Logo
|
Saturday 27th July 2024
Logo

epaper

प्राकृतिक चिकित्सालयः वार्षिक २० हजार बिरामी पुग्छन् तातोपानी



जनस्वास्थ्य सरोकार, गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानी कुण्डमा डुबेर प्राकृतिक उपचार गराउन र नुहाउन विभिन्न ठाउँबाट वार्षिक २० हजारभन्दा बढी बिरामी आउने गरेका छन् ।

प्राकृतिक चिकित्सालयको नामले परिचित यो कुण्डमा पुस पहिलो सातादेखि दैनिक पाँच सयभन्दा बढी बिरामीलगायत अन्यले डुबेर उपचार गराइरहेका कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो ।

अहिले दैनिक पाँचसय बिरामी, सर्वसाधारण तथा पर्यटकले पनि स्नान गर्दै आइरहेका छन् । तातोपानी रहेको मुख्य कुण्डमा नियमित चार सय बिरामीले र बाहिरको पोखरीमा एक सय सर्वसाधारण र पर्यटकले स्नान गर्ने गरेको उनको भनाइ थियो । सदरमुकाम बेनीबजारदेखि नौ किलोमिटर पश्चिममा पर्ने तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा देशविदेशमा चर्चित छ । यहाँ एक हप्तादेखि १२ दिनसम्म डुबेपछि रोग निको भएको सम्बद्ध बिरामीले बताए ।

विभिन्न नाम चलेका अस्पतालमा उपचार गराएर निको नभएका बिरामीसमेत पछिल्लो समय तातोपानीमा आउन थालेका अध्यक्ष खड्काले बताउनुभयो ।

विगत १३ वर्षदेखि ढाड र घुँडा दुख्ने समस्याबाट ग्रसित बागलुङ अमलाचौरका ६३ वर्षीय डण्डपाणि चापागाईंले विगत तीन वर्षदेखि हिउँदयाममा तातोपानीमा डुब्न आउने गरेको बताउनुभयो ।

“काठमाडौँ र पोखराका धेरै अस्पतालमा उपचार गराएँ तर निको भएन, तीन वर्षअघिदेखि तातोपानीमा आएर १०–१२ दिन डुब्ने गरेको छु । पोहोर सालभन्दा अहिले दुखाइ कम भएको छ”, उहाँले भन्नुभयो ।

विगत तीन वर्षदेखि वर्षमा एकपटक कुण्डमा आएर डुब्ने गरेका डण्डपाणि तातोपानीमा डुबेर नै रोग निको हुनेमा विश्वस्त रहेका छन् । यहाँ हरेक वर्ष स्वदेश तथा विदेशबाट २० हजारको हाराहारीमा बिरामी डुब्न आउने गरेका कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले बताउनुभयो ।

कुण्डमा डुब्न तथा स्नान गर्नका लागि नेपालको अधिकांश जिल्लासहित छिमेकी देश भारत र तेस्रो मुलुक जापान, कोरिया, युरोपलगायत देशका नागरिक पनि भ्रमणका क्रममा आएर नुहाउने गरेको उहाँको भनाइ थियो ।

जमिनमुनिबाट ४८ डिग्री सेन्टिग्रेडको तापक्रममा बिरेनुनको स्वादमा निस्कने तातोपानी कुण्डमा डुबुल्की मारेपछि ग्याष्ट्रिक, बाथरोग, घाउखटिरा, गानोगोला, युरिकएसिड, हाडजोर्नी दुख्ने, हड्डीको दुखाइ, नशा च्यापिएको, बज्रिएको सड्किएको, मर्किएकोसहित चिसोबाट उत्पन्न सबै प्रकारका रोग निको हुने जनविश्वास रहेको छ ।

पछिल्लो समय कुण्डमा बिरामीलाई लक्ष्य गर्दै विभिन्न किसिमका भौतिक पूर्वाधार निर्माण गरिएको छ । व्यवस्थापन समितिले कुण्डमा स्नान गर्नकै लागि भनेर सहज व्यवस्था गरेको छ । तातोपानीको मुख्य पोखरीमा स्नान गर्न प्रतिव्यक्ति रु तीन सय ५० र बाहिरको पोखरीमा प्रतिव्यक्ति रु एक सयको टिकटको व्यवस्था गरिएको छ ।

रु तीन सय ५० को टिकट लिएका बिरामीले पालोअनुसार एक हप्तासम्म नुहाउन पाउँछन् भने बाहिरको पोखरीमा रु एक सयको टिकटले दुई घण्टा नुहाउन पाइन्छ । कुण्डको आम्दानी कुण्ड परिसरमा संरचना निर्माण, कर्मचारी व्यवस्थापन, स्थानीय सरस्वती माविका पाँच शिक्षकको तलबभत्तामा लगानी र बेनी नगरपालिकालाई २५ प्रतिशत दिने गरिएको छ ।

कुण्डमा नुहाउन शुक्रबार, शनिबार र बिदाका दिन भीड लाग्छ । कुण्डमा एकपटक आएर डुबेका बिरामी निको भएपछि पटकपटक आउने गरेका छन् । विसं २०४२ मा फेला पारिएको तातोपानीको मुहानलाई स्थानीय बासिन्दाले संरक्षणसहित र कुण्डको रुप दिएर प्रचारप्रसार गरेपछि अहिले नेपालकै प्राकृतिक उपचार केन्द्रका रुपमा स्थापित भएको हो ।

जिल्लाका विभिन्न ठाउँमा १४ ओटा तातोपानीका कुण्ड रहेकामा सिङ्गा तातोपानी बिरामीको उपचारका लागि प्राकृतिक चिकित्सालयको नामले चिनिन्छ भने अरु ठाउँका तातोपानी पनि पर्यटक र स्थानीयवासीको थकान मेटाउने र चिसो भगाउने स्थलको रुपमा चिनिएका छन् ।

प्रतिक्रिया दिनुहोस्