Logo
|
Saturday 22nd June 2024
Logo

epaper

विवाहपूर्व नै डिम्ब र शुक्रकीट सुरक्षित राख्न चाहने महिला पुरुषको सङ्ख्या बढ्दै

सम्भावित सन्तान कसरी जोगाएर राखिन्छ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । ढिलो सन्तान जन्माउन चाहने वा स्वास्थ्य समस्याका कारण वा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताका कारण डिम्ब र शुक्रकीटलाई जोगाएर राख्ने क्रम पछिल्ला वर्षमा बढ्दै गएको चिकित्सकहरूले बताएका छन्।

राजधानी काठमाण्डूलगायत देशका ठूला सहरहरूमा त्यस्तो सेवा दिने सेन्टरहरू पनि विस्तार भइरहेका छन्।

फर्टिलिटी सेन्टर वा आइभीएफ क्लिनिक नाम दिइएका त्यस्ता केन्द्रहरू पछिल्ला वर्षहरूमा बढ्दो सङ्ख्यामा सञ्चालनमा छन् जहाँ निस्सन्तान जोडीले सन्तान जन्माउनका लागि गरिने उपचार मात्रै नभई विवाहपूर्व नै आफ्नो डिम्ब वा शुक्रकीट भविष्यका लागि सञ्चित गरेर राख्न चाहनेहरू पनि जाने गरेका छन्।

त्यस्तो सेवा लिन पुग्ने सेवाग्राहीहरूले किन र के कारणले डिम्ब र शुक्रकीट भण्डारण गर्न चाहेका छन् भनेर हामीले काठमाण्डूमा सञ्चालित केही त्यस्ता केन्द्रमा सेवा लिइरहेका सेवाग्राहीबारे बुझेका छौँ। तर तीमध्ये अधिकांशको अनुरोध अनुसार हामीले उनीहरूको परिचय गोप्य राखेका छौँ।

कस्ता महिला पुरुष प्रजनन क्षमता जोगाउन आउँछन्?

अस्ट्रेलियामा बस्दै आएकी २३ वर्षीया मञ्जु गुरुङ (नाम परिवर्तन) ले जब आफ्नो शरीरमा एउटामात्रै डिम्बाशय छ भन्ने थाहा पाइन् उनलाई भविष्यमा आफूमा गर्भाधान गर्न कठिनाइ हुन सक्छ भन्ने चिन्ता लाग्यो।

उनले अस्ट्रेलियामा हुँदा नै एग फ्रीजिङ अर्थात् केही डिम्ब झिकेर त्यसलाई वर्षौँसम्म चिस्याएर राख्न सकिन्छ र आवश्यकता अनुसार भविष्यमा प्रयोग गर्न सकिन्छ भन्नेबारे थाहा पाएकी थिइन्।

त्यही क्रममा काठमाण्डू आएर उनले एउटा फर्टिलिटी सेन्टरमा आफ्नो डिम्बरअण्डा शरीरबाट निकालेर नाइट्रोजन लिक्विडमा राख्ने प्रक्रिया अपनाइन्।

अन्य महिलाहरूभन्दा आफ्नो शरीरमा विरलै देखिने समस्या छ भन्ने थाहा पाएका कारण उनले विवाहपूर्व नै भविष्यमा बाँझोपन नदेखियोस् भनेर डिम्ब फ्रीज गरेकी थिइन्।

गत वर्ष उनै मञ्जु २६ वर्षकी हुँदा आफ्ना पतिसँग नेपाल आइन् र आफूले तीन वर्षअघि राखेको डिम्ब र आफ्ना पतिको शुक्रकीटबाट भ्रूण बनाइ गर्भमा राखेर अस्ट्रेलिया फर्किइन्।

त्यतिबेला झिकिएका आठ डिम्बमध्ये अझै केही फ्रीज गरेकै अवस्थामा रहेको मञ्जुको डिम्ब राखेको आइभीएफ क्लिनिकले जनाएको छ।

उनले भविष्यमा अर्को सन्तानको चाहना भए पनि २३ वर्षकै उमेर हुँदा निकालिएको डिम्बको प्रयोग गर्ने इच्छा देखाएका कारण बाँकी डिम्ब सञ्चित अवस्थामै राखिएको उक्त आइभीएफ क्लिनिकले जनाएको हो।

पश्चिम नेपालका २१ वर्षीय सुजन केसी (नाम परिवर्तन) को उपचारका क्रममा जब उनको शरीरमा दोस्रो चरणको क्यान्सर छ भन्ने थाहा भयो, भक्तपुरस्थित क्यान्सर अस्पतालका एक डाक्टरले उनलाई आफ्नो शुक्रकीट भण्डारण गर्न सुझाए।

क्यान्सर निको पार्नका लागि आवश्यक पर्ने किमोथेरापी दिनुअघि डाक्टरले सुजनलाई शुक्रकीट चिस्याएर भविष्यका लागि साँच्न सुझाए।

सुजनका पितालाई डाक्टरको सुझाव चित्त बुझ्यो र उनी काठमाण्डूको एउटा फर्टिलिटी सेन्टरमा छोरालाई लिएर गए।

“किमोथेरापी दिँदा त्यसले प्रजनन क्षमतामा असर पर्ने हुँदा हिजोआज डाक्टरहरूले बिरामीलाई आफ्नो शुक्रकीट वा डिम्बलाई चिस्याएर भविष्यका लागि राख्न सुझाउने गर्नुहुन्छ,” स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा प्रजनन विज्ञ डाक्टर सुमी मुननकर्मीले भनिन्।

यसरी बाध्यताका कारण मात्रै नभई स्वेच्छाले नै शुक्रकीट वा डिम्ब फ्रीज गर्न आउने सेवाग्राहीको सङ्ख्या पछिल्लो समय बढेको चिकित्सकहरू बताउँछन्।

प्रियङ्का चोपडा, एकता कपूर, डायना हेडेन, मोना सिंह, गायिका सलिन डियोनजस्ता हलिवुड र बलिवुडका केही चर्चित सेलिब्रिटीहरूले पनि विवाहपूर्व नै आफ्नो डिम्ब फ्रीज गरेर राखेको भन्ने विषय केही समयअघि ठूलो समाचारको शीर्षक बनेका थिए।

नेपालमा सेलिब्रिटीले नै डिम्ब फ्रीज गरेको भन्ने सार्वजनिक नभए पनि खासगरी विदेशमा रहने नेपाली वा नेपालमै लिभिङ टुगेदरमा रहेका जोडीहरू यसबारे परामर्श लिन आउने गरेको चिकित्सकहरू बताउँछन्।

त्यस्तै एउटा जोडी हो २६ र २७ वर्षका सन्ध्या र सुदीपको। २६ र २७ वर्षका सुदीप र सन्ध्या लिभिङ टुगेदर (विवाह नगरे पनि सँगै बस्ने जोडी) मा बस्थे।

परिवारलाई थाहा नदिई उक्त जोडीले पाँच वर्षका लागि आफ्नो शुक्रकीट र अण्डा फ्रीज गरेका छन्। सन्ध्या अहिले विदेशमा छिन्। तर उनी बेलाबेला अस्पतालका सम्बन्धित कर्मचारीसँग आफ्नो डिम्बको अवस्थाबारे जिज्ञासा राख्छिन्।

अस्पतालका ती कर्मचारीले भनिन्, “बेलाबेला सम्पर्कमा आउनुहुन्छ। महिलाले ह्वाटस् एपबाट सोध्नु हुन्छ। विवाह नभएका कारणले उहाँहरूले अण्डा र शुक्रकीट छुट्टै छुट्टै फ्रीज गराउनुभएको छ।”

अहिले कानुनी व्यवस्था स्पष्ट नभएका कारण विवाह नभएको जोडीको हकमा भ्रूण नै बनाएर फ्रीज गर्ने नगरेको फर्टिलिटी सेन्टरहरूले जानकारी दिएका छन्।

विवाह भएका तर सन्तान जन्माइहाल्ने योजना नभएका जोडीले भने भ्रूण बनाएर अनि फ्रीज गर्ने गरेको उनीहरूले जानकारी दिएका हुन्।

सन्ध्या र सुदीपको विवाह हुने नहुने निश्चित नभएका कारण र भए पनि ढिला बच्चा जन्माउने योजना सुनाएर उनीहरूले डिम्ब र शुक्रकीट छुट्टाछुट्टै फ्रीज गरेर राखेका छन्।

समयमै अण्डा वा शुक्रकीट फ्रीज नगरेकोमा पछुतो
मञ्जु, सुजन, सन्ध्या र सुदीप (सबै नाम परिवर्तन) को भन्दा आस्था पौडेल शर्मा र मनोज शर्माको अवस्था फरक छ। १० वर्षअगाडि विवाह गरेका ३४ बर्सिया आस्था र ४४ वर्षीय मनोज लन्डनमा बस्छन्।

विवाह लगत्तै बच्चा जन्माउने योजना नगरेका उनीहरूले सन् २०२२ मा जब योजना गरे त्यसपछि दुई पटक सम्म गर्भपात भयो।

त्यसका कारण आफ्नो प्रजनन क्षमता परीक्षण गरेको उक्त जोडीमध्ये मनोजको शुक्रकीटमा समस्या रहेको देखियो।

प्राकृतिक रूपमा गर्भधारण गर्दा समस्या हुने देखिएपछि उनीहरूले डिम्ब र शुक्रकीटबाट भ्रूण बनाएर आस्थाको पाठेघरमा राखे।

नेपालमा आइभीएफ गरेर फर्किएकी आस्था अहिले पाँच महिनाकी गर्भवती छिन् । अहिले लन्डन फर्किसकेकी आस्था पाँच महिनाकी गर्भवती छिन्।

गर्भपातपश्चात् गर्भधारण गर्ने विषयलाई लिएर आफू मानसिक र शारीरिक रूपमा असाध्यै कठिन परिस्थितिबाट गुज्रिनुपरेको भन्दै उनी उमेर छँदै डिम्ब र शुक्रकीट फ्रीज गरेर राख्न २० देखि ३० वर्ष उमेर समूहका महिला र पुरुषलाई सुझाउँछिन्।

धेरैजसो महिला पुरुषले आफ्नो करिअरलाई प्राथमिकता दिँदा हिजोआज उपयुक्त प्रजनन उमेरभित्र सन्तान जन्माउन नखोज्ने चिकित्सकहरूको अनुभव छ।

प्रजनन विज्ञ डाक्टर मुननकर्मी भन्छिन्, “त्यसले गर्दा खासगरी महिलाको डिम्बको सङ्ख्या उमेरसँगै घट्दै जान्छ। पहिला पहिला त्यस्तो सुविधा नभए पनि अहिले भने महिलालाई डिम्ब र पुरुषलाई शुक्रकीट भण्डारण गर्ने विकल्प छ।”

त्यस्तो विकल्प आफूले पनि समयमै थाहा पाएको भए त्यसै अनुसार गर्थेँ भन्ने आस्थालाई लाग्छ। गर्भवती भएको दुई र तीन महिना हुँदा दुई पटकसम्म गर्भपात भइसकेपछि उपचार खोज्दै जाँदा मनोजको शुक्रकीटको आकृति विज्ञान परीक्षण गर्दा प्राकृतिक रूपमा गर्भधारण नगर्ने निष्कर्षमा उनीहरू पुगेका हुन्।

नेपालमा जन्मदर घट्दोः कारण के के?

काठमाण्डूमै आएर डिम्ब र शुक्रकीट निकालेर प्रयोगशालामा भ्रूण बनाइ पाठेघरमा राख्ने विधि आइभीएफमार्फत् गर्भवती भएकी आस्थालाई अहिले एउटा थकथकी लाग्छ- १० वर्षअगाडि विवाह हुने बित्तिकै भ्रूण चिस्याएर भण्डारण गर्न पाएको भए, अब जन्मिने बच्चा अझै स्वस्थ हुने थियो।

आफूले चिनेका साथी र बहिनीहरूलाई सुझाव दिने गरेको सुनाउँदै आस्था भन्छिन् ‘विवाह चाँडै गरेर बच्चा जन्माउन मन छैन वा अहिले करिअरलाई ध्यान दिएर पछि मात्रै बच्चा जन्माउँछु भन्ने छ भने समयमै आफ्नो डिम्ब भण्डारण गरेर राख।’

डिम्ब वा शुक्रकीट भण्डारण गर्ने विकल्प तेस्रो लिङ्गीका लागि पनि उपयुक्त हुने उनी ठान्छिन्।

त्यसबाहेक सम्बन्ध विच्छेद भए वा दाताबाट शुक्रकीट लिएर भविष्यमा बच्चा जन्माउन मन लागे फर्टिलिटी फ्रीजिङको विकल्प खासगरी महिलाका लागि उत्तम हुने उनको धारणा छ।

फर्टिलिटी फ्रिजिङ भनेको के हो?
एग फ्रीजिङको प्रक्रिया
विश्व स्वास्थ्य सङ्गठनले गत एप्रिलमा सार्वजनिक गरेको एउटा प्रतिवेदनका अनुसार ६ मध्ये १ जनामा बाँझोपन हुने गरेको छ।

विश्वभरि नै प्रजनन समस्या बढ्दो रूपमा देखिइरहेका बेला फर्टिलिटी फ्रीजिङ भनिने यो विधि अपनाउने मानिसको सङ्ख्या पनि बढिरहेको बताइन्छ।

महिला वा पुरुषको आमा वा बुवा बन्न सक्ने क्षमताको संरक्षण गर्नुलाई प्रजननको संरक्षण अर्थात् फर्टिलिटी फ्रीजिङ भनिने चिकित्सकहरू बताउँछन्।

महिलाको डिम्ब र पुरुषको शुक्रकीट अथवा कुनै जोडीको भ्रूण बनाएर लिक्विड नाइट्रोजन १९६ डिग्री सेल्सियस मा राखेर वर्षौँसम्म फ्रीज गर्न सकिन्छ।

यसरी फ्रीज गरेर राखिएको डिम्ब वा शुक्रकीट वा भ्रूणलाई महिला वा पुरुष वा कुनै जोडीले चाहेको समयमा प्रयोगमा ल्याउन सक्छन्।

उमेर बढ्दै जाँदा महिलाको डिम्बको भण्डार घट्दै जाने भएकाले अण्डाको सङ्ख्या र गुणस्तर जोगाउन एग फ्रीजिङ उपयुक्त हुने चिकित्सकहरू बताउँछन्।

“ढिला विवाह गर्ने वा ढिलो बच्चा जन्माउने योजना भएका महिलाले लिक्विड नाइट्रोजनमा एग फ्रीज गरेर राख्न सक्छन् ताकि ढिला बच्चा जन्माउँदा पनि बाँझोपन हुने वा सन्तान जन्माउन समस्या हुने हुँदैन,” स्त्री तथा प्रसूति रोग विशेषज्ञसमेत रहेकी डाक्टर मुननकर्मीले भनिन्।

“क्यान्सर भएर किमोथेरापी वा रेडियोथेरापी गर्नुपर्ने छ भने त्यसले प्रजनन प्रणालीमा पार्ने नकारात्मक असरबाट जोगिन पनि पहिला नै डिम्ब फ्रीज गराउन हामी सुझाउँछौँ।”

डिम्ब वा शुक्रकीट चिस्याएर राख्ने मानिसको सङ्ख्या बर्सेनि कसरी बढ्दै गएको छ?
हामीले कुराकानी गरेका विभिन्न फर्टिलिटी सेन्टर वा आइभीएफ क्लिनिकहरूमध्ये केहीले हामीलाई तथ्याङ्क उपलब्ध गराएका छन् भने केहीले तथ्याङ्क उपलब्ध गराउन मानेका छैनन्।

हामीलाई तथ्याङ्क उपलब्ध गराएका मध्ये वात्सल्य आइभीएफ सेन्टर, माया आइभीएफ क्लिनिक र एन्जल फर्टिलिटी क्लिनिकको सन् २०२० देखि सन् २०२३ सम्मको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष डिम्ब र शुक्रकीट दुवै भण्डारण गर्ने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको देखिन्छ।

वात्सल्य आइभीएफ सेन्टरले उपलब्ध गराएको तथ्याङ्क अनुसार सन् २०२० मा ६४ पुरुषले शुक्रकीट र ९ महिलाले डिम्ब भण्डारण गरेका थिए। त्यस्तै सन् २०२१ मा १३६ पुरुष र २० महिलाले अनि सन् २०२२ मा ६६२ पुरुष र ४१ महिलाले आफ्नो शुक्रकीट र डिम्बा भण्डारण गरेका थिए।

त्यस्तै, सन् २०२३को अन्तिम सम्ममा त्यो सङ्ख्या अझै बढेर ८५२ पुरुषले शुक्रकीट र ६५ जना महिलाले डिम्ब भण्डारण गरेका छन्।

त्यस्तै माया आइभीएफ क्लिनिक र एन्जल दुईवटा फर्टिलिटी क्लिनिकको संयुक्त तथ्याङ्क हेर्दा सन् २०२१ मा २०३ जना पुरुषले आफ्नो शुक्रकीट चिस्याएका थिए भने सन् २०२२ मा १८३ र सन् २०२३ मा १९७ जना पुरुषले शुक्रकीट चिस्याएर भविष्यका लागि राखेका छन्।

