Logo
|
Thursday 26th December 2024
Logo

epaper

९१ वर्षीय प्रा.डा. दिनेश नाथ गोंगलको दिनचर्याः जसले भारु १ हजारमा एमबीबीएस पढे, मुलुकमा पहिलोपटक टाउको र मुटु खोले

आजकल भागवत अध्ययन र अध्यात्म योगमा दिन बित्छ



सन् १९६१ को डिसेम्बरमा त्रिभुवन राजपथमा सवारी दुर्घटनामा परेर हेड इन्जुरी भएकी एकजना केटीको वीर अस्पतालमा टाउको खोलेर शल्यक्रिया भएको थियो । नेपालमा पहिलोपटक टाउको खोलेर गरिएको शल्यक्रिया त्यो नै थियो । उक्त शल्यक्रिया गर्ने चिकित्सक थिए–प्रा.डा. दिनेशनाथ गोंगल । प्रा.डा.गोंगल नेपालमा पहिलोपटक टाउको मात्र नभई मुटु पनि खोल्ने डाक्टरको रूपमा परिचित हुनुहुन्छ । उहाँले जीवनकालभरी ४० हजारभन्दा बढी सफल शल्यक्रिया गर्नुभएको छ । नेसनल एकेडेमी फर मेडिकल साइन्सेस (न्याम्स) को संस्थापक निर्देशक समेत रहनुभएका प्रा.डा. गोंगल अहिले उमेरले ९१ वर्ष पुगिसक्नुभयो । अहिले उहाँ त्रिपुरेश्वरस्थित आफ्नै घरमा उत्तरार्ध जीवन विताइरहनु भएको छ । यद्यपी उहाँमा अझैपनि अस्पताल जाने भोक मरेको छैन । ‘ढाडको समस्याले गर्दा मात्र घरमा बस्न बाध्य भएँ । नत्र अस्पताल जाने अझैपनि काम गर्ने हुटहुटी छ,’—डा. गोंगलले जनस्वास्थ्य सरोकारसँगको भेटघाटमा बताउनुभयो । बाँकी दिनचर्या उहाँको आफ्नै शब्दमा ।


भागवत गीता अध्ययन
साधारणतया बिहान करिब साढे ४ बजेतिर निन्द्रा खुल्छ । बिहान ५ बजे रेडियोमा प्रशारण हुने ‘अध्यात्म योग’ कार्यक्रम नियमित सुन्छु । त्यसपछि नुहाएर दैनिक एक अध्याय भागवत गीता पढ्छु । वटुक भैरव र महाँकाललगायत देविदेवताको पुजापाठ गर्न छुटाउँदिन । युट्युबमा करिब ५० मिनेट जति कृष्णभजन, महादेव भजन सुन्ने दैनिकी जस्तै भएको छ ।

प्रा.डा. दिनेशनाथ गोंगल


खाना तालिका
८ बजेतिर ब्रेकफास्ट खान्छु । ब्रेकफास्टमा प्रायः एउटा उसिनेको अण्डा, एक पिस ब्रेड र कफी हुन्छ । उच्च रक्तचापको औषधि र क्याल्सियम सेवन गर्दै आएको छु । साधारण एक्सरसाइज र फिजियोथेरापी गर्न पनि छुटाउँदिन । मध्यान्ह १२ बजे तिर खाना खान्छु । खानामा नियमित दाल, भात र तरकारी हुने गर्छ । कहिलेकाहीँ मासु पनि खान्छु ।

दिउँसो १ बजेपछि पुनः भागवत गीता महापुराण एकदुई अध्याय पढ्छु । दिउँसो ३ देखि ४ बजेतिर खाजा खान्छु । खाजामा चिया, बिस्कुट, कहिलेकहीँ सुप हुन्छ । केहि समय बूढाबूढी गफगाफ गर्छौँ । कहिलेकाहीँ आफन्तहरू भेटघाट गर्न आउँछन् । बेलुका साढे ७ बजे खाना खाइन्छ । बेलुका ९ बजे तिर ओछ्यानमा जान्छु ।


नेपाली न्युज च्यानल हेर्दिनँ
साधारणतया बीबीसी, अलजजिरा, सिएनएन र कहिलेकाहीँ इन्डियन न्युज च्यानल हेर्छु । बढ्दो महँगी र सर्वसाधारणको कष्टकर जीवनयापन देख्दा विरक्त लाग्छ । नेपाली च्यानलमा जतिबेला पनि राजनीतिक खिचातानी, कुर्सी काण्ड, तस्कर काण्डलगायतका समाचार मात्र आइरहने भएकाले खासै उपलब्धीमुलक लाग्दैन ।


परिवार
परिवारमा तीन छोरा र एक छोरी छन् । श्रीमती कमला गोंगल, जेठो छोरा प्रा.डा.राजेशनाथ गोंगल (भाइस चान्सलर पाटन एकेडेमी अफ हेल्थ साइन्स) सँगै छन् । कान्छो छोरा शैलेसनाथ गाेंंगल (इन्जिनियर) बाहिर छन् । माइलो छोरा सुदेशनाथ गोंगल अमेरिकाको टेक्सासमा आइटी इन्जिनियर र छोरी संगिता गोंगल मुल (गृहिणी) विहेपश्चात् थापाथलीमा बस्छिन् । बुवा कृष्ण बहादुर गोंगल र आमा भूमती गोंगलको जेष्ठ सुपुत्रको रूपमा मेरो जन्म भएको हो । कान्छो भाइ र एक बहिनीको निधन भइसक्यो । दुइजना बहिनी जीवित छन् ।

पाँच वर्षको उमेरमा डिप्थेरिया
मलाई पाँच वर्षको उमेरमा ‘डिप्थेरिया’ भन्ने रोग लागेको रहेछ । यो बालबालिकाका लागि घातक मानिन्छ । यसले बिरामीको घाँटी र मुटुमा गम्भीर असर पु¥याएर ज्यान समेत लिनसक्छ । त्यसबेला रोगको कुनै खोप वा औषधि विकास भइसकेको थिएन । औषधिको नाममा एउटा सिरफ दिइन्थ्यो । तर पनि डा. जितसिंह मल्लले मेरो राम्रो उपचार गर्नुभएछ र यसबाट उम्कन सफल भएछु ।


एक हजार भारूमा एमबीबीएस
मेरा हजुरबुवा र बुबा छोराछोरीको पढाइ र उज्वल भविष्यका लागि तानसेनबाट काठमाडौं बसाइ सर्नुभयो । म पढाइमा सानैदेखि अब्बल थिएँ । बुबाले मलाई डाक्टर बनाउने सपना देख्नुभएको थियो । उहाँबाट नै डाक्टरी पढ्ने प्रेरणा पाएँ ।

जिपी स्कुलबाट औपचारिक शिक्षा, त्रीचन्द्र कलेजबाट आइएस्सी र बीएसस्सी अध्ययन पूरा गरेपछि एमबीबीएस अध्ययन गर्न वि.सं. २००७ सालमा भारतको दरभंगा गएँ । त्यतिबेला एमबीबीएस पढ्न वर्षको एक हजार (भारू) लाग्थ्यो । पाँचवर्षे कोर्ष हुन्थ्यो । तर कलेजले ४ वर्षको शुल्क लिएन । वि.सं २०१२ सालमा एमबीबीएस सकिएपछि एकवर्ष भारतमै काम गरेँ ।

वि.सं २०१३ सालमा नेपाल फर्किएँ र लोक सेवा परीक्षा पास गरेर पाटन अस्पतालमा काम गर्न थालेँ । वि.सं २०१५ सालमा एमडी अध्ययनका लागि बम्बई जाने अवसर मिल्यो । तीन वर्षे एमडी कोर्ष सकेर वि.सं २०१८ मा काठमाडौं फर्किएँ । त्यसपछि निरन्तर बिरामीहरूको सेवामा लागेँ ।

पाँच वर्षको उमेरमा डिप्थेरिया
मलाई पाँच वर्षको उमेरमा ‘डिप्थेरिया’ भन्ने रोग लागेको रहेछ । यो बालबालिकाका लागि घातक मानिन्छ । यसले बिरामीको घाँटी र मुटुमा गम्भीर असर पु¥याएर ज्यान समेत लिनसक्छ । त्यसबेला रोगको कुनै खोप वा औषधि विकास भइसकेको थिएन । औषधिको नाममा एउटा सिरफ दिइन्थ्यो । तर पनि डा. जितसिंह मल्लले मेरो राम्रो उपचार गर्नुभएछ र यसबाट उम्कन सफल भएछु ।


पहुँच बाहिर न्युरो सेवा
विगतको तुलनामा नेपालमा न्युरो सर्जरीको विकास र विस्तार राम्रोसँग फस्टाएको देखिन्छ । विशेषज्ञ चिकित्सकको संख्या बढ्दो छ ।

एड्भान्स्डमेन्ट र मोर्डनाइजेसन टेक्नोलोजीका कारण देशमा न्युरो सर्जरी विधाले फड्को त मारेको छ । तर अफसोच ! न्युरो सेवा सर्वसाधारणको पहुँचभन्दा बाहिर छ । यसमा सरकारको संलग्नता छैन । राज्यले ध्यान नपुर्याउँदा सर्वसाधारणलाई न्युरो उपचार सेवा लिन कठिन भएको छ ।

यसका लागि राज्यले ठोस कदम चाल्नुपर्ने देखिन्छ । मेडिकल उपकरण खरिदमा विशेष सहुलियत दिनुपर्दछ । स्वास्थ्य बिमाको दायरा बढाउनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्