Logo
|
Saturday 27th July 2024
Logo

epaper

अटिजमको समस्या गाउँमा भन्दा सहरमा बढीः देशभर ४ हजार ८८६ जना अटिजमबाट ग्रसित

'अटिजम रोग नभई समस्या हो, विभिन्न थेरापी तथा पुनर्स्थापनाले सुधार गर्न सकिन्छ'



सांकेतिक तस्बिर

जनस्वास्थ्य सरोकार, चितवन । बागमती प्रदेशमा एक हजार दुई सय ५३ जना अटिजम समस्याबाट ग्रसित छन् । तीमध्ये काठमाडौँमा चार सय ९५, चितवनमा एक सय १३, ललितपुरमा ८३, भक्तपुरमा ७८ र मकवानपुरमा ७७ जना रहेका छन् । त्यसैगरी, काभ्रेमा ७५, धादिङमा ७०, नुवाकोट र सिन्धुलीमा ६५/६५, सिन्धुपाल्चोकमा ५४, दोलखामा ३३ र रसुवामा १७ जना छन् ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले यहाँ आयोजना गरेको अटिजमसम्बन्धी कार्यशाला गोष्ठीमा दिइएको तथ्याङ्कअनुसार नेपालमा हाल अटिजम समस्याबाट ग्रसित चार हजार आठ सय ८६ जना रहेका छन् ।

मन्त्रालयका विज्ञ चिकित्सक डा. शाकार खनालका अनुसार विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कलाई आधार मान्ने हो भने एक सयमा एक जनामा गरी करिब तीन लाख जनामा यो समस्या रहेको अनुमान गरिएको छ ।

एकजना महिला बराबर चारजना पुरुषमा यो समस्या हुने देखिएको उहाँले जानकारी दिनुभयो– “भौगोलिक अवस्थाअनुसार हिमालमा तीन सय २८, पहाडमा दुई हजार दुई सय २९, तराईमा दुई हजार तीन सय २९ जनामा यो समस्या रहेको छ ।”

अटिजमको समस्या गाउँमा भन्दा सहरी क्षेत्रमा बढिरहेको कार्यक्रममा जानकारी दिइयो । गाउँमा एक हजार सात सय २८ र सहरमा तीन हजार एक सय ५८ जनामा यो समस्या देखिएको तथ्याङ्कमा उल्लेख छ ।

अटिजम केयर नेपाल सोसाइटीका सुरेन्द्र बज्राचार्यका अनुसार अटिजम रोग नभई समस्या हो । नेपालमा अटिजम भएको १८ महिनादेखि पत्ता लाग्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– “विश्वका विभिन्न देशमा ६ महिनादेखि समस्या पत्ता लगाउने गरेको भए पनि नेपालमा भने १८ महिनापछि मात्र पत्ता लाग्ने गरेको छ ।”

नेपालमा रहेका अपाङ्गहरुमध्ये ०.८० प्रतिशत अटिजमका रहेको जनाउँदै उहाँले अटिजम जन्मजात आउने अवस्था रहेको बताउनुभयो । यो समस्या वंशाणुगत, वातावरण र सङ्क्रमण्का कारणले हुने गर्दछ ।

यसको अहिलेसम्म उपचार नभएको जनाउँदै उहाँले विभिन्न किसिमको थेरापी तथा पुनर्स्थापनाले सुधार गर्न सकिने जानकारी दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य सचिव दीपक तिवारीले अटिजम भएकाको विषयमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकारले पहिलोपटक प्रयास गरेको बताउनुभयो । यस प्रकारका कार्यक्रमले सरकारका भावी कामहरु र वास्तविक तथ्याङ्क सङ्कलनमा सहज हुने उहाँको भनाइ थियो ।

गोष्ठीमा प्रदेशभित्र रहेका स्वास्थ्य संस्थाका प्रतिनिधि एवं अटिजम क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घसंस्थाको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्