नेपालगञ्जमा हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रम सुरु

नेपाल हेल्थ न्युज, नेपालगञ्ज । नेपालगञ्जमा हात्तीपाइले रोगविरुद्धको १४ औँ चरणको आम औषधी सेवन कार्यक्रम सुरु भएको छ। जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र चौधरी, नेपालगञ्जका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, मुस्लिम धर्मगुरु मौलाना जब्बार मन्जरी लगायतले औषधी सेवन गर्दै अभियानको सुरुवात गर्नुभएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ बाट सुरु भएको अभियानअन्तर्गत नेपालगन्जपछि डुडुवा र नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नं. ४ मा पनि औषधी सेवन कार्यक्रम सञ्चालन गरिनेछ। यी क्षेत्रमा हरेक वर्ष कभरेज कम भइरहेकाले पुनः औषधी सेवन गराउन थालिएको हो।
अभियानअन्तर्गत नेपालगञ्जमा १ लाख ६४ हजार ९६ जना, डुडुवा गाउँपालिकामा ४२ हजार ३६९ जना, नरैनापुर गाउँपालिकामा ४२ हजार १७४ जना र बैजनाथ गाउँपालिकाको वडा नं. ४ मा ९ हजार ३६४ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको बाँके स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभयो।
नेपालगञ्जमा हालसम्म १८.४५ प्रतिशत जनसङ्ख्याले औषधी नै नखाएको पाइएको छ भने नेपालगञ्ज, डुडुवा र नरैनापुर गाउँपालिकामा १.८ प्रतिशत मानिस फाइलेरियाबाट प्रभावित रहेका छन्।
नेपालले सन् २०२० भित्र हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य राखेको थियो, तर नसकिएपछि सन् २०३० सम्म लक्ष्य तोकिएको छ। सन् २०२५ भित्रै आम औषधी सेवन कार्यक्रम सक्नुपर्ने भएकाले नेपालगञ्जमा अभियानलाई प्रभावकारी बनाउन घरदैलो कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो।
सरकारले एक लाख मानिसलाई औषधी खुवाउन एक करोड रुपैयाँ खर्च गरिरहेको छ। तर, बिरामी हुँदा औषधी किनेर खानेहरूले अभियानका क्रममा औषधी सेवन गर्न अस्वीकार गरिरहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।