यी दुई क्लिनिकले सन् २०२१ मा ६६ जना महिलाको डिम्ब चिस्याएर राखेको र त्यसयताका दुई वर्ष सन् २०२२ र सन् २०२३ मा ५८ र ७२ जना महिलाको डिम्ब फ्रीज गरेर राखेका छन्।

माया र एन्जल फर्टिलिटी क्लिनिकमा कार्यरत सिनिएर क्लिनिकल एम्ब्रिओलिजिस्ट प्रीति विष्टले यसरी डिम्ब र शुक्रकीट भण्डारण गर्ने सेवाग्राहीहरू विभिन्न कारणले आएको उल्लेख गरेकी छन्।

खर्च कति लाग्छ?
वात्सल्य आइभीएफ सेन्टरका संस्थापक तथा कार्यकारी निर्देशक प्रशान्त सुवेदीका अनुसार कति समयका लागि डिम्ब वा शुक्रकीट वा भ्रूण चिस्याएर राख्ने भन्नेमा खर्च कति लाग्छ भन्ने कुरा भर पर्छ।

पाँच वर्षका लागि फ्रीज गरेर राख्नका लागि पूरै प्रक्रिया पुर्‍याउँदा अहिलेको दर अनुसार करिब चार लाख रुपैयाँ लाग्ने सुवेदी बताउँछन्। त्यसमा शरीरबाट डिम्ब झिक्नेदेखि लिएर पाँच वर्षसम्म चिस्याएर राख्ने सम्मको खर्च समेटिने उनले बताए।

तर अन्य केही फर्टिलिटी सेन्टरमा त्यो भन्दा कम रकम लाग्ने बताइन्छ। डिम्ब वा शुक्रकीट चिस्याएर भण्डारण गर्दा त्यसको प्रक्रियामा प्रयोग हुने औषधी र उपकरणका कारण मूल्यमा फरक पर्ने सुवेदी बताउँछन्।

तर फर्टिलिटी फ्रीजिङ धेरैका लागि नौलो विषय रहेको र खर्चिलो भएका कारण शिक्षित र आर्थिक रूपमा सक्षम मानिस मात्रै इच्छाले गर्न आउने फर्टिलिटी सेन्टर सञ्चालकहरूको अनुभव छ।

फर्टिलिटी फ्रीजिङबारे नेपालमा कुनै स्पष्ट कानुन नहुँदा आफूहरूले ग्रे एरियामा बसेर काम गर्नुपरेको फर्टिलिटी सेन्टर सञ्चालकहरू बताउँछन्।

“सरकारले भोलि कुनै कानुन ल्यायो वा प्रोटोकल बनायो भने हामीले अहिले पाँच वर्षका लागि भनेर फ्रीज गरेको डिम्ब वा शुक्रकीटलाई असर गर्न सक्छ,” सञ्चालक सुवेदीले भने।

“त्यसैले कानुनी स्पष्टता भयो भने हामीलाई पनि काम गर्न सजिलो हुन्छ।” अहिले भने आफूहरूले अमेरिका र युरोपको मापदण्ड र प्रोटोकल हेरेर त्यसै अनुसार काम गरिरहेको उनले बताए।

कानुन नबन्दै अभ्यास ?
नेपालमा फर्टिलिटी सेन्टर अथवा आइभीएफ क्लिनिकहरूले गरिरहेको कामको अनुगमन स्वास्थ्य मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले गर्ने गर्छ।

उक्त महाशाखाका प्रमुख डाक्टर मदन उपाध्यायले डिम्ब वा शुक्रकीट वा भ्रूण चिस्याएर राख्ने विषय नेपालका लागि नयाँ भएको बताए।

“त्यसअनुसार सेवा प्रदान गर्न पर्याप्त जनशक्ति पनि छैनन् र प्रविधिहरू पनि भित्रिसकेको छैन। हामीसँग कानुन पनि छैन। जनस्वास्थ्य नियमावली र स्वास्थ्य मन्त्रालयले बनाएको निर्देशिका अनुसार हामीले अनुगमनको काम गरिरहेका छौँ,” उनले भने।

जनस्वास्थ्य सेवा नियमावली २०७७ ले आइभीएफ (इनभिट्रो फर्टिलाइजेसन) लगायतका सेवालाई विशिष्टिकृत सेवा भनेर परिभाषित गरेको छ।

त्यसबाहेक मन्त्रालयले बाँझोपनासम्बन्धी निर्देशिका पनि तयार गरेको छ जसले आइभीएफ गर्नु अगाडि परामर्शलगायतका विषय उल्लेख गरेको छ।

नियमावली र निर्देशिकाअनुसार आइभीएफलगायत फ्रीजिङको सेवा दिने अस्पताल र फर्टिलिटी सेन्टरहरू “विशेषज्ञ सेवा प्रदान गर्ने संस्थाको रूपमा सूचिकृत हुनुपर्ने” र उनीहरूले सञ्चालन अनुमति लिनुपर्ने प्रावधान ल्याइएको थियो।

त्यसपछि नै फ्रीजिङ समेतको सेवा दिने आइभीएफ सेन्टरहरूलाई स्वास्थ्य मन्त्रालयले दुई पटक परिपत्र गरेर सञ्चालन अनुमतिका लागि निवेदन दिन आह्वान गरेको थियो।

उक्त आह्वानपछि आवेदन दिने सेन्टरहरूको सङ्ख्या काठमाण्डू, पोखरा, विराटनगर, बुटवल, धरानजस्ता ठूला सहरहरू गरी देशभरिमा ४० भन्दा बढी रहेको र आउने क्रम जारी रहेको महाशाखाले जनाएको छ।

“नियमावली र हामीले बनाएको निर्देशिकाको मापदण्ड पूरा गरेर अहिलेसम्म सञ्चालन अनुमति केवल १२ वटाले पाएका छन्। त्यसबाहेकका सेन्टरहरूलाई भने हामीले के के अपुग छ भनेर सुझावहरू दिएका छौँ,” महाशाखा प्रमुख उपाध्यायले भने।

महाशाखाले अनुगमनका लागि मन्त्रालयबाट एम्ब्रिओलोजिष्ट, स्त्रीरोग विशेषज्ञ, प्रयोगशाला, फार्मेसी, जनस्वास्थ्य सबैका मानिसहरूको टोली पठाउने गरेको उनले बताए।

उक्त टोलीले आइभीएफलगायत फ्रीजिङ सेवा दिने सेन्टरको संरचना, प्रयोगशालाको अवस्था, उपकरणलगायतका न्यूनतम रूपमा चाहिने सामग्री, औषधीको कुरा, परीक्षणको सूची र त्यही अनुसार भौतिक संरचनादेखि सबैको अनुगमन गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले गत वर्षबाट मात्रै अनुगमन गर्न थालेको उपाध्यायले बताए। डिम्ब र शुक्रकीट फ्रीज गरेर राख्ने अभ्यास भारतमा पनि पछिल्ला वर्षहरूमा बढिरहेको त्यहीँ अध्ययन र काम गरेर नेपाल फर्किएका सिनियर क्लिनिकल एम्ब्रियोलोजिष्ट सुरेश यादव बताउँछन्।

तर भारतमा भने यस विषय सम्बोधन गर्ने छुट्टै कानुन एआरटी अर्थात् असिस्टेड रिप्रडक्टिभ टेक्नोलोजी (रेगुलेशन) २०२१ बनेको छ।

नेपालमा भने यसै विषयलाई सम्बोधन गर्ने कानुन नभएका कारण विज्ञहरूसँगको सल्लाहमा कानुनको मस्यौदा तयार गर्ने प्रारम्भिक काम थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

“यसका विषय विज्ञसँग बसेर हामीले यसमा छलफल गरिरहेका छौँ। भारतमै तालिमप्राप्त भएर आएका विज्ञहरू भएको हुनाले काम गर्दैछौँ तर प्रारम्भिक चरणमै छौँ,” महानिर्देशक उपाध्यायले भने।

नेपालमा कुनै फर्टिलिटी सेन्टरले आफूले चिस्याएर राखेको शुक्रकीट वा डिम्ब अन्य सेन्टरलाई बेचिदियो वा विदेशमै पठायो भने के गर्ने भन्ने अनुगमन नेपालमा हुने नगरेको सञ्चालक सुवेदी बताउँछन्।

अनुगमन नगर्दा कस्ता समस्या देखापर्न सक्छन्?
सन् २०२३ को एप्रिल महिनामा एकजना डच नागरिकलाई आफ्नो वीर्यदान नगर्न द नेदरल्याण्डस्‌को एउटा अदालतले आदेश दिएको थियो।

