Logo
|
Saturday 27th July 2024
Logo

epaper

विश्वमै पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड



जनस्वास्थ्य सरोकार, काठमाडौँ । संयुक्त राज्य अमेरिकाको एलाबामा राज्यमा हत्याको आरोपमा दोषी ठहर एक व्यक्तिलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ। उक्त विधिबाट विश्वमै पहिलो पटक मृत्युदण्ड दिइएको हो।

यसअघि अमेरिकाको सर्वोच्च अदालतले ती बन्दीले आफूलाई पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिन लागिएको हुँदा त्यसलाई रोक्न गरेको निवेदन अस्वीकार गरिदिएको थियो।

केनेथ युजिन स्मिथका वकिलहरूले त्यसलाई ‘क्रूर र अस्वाभाविक’ सजाय भन्दै रोक्न गरेको निवेदन न्यायाधीशहरूले दुई पटक अस्वीकार गरेका थिए।

विपक्षीहरूले नाइट्रोजन ग्यासले अनावश्यक यातना हुने र यदि त्यो चुहिएमा छेउछाउमा उपस्थित मानिसहरूलाई हानि पुग्ने तर्क गर्दै आएका थिए।

मृत्युदण्डको साक्षी बनाउन सञ्चारमाध्यमका पाँच जनालाई गाडी चढाएर एट्मोरस्थित होल्मन करेक्शनल फ्यासिलिटीमा लगिएको थियो।

साक्षीहरूका अनुसार मृत्युदण्ड दिन लाग्दा स्मिथले ‘आज राति एलबामाले मानवतालाई एक कदम पछाडि सारिदिने छ’ उहाँले भन्नुभयो ।

‘मलाई समर्थन गर्नुभएकोमा धन्यवाद। तपाईँहरू सबैलाई माया,’ उहाँले भन्नुभयो । मास्कभित्र नाइट्रोजन ग्यास छिर्न थालेपछि स्मिथ हाँसेको र आफ्ना परिवारजनप्रति माया देखाउन अलिकति निहुरिएको बताइएको छ।

साक्षीहरूले स्मिथ दुईदेखि चार मिनेट छटपटाएको र उनले पाँच मिनेट छिटोछिटो सास फेरेको बताउनुभयो। स्थानीय समयानुसार बिहीवार राति ८ः२५ बजे उनलाई मृत घोषीत गरियो।

पक्राउ पर्दाखेरि खिचिएको स्मिथको तस्बिर

पहिलो प्रयोग
अन्ठाउन्न वर्षीय स्मिथलाई सन् १९८९ मा एलिजाबेथ सेनेटको हत्यामा दोषी ठहर गरिएको थियो। उनलाई एलाबामा राज्यले तोकेको मृत्युदण्डको अवधि स्थानीय समयानुसार शुक्रवार सकिन लागेको थियो।

सन् १९९६ देखि मृत्युदण्ड कुरिरहेका स्मिथले यो साता बीबीसीलाई उक्त पर्खाइ यातनापूर्ण भएको बताएका थिए। अमेरिकामा मात्र नभई संसारभरिमै नाइट्रोजन सुँघाएर मृत्युदण्ड दिइएको यो पहिलो घटना हो।

मिसावटरहित नाइट्रोजन सुँघ्दा शरीरका कोशहरू क्षतिग्रस्त हुन्छन् र मानिसको मृत्यु हुन्छ। एलाबामाका अधिकारीहरूले नाइट्रोजन सुँघाइएको केही सेकेन्डमै स्मिथले होस गुमाउने अनि केही मिनेटमा उनको मृत्यु हुने बताएका थिए।

जटिलता आउन सक्ने चेतावनी
तर केही मेडिकल विज्ञहरूले नाइट्रोजन प्रयोगको भर्त्सना गर्दै त्यसले अकल्पनीय दुर्घटना हुन सक्ने – शरीर निकै छटपटाउने वा दण्ड दिइने व्यक्ति पूर्ण पक्षाघातको अवस्थामा जीवित रहने – चेतावनी दिएका थिए

एलाबामा तथा अन्य दुई अमेरिकी राज्यहरूले मृत्युदण्डका निम्ति नाइट्रोजन हाइपोक्सिया विधिलाई विकल्पको रूपमा स्वीकारेका छन्।

किनभने परम्परागत रूपमा दिइने घातक सुईहरू अचेल पाउन निकै गाह्रो छ। यसले पनि मृत्युदण्ड कार्यान्वयनका घटना देशैभरि कम भइरहेको छ।

दुई वर्षअघि एलाबामाले स्मिथलाई घातक सुई दिएर मार्न खोजेको थियो तर समयमा उनको नसा स्पष्ट नभेटिएपछि त्यो टरेको थियो।

के हो स्मिथको अपराध?
सन् १९८८ को मार्चमा १,००० डलर पाउने आशमा एलिजाबेथ सेनेटको हत्या गरेको घटनामा स्मिथ र अर्का एक व्यक्ति दोषी ठहर भएका थिए।

पैँतालीस वर्षीया सेनेटलाई आगो बाल्न प्रयोग गरिने धातुका सामग्रीले कुटपिट गरिएको थियो अनि उनको छाती र घाँटीमा चक्कु प्रहार गरिएको थियो। हत्यापछि त्यसलाई चोरीपश्चात् घटेको घटना जस्तो देखाउने प्रयास गरिएको थियो।

ऋणमा डुबेका धर्मप्रचारक चार्ल्स सेनेटले बीमाको पैसा पाउने लोभमा श्रीमतीको हत्याको योजना बुनेका थिए। अनुसन्धान अघि बढ्दै गएपछि उनले आत्महत्या गरे।

हत्यामा सामेल स्मिथका सहयोगी जोन फरेस्ट पार्करलाई सन् २०१० मै मृत्युदण्ड दिइसकिएको छ।

रोक्न आग्रह
अदालती सुनुवाइका समयमा स्मिथले हत्या हुँदा आफू त्यहाँ उपस्थित भएको तर हत्या गर्ने कार्यमा सामेल नभएको बताएका थिए।

संयुक्त राष्ट्रसङ्घको मानवअधिकार उच्चायुक्तले स्मिथलाई ग्यास प्रयोग गरेर दिइन लागेको सजाय यातना वा अन्य क्रूर, अमानवीय व्यवहारसरह हुने भएकाले त्यसलाई रोक्न आग्रह गरेका थिए।

स्मिथ का वकिलहरूले सर्वोच्च अदालतमा निवेदन दिँदै दोषीहरूलाई पटकपटक मृत्युदण्ड दिने प्रयास गर्नु भनेको ‘क्रूर तथा अस्वाभाविक’ सजायसम्बन्धी अमेरिकी संविधानको आठौँ संशोधनविपरीत हुने जिकिर गरेका थिए।

सजाय रोक्न स्मिथले गरेको अन्तिम अपील बिहीवार सर्वोच्च अदालतले अस्वीकार गरिदिएको थियो। स्मिथका वकिलहरूले नाइट्रोजन ग्यास प्रयोगको विधि ‘अपरीक्षित’ भएको भन्दै त्यसका अनपेक्षित परिणामबारे बोल्दै आएका थिए।

तर एलाबामा राज्यका महान्यायाधिवक्ता स्टीभ मार्शलले यसअघि बोल्दै उक्त विधिलाई “मृत्युदण्डको सम्भवत सबभन्दा मानवीय विधि” भनेका थिए।

अन्तिम समयमा के गरे
मृत्युदण्ड दिइनुअघि स्मिथलाई उनको परिवारका सदस्यहरू, दुई साथी र उनका आध्यात्मिक गुरु रेभरन्ड जेफ हुड र उनका वकिलले भेटेका थिए।

आफ्नो जीवनको अन्तिम दिन बिहानको खानामा उनले दुइटा बिस्कुट, अण्डा, अङ्गुरको जेली, स्याउको सस र सुन्तलाको रस खाए। उनको अन्तिम खानामा मासुको परिकार तथा आलु र अण्डाको परिकार थियो।

उनलाई मृत्युदण्डा दिँदा उनका गुरु पनि सोही कोठामा हुने बताइएको थियो। बीबीसीसँग बोल्दै हुडले यदि नाइट्रोजन चुहिएमा आफू पनि खतरामा पर्ने डर व्यक्त गरेका थिए।

बुधवार रेभरन्ड हुडलाई जेल अधिकारीहरूले मृत्युदण्ड दिइने कोठा देखाउन नियमानुसार लगेका थिए। त्यसपछि बीबीसीसँग बोल्दै उनले आफूले सुरक्षा योजनाहरूबारे सोधेको तर उत्तर नपाएको बताए।

“फेरि हामी उही ठाउँमा आइपुगेका छौँ जहाँ गत केही वर्षयता तीन पटकसम्म मृत्युदण्ड दिन विफल भएकाहरूमाथि नै हामी पुन निर्भर हुन परेको छ। यस्तोमा आफ्नो जीवन नै दाउमा पर्न सक्ने सोच्दा निकै डर लाग्छ,” उनले भनेका थिए।

रेभरन्ड हुडले मृत्युदण्ड दिने बेला एलाबामाका गभर्नर के आइभीलाई पनि त्यही उपस्थित हुन आफूले भनेको तर त्यसको जबाफ नआएको बताएका थिए।

एलाबामा अमेरिकामा धेरै मृत्युदण्ड दिइने राज्यमध्ये पर्छ। त्यहाँ अहिले १६५ जना बन्दी मृत्युदण्ड कुरिरहेका छन्। सन् २०१८ यता त्यहाँ घातक सुईबाट मृत्युदण्ड दिलाउने कार्य तीन पटक विफल भएको थियो। ती विफलताको आन्तरिक समीक्षा गर्दा बन्दीहरू नै दोषी पाइएको थियो। बीबीसीबाट साभार

प्रतिक्रिया दिनुहोस्