Logo
|
Saturday 27th July 2024
Logo

epaper

बजेट अभाव हुँदा रोकियो कुष्ठरोग निवारण अभियान



जनस्वास्थ्य सरोकार, बाँके । जिल्लामा बजेट अभावका कारण कुष्ठरोग निवारण अभियान प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखामा कुष्ठरोग निवारणका लागि अभियान सञ्चालन गर्न बजेट नभएपछि अभियानका काम रोकिएको हो ।

उक्त कार्यालयका क्षय कुष्ठ स्रोतव्यक्ति रवीन्द्र साहले रोग निवारण अभियानका लागि बजेट नभए पनि स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रमका लागि भने प्राविधिक सहयोग गर्दै आएको बताउनुभयो । उहाँले अभियान सञ्चालन गर्नका लागि बजेट नभएकाले बिरामी खोजपडताललगायत गतिविधि अगाडि बढाउन नसकिएको उल्लेख गर्नुभयो । जिल्ला स्वास्थ्य कार्यालय मात्रै नभएर स्थानीय तहमा समेत कुष्ठरोग निवारणका लागि बजेट छैन ।

जानकी गाउँपालिका स्वास्थ्य शाखा संयोजक दलबहादुर रानाले विगतको तुलनामा रोगीको सङ्ख्या कम भए पनि रोग निवारणको लक्ष्य भेटाउन सबैले आ–आफ्नो क्षेत्रबाट प्राथमिकताका साथ लाग्न जरुरी भएको उल्लेख गर्नुभयो ।

नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले कुष्ठरोगको निवारण चुनौतीपूर्ण रहेको बताउनुभयो । समाजमा अहिले पनि रोगीहरू लुकेर बसेको हुनसक्ने भएकाले खोजीका लागि शिविर सञ्चालनको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जिल्लामा कुष्ठरोग निवारणका लागि आवश्यक बजेट विनियोजन गर्न आफूले स्थानीय तहसँग पहल र सरोकारवाला निकायबिच थप सल्लाह गरिने बताउनुभयो ।

जिल्लामा आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालले कुष्ठरोगीको खोजपडताल र उपचार गर्दै आएको छ । गत आर्थिक वर्षमा एक सय २६ कुष्ठरोगीको पहिचान भएको अस्पतालका प्रमुख मङ्गलबहादुर थारुले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिचान भएकामध्ये ५५ बाँकेका र २७ बर्दिया जिल्लाका रहेका छन् । अन्य बिरामी लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका छन् । नयाँ कुष्ठरोगीमा बालबालिका पनि परेका छन् । आफू कहाँ आएका बिरामीका साथै ठाउँ-ठाउँमा शिविर सञ्चालन गरेर कुष्ठरोगीको खोजपडताल गर्दै आइएको अस्पतालका प्रमुख थारुले बताउनुभयो । उक्त अस्पतालमा अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा एक सय ५७ जना कुष्ठरोगीको पहिचान भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्