वीर्यदान मार्फत् संसारभर ५५० जनाभन्दा धेरै बच्चा जन्माउन योगदान गरेको ठानिएका ती पुरुषलाई थप वीर्य दान गरे १ लाख युरो जरिवाना लाग्ने निर्णय अदालतले सुनाएको थियो।

अदालतले उनले वीर्य दान गरेका क्लिनिकहरूको सूची उपलब्ध गराउन र उनको वीर्य नष्ट गरिदिन आदेशसमेत दिएको थियो।

विभिन्न प्रजनन क्लिनिकलाई वीर्य दान गर्दा त्यसबाट सयौँ बालबालिकाहरू सौतेनी दाजुभाइ दिदीबहिनी हुने र उनीहरूको सञ्जालको हिस्सा भएको हुन सक्नेप्रति त्यतिबेला अभिभावकहरूले चिन्ता व्यक्त गरेका थिए।

दाजुभाइ दिदीबहिनीबीच अनजानमै विवाह भएर सन्तान जन्मिन सक्ने सम्भावना कम गर्नका लागि अदालतले वीर्य दिनेहरूलाई आफ्नो सेवा सीमित पार्न पनि त्यतिबेला भनेको थियो।

नेपालमा पनि फर्टिलिटी सेन्टरहरूले डिम्ब वा शुक्रकीट आफूखुसी अर्को फर्टिलिटी सेन्टरमा दिने वा एउटै मानिसको शुक्रकीटबाट धेरै बालबालिका जन्मिन सक्ने वा डिम्बरशुक्रकीटको दुरुपयोग हुन सक्ने अवस्था आउन सक्नेप्रति कतिपयले चिन्ता व्यक्त गरेका छन्।

भविष्यमा निम्तिन सक्ने त्यस्ता अवस्थाका लागि पनि कानुनको आवश्यकता देखिएको महाशाखा प्रमुख उपाध्याय बताउँछन्।

गर्भाधानमा समस्या भएपछि आकाङ्क्षी जोडीहरू विभिन्न अस्पताल र फर्टिलिटी सेन्टर गएर सन्तान जन्माउने सम्भावनाबारे बुझ्न जाने क्रम बाक्लिएको देखिन्छ।

तर आइभीएफलगायतबाट बच्चा जन्माउने क्रम बढे पनि सरकारसँग डिम्ब वा शुक्रकीट कसरी र कति भण्डारण गरेर राखिएको छ भन्नेबारे कुनै केन्द्रीकृत तथ्याङ्क छैन।

फर्टिलिटी सेन्टर वा अस्पतालहरूले आफ्नै तरिकाले तथ्याङ्क राख्दा त्यसबाट कानुनी जटिलता आउन सक्ने विषय केही महिनाअघि प्रतिनिधि सभाको बैठकमा उठेको थियो।

यसै सन्दर्भमा सरकारले शुक्रकीट वा डिम्ब बैङ्कको स्थापना गर्नुपर्ने र त्यसबारे केन्द्रीकृत तथ्याङ्क राख्नुपर्ने विषय सांसद सोभिता गौतमले संसद्‌मा पनि उठाएकी थिइन्।

विश्वभरि नै डिम्ब वा शुक्रकीट दान गर्ने विषय निकै संवेदनशील रूपमा उठिरहेको उल्लेख गर्दै सांसद गौतमले कृत्रिम प्रणालीहरू अपनाएर बच्चाहरू जन्माउने प्रचलन बढिरहेको भन्दै एउटा एकीकृत तथ्याङ्क हुनुपर्ने बताएकी हुन्।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी निर्वाचित सांसद गौतमले भनिन्, स्पर्म डोनेसन (वीर्य दान) र एग डोनेसन (डिम्ब दान)का कुराहरू निकै संवेदनशील भएर आएका छन्। यसको सवालमा एउटा केन्द्रीकृत तथ्याङ्क प्रणाली हुनुपर्छ।

क्लिनिक वा सेवा प्रदायकले छुट्टाछुट्टै तथ्याङ्कमात्रै राख्दा र त्यसको एकीकृत रेकर्ड नहुँदा जटिलता आउन सक्ने चिन्ता अधिकारीहरूको पनि छ। बीबीसीनेपालीबाट साभार

प्रतिक्रिया दिनुहोस्