Logo
|
Friday 1st March 2024
Logo

epaper

विश्वभर दादुराको प्रकोप बढ्दोः यस्ता छन् कारण, लक्षण, जटिलता र बच्ने उपाय



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र अमेरिकी सेन्टर फोर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी)ले सन् २०२३ को अन्त्ययता बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिएका छन्।

धेरै वर्षदेखि दादुराविरुद्ध खोप लगाउने क्रम घट्न थालेको छ। सीडीसीले अहिले आफ्नो वेबसाइटमा जनाएअनुसार दादुराको सङ्क्रमण अहिले विश्वको सबै भागमा देखा परिरहेको छ। दादुरा भाइरसको अधिकांश सङ्क्रमण यमन, भारत र काजकस्तानमा देखा पारेको छ।

डब्ल्यूएचओ र सीडीसीको पछिल्लो संयुक्त प्रतिवेदनमा सन् २०२२ मा अघिल्लो वर्षको तुलनामा दादुराका बिरामी १८ प्रतिशतले बढेको र विश्वव्यापी रूपमा मृतकको सङ्ख्या ४३ प्रतिशतले बढेको जनाएको छ।

दादुरा भएका मानिसको अनुमानित सङ्ख्या ९० लाख र मृतकको सङ्ख्या एक लाख ३६,००० पुगेको छ। तीमध्ये अधिकांश बालबालिका छन्। डब्ल्यूएचओले गत वर्ष युरोपमा दादुराको सङ्क्रमण ३० गुनाले बढेको र त्यो भयानक भएको जनाएको छ।

सन् २०२३ मा उक्त महादेशभर ३० हजार भन्दा बढी मानिसमा सङ्क्रमण देखिएका थियो। सन् २०२२ मा सङ्क्रमितको सङ्ख्या जम्मा ९४१ थियो।

दादुराका मुख्य लक्षण के हुन् ?

  • उच्च ज्वरो
  • आँखा रसाउनु, रातो हुनु र दुख्नु
  • रुघा र खोकी लाग्नु
  • बिरामी भएको महसुस गर्नु
  • मुखभित्र ससाना फोका देखा पर्नु
  • छालामा रातो वा खैरो खटिरा देखिनु। साधारणतया नचिलाउने गिर्खा प्रारम्भिक लक्षणहरूपछि देखा पर्छन्

सुरुमा अनुहार र कानको पछाडि देखिने डाबर त्यसपछि शरीरका अरू भागमा पनि फैलने गर्छ। तर खैरो वा कालो छालामा त्यस्तो डाबर देख्न गाह्रो हुन्छ। प्रायः देखिने जटिलतामा कानको सङ्क्रमण र झाडाबान्ता पर्छन्। कतिपय व्यक्तिमा अझ गम्भीर समस्या देखिन सक्छ।

दादुरा बिग्रिएमा निमोनिया, इन्सेफलाइटिस (मस्तिष्क सुनिनु) र अन्धोपन पनि हुन सक्छ।

दादुरा कसरी फैलिन्छ ?
सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा निस्किने ससाना कणमा यो दादुराको भाइरस हुन्छ। ती कण तपाईँले सास फेर्दा शरीरभित्र प्रवेश गरेको अवस्थामा वा तपाईँले तिनलाई छोएर आफ्नो हात, नाक वा मुखनजिक लैजानुभयो भने पनि यो रोग तपाईँलाई लाग्न सक्छ।

त्यस्तो डाबर देखिएको कम्तीमा चार दिनसम्म दादुरा भएका व्यक्तिहरूले सङ्क्रमण सार्न सक्छन्।

एमएमआर खोप
डब्ल्यूएचओका अनुसार अमेरिकाको सीडीसी, यूकेको न्याश्नल हेल्थ सर्भिस र विश्वका अन्य स्वास्थ्य निकायहरूका अनुसार दादुरा तीव्र गतिमा फैलिने सरुवा रोग हो।

सीडीसीका अनुसार दादुराको भाइरससँग सम्पर्क भएको खण्डमा सुरक्षा उपाय नअपनाएका १० मध्ये नौ जनामा उक्त रोग सर्न सक्छ।

मीजल्स, मम्प्स एन्ड रुबेला (एमएमआर) खोपको दुई मात्राले दादुरालाई नियन्त्रण गर्न सक्छ। उक्त खोपले ती तीनवटै रोगबाट मानिसलाई जोगाउँछ।

डब्ल्यूएचओले उक्त रोग देखा परिरहने देशहरूमा बालबालिकालाई नौ महिनाको उमेरमा एमएमआर खोपको पहिलो मