Logo
|
Saturday 27th July 2024
Logo

epaper

स्वास्थ्य बीमा गर्नेलाई बहिरङ्ग र इमर्जेन्सी सेवाको टिकट शुल्क घट्यो

बहिरङ्ग र इमर्जेन्सी सेवामा घटाइएको शुल्क माघ ८ गतेदेखि लागू हुने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले अस्पतालको बहिरङ्ग र इमर्जेन्सी सेवा टिकटमा लाग्ने शुल्क घटाउने निर्णय गरेको छ ।

बीमितको आर्थिक अवस्थालाई ध्यान दिँदै अस्पतालमा लाग्ने बहिरङ्ग र इमर्जेन्सी सेवाका लागि लाग्ने टिकट शुल्क घटाउने निर्णय भएको स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले बताउनुभयो । उहाँका अनुसार बहिरङ्ग सेवा ५० रुपैयाँ र इमर्जेन्सी सेवाबापतको शुल्क एक सय रुपैयाँ कायम गर्ने निर्णय भएको छ ।

बहिरङ्ग सेवा र इमर्जेन्सी सेवामा घटाइएको शुल्क यही माघ ८ गतेदेखि लागू हुने उहाँले बताउनुभयो । यसअघि बहिरङ्ग सेवा शुल्क एक सय र इमर्जेन्सी सेवा शुल्क चार सय रुपैयाँ थियो ।

स्वास्थ्य बीमा नवीकरण गरेका तर वर्षभरीमा कुनै पनि स्वास्थ्य बीमा सुविधा उपभोग नगरेका वीमितलाई नवीकरण गर्दा १० प्रतिशत रकम छुट गरिएको पनि उहाँले बताउनुभयो ।

यस्तै, स्वास्थ्य बीमा कार्यक्रममा दर्ता भएपछि सेवा शुरु हुने समय तीन महिनाको रहेकामा त्यसलाई घटाएर दुई महिना कायम गरिएको छ ।

पाँच जनाको परिवारसम्म सदस्य भएका परिवारले वार्षिक तीन हजार पाँच सयको योगदान रकम तिरेपछि एक लाखसम्मको सुविधा लिनसक्ने व्यवस्था रहेको छ । अहिलेसम्म कूल ७४ लाख ६६ हजार सात जना बीमामा आबद्ध रहेका र तीमध्ये ३४ लाख ७६ हजार सात सय ७८ जनाले बीमा कार्यक्रममार्फत स्वास्थ्य सेवा लिएका तथा ४८ लाख ५९ हजार पाँच सय १५ वीमितले नवीकरण गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्