउँछ र आत्महत्या गराउने कारण बन्दछ ।
कस्ता हुन्छन् आत्महत्या गर्ने मानिसका संभावित लक्षणहरू ?
बारम्बार नैराश्यता, एक्लोपान र फनादामा परेको अनुभाव भइरहनु, लागू औषध र मादक पदार्थ सेवन बढ्नु, निरन्तर छटपटी र व्याकुलता बढेको महसुस हुनु, निन्द्रामा गढबडी र भावनात्मक उतारचढाव हुनु, आत्महत्या गर्ने योजना बनाउनु, सामाजिक संजालमा आतामहत्या गर्ने विचार,योजना तथा निराशाजनक अभिव्यक्ति प्रकट गर्नु, भविष्य निराशाजनकरअन्धकार देख्नु, हेलचेक्र्याईपूर्ण व्यवहार देखाउनु र झनक्क रिसाउनु, आफ्ना निजि सरसामान आर्कालाई दिनु र सामाजिक क्रियाकलाप (भोज, मेला आदि), साथीभाई आदिबाट टाढा हुनु, कतै सुसाइट नोट लेखेको पाइनु र पहिले पनि आत्महत्याको प्रयास गरेको भए यसलाई पनि आत्महत्याको संभावित लक्षणको रुपमा लिएर गम्भिर रुपमा लिनुपर्दछ ।
आत्महत्या रोकथाममा कसले के भूमिका निभाउने ?
माथि नै उल्लेख गरिसकिएको छ कि आत्महत्याको कारण एउटा जटिल जैविक, मनोवैज्ञानिक र सामाजिक समस्याको कारणको परिणामले हुने भएकाले यसको रोकथाम पनि सरल नभई जटिल नै छ तर पनि सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने हो भने संभव छ । सर्वप्रथम त आत्महत्याको प्रमुख कारण नै मानसिक समस्या भएकोले व्यक्तिले आफ्नो मानसिक स्वास्थ्यको राम्रो ख्याल राख्नुपर्दछ । शारीरिक स्वास्थ्यलाइ जस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्दै स्वस्थ जीवनशैली अपनाउन पर्दछ । त्यसका लागि सकरात्मक सोच राख्ने, बिहानको ताजा हावामा हिड्ने, नियमित व्यायाम, योग ध्यान गर्ने, मन रमाउने क्रियाकलापमा व्यस्त रहने, अनावश्यक झन्झट र तनावपूर्ण जीवन नरोज्ने, सकभर प्राकृतिक भोजन र जीवनशैली अपनाउने गर्नुपर्दछ जसले व्यक्तिलाई शारीरिक रुपमा स्वस्थ र मानसिक रुपमा प्रफुल्लित बन्न सहयोग पुर्र्याउन छ ।
मानसिक स्वास्थ्यमा गढबढी उत्पन्न भएमा मानसिक स्वास्थ्य सेवा प्रदायक स्वास्थ्य संस्थाबाट समयमा नै उपचार गरी डाक्टर तथा मनोवैज्ञानिक, मनोविमर्शदाताको सल्लाह अनुसार अघि बढ्नु पर्दछ । जसले गर्दा झन्डै ९० प्रतिशत आत्महत्यालाई रोक्न सहयोग पुग्दछ ।
परिवारको भूमिका
आत्महत्याको मुख्य कारण मानसिक रोग तथा समस्याहरू भएको र कतिपय मानसिक समस्याको उत्पति पनि पारिवारिक वातावरण तथा गलत जीवंशैलीबाट हुने हुनाले परिवारको प्रत्येक सदस्य तथा बालबालिकाको मानसिक स्वास्थ्यप्रति परिवार नै सचेत हुनुपर्दछ । परिवारलाई स्वस्थ राख्नका लागि परिवारको मुख्य सदस्य तथा सबैको उचित भूमिका हुने हुँदा प्रत्येक सदस्यको मानसिक स्वास्थ्यको लागि जागरुक तथा संवेदनशील हुनुपर्दछ । जतन गर्दा गर्दै पनि कसैलाई मानसिक विचलन आएमा वा अस्वस्थ भएको पाइएमा तुरुन्त उपचारका लागि पहल गरिहाल्नुपर्दछ । यदि नरमाइलो महशुस भइरहन्छ, जिन्दगी नै व्यर्थ जस्तो लाग्छ ।
बाँच्नुको अर्थ नै लाग्दैन वा मरौं कि भन्ने महशुस भैरहन्छ भने तुरुन्त डाक्टर, स्वास्थ्यकर्मी वा मानोविमर्शदातासम्म गएर आफूलाई लागेको कुरा कुनै अप्ठ्यारो नमानी भन्नुपर्छ । यदि स्वास्थ्यकर्मीसम्म तुरुन्त पहुँच हुदैन भने सबै भन्दा मन मिल्ने, आफ्नो कुरा सुन्ने र बुझ्ने मान्छेलाई सो कुरा भन्नुपर्दछ ।
यदि परिवारको कुनै सदस्यले त्यस्तो कुरा गरेमा वा कुनै पनि लक्षण देखाएमा त्यसलाई खिस्सी गर्ने, वास्ता नगर्ने गर्नु हुँदैन, उसको कुरा सुनिदिनु पर्छ । आवश्यक समानुभूति दिंदै स्वास्थ्य कर्मी वा मानोविमर्शदातासम्म पहुँच पुर्र्याउन सहजीकरण गरिदिनुपर्छ ।
साथीभाई, छरछिमेक तथा समाजको भूमिका
धेरै जसो मानसिक समस्याभएका व्यक्तिलाई समयमै सहयोग गर्न सकिए प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ । यस्तो सहयोग परिवारका अलावा साथिभाइ र छरछिमेकले पनि उपलब्ध गराउन सक्छन् । आवश्यकता अनुसार मनोविमर्शदाता,मनोविद् र मनोचिकित्सकको समेत सहयोग लिन सकिन्छ वा लिन आवश्यक हुन्छ । टाउकोमा लाग्ने चोट, कुपोषण, लागुऔषध दुव्र्यसन, जीवनका नराम्रा भोगाइ, दुर्घटना, यातना, आघात, हिंसा आदि कारणले मनका भावना, सोच र व्यावहारमा असर लगातार रुपमा दुई हप्ताभन्दा बढी समय सम्म देखा परिरहेमा मानसिक स्वास्थ्य समस्या रहेको भन्न सकिन्छ । बालबालिका र किशोर किशोरी अवस्थादेखि नै मानसिक स्वास्थ्य समस्या हुने गर्दछ । विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्दा ५० प्रतिशत भन्दा बढी मानसिक स्वास्थ्य समस्या १४ वर्षको उमेर अगावै सुरु हुने गरेको पाइएको छ । प्रत्येक ५ मध्ये १ जना बालबालिका तथा किशोरकिशोरीमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या रहने गरेको देखिएको छ । यस्तो अवस्था आउन नदिन र आइ हालेमा पनि साथीभाई छरछिमेक तथा समुदायको जो कोही सदस्यले समानुभूति प्रकट गर्दै सहयोग गर्नुपर्दछ ।
सरकार वा राज्य तथा सरोकारवालाको भूमिका
प्रत्येक नागरिकको जनास्थ्यमा अभिभावकको रुपमा रहेको सरकारको प्रमुख भूमिका हुने गर्दछ । राज्यले लिएको नीति तथा उचित शासनप्राणाली र त्यसको चुस्त कार्यन्वनले जनताको शारीरिक मात्र नभई मानसिक स्वास्थको पनि निर्धारण गर्दछ । निस्पक्ष न्यायप्रणाली, सुशासन तथा समाजिक न्याय, जनताको जीवन स्तर उकास्ने किसिमको कार्यक्रमहरू भएमा जनाताको मानसिक स्वास्थ्यको अवस्था पनि राम्रो हुने हुँदा प्रकारान्तरमा आत्महत्या न्यूनीकरणमा पनि सहयोग पुग्दछ । त्यसको उल्टो दण्डहीनता, अन्याय, अत्याचार, बेथिति, भद्रगोल, बेरोजगारी, भ्रष्टाचार, राजनीतिक अस्थिरता आदिले जनताको मानसिक स्वास्थ्यमा प्रत्यक्ष रुपमा नकारात्मक असर गर्दछ । जसले गर्दा जनतामा नैराश्यता उत्पन्न हुन गइ जनता मानसिक समस्याको दलदलमा फस्ने हुनाले सराकाररराज्यले आवश्यक नीतिसहित मानसिक स्वास्थ्य र आत्महत्याको रोकथामका लागि केन्द्रदेखि स्थानीय तहसम्म प्रभावकारी कार्यक्रम ल्याउनु पर्दछ ।
आम जनताको मानसिक स्वास्थ्य जोगाउने, यदि रोग नै लागिहालेमा उपचारको पहुँच पुर्र्याउने, आत्महत्या रोकथामको बारेमा जनचेतना जोगाउने, यदि आत्महत्याको प्रयास भइहालेमा आकस्मिक सुरक्षा गर्ने जस्ता योजना, संयन्त्र, तथा आवश्यक जनशक्तिको व्यवस्थापन गर्दै सरोकारवालाहरूसँग सहकार्य गर्दै कार्य गर्नु पर्दछ ।
यस लेखका लेखक राम कृष्ण बोगटीले त्रिभुवन विश्व विद्यालयबाट क्लिनिकल साइकोलोजिमा मास्टर्स गर्नु भएको छ । लामो समयदेखि अध्यापन पेशामा रहनु भएका उहाँ मानसिक स्वास्थ्यको क्षेत्रमा पनि सरिक हुनुहुन्छ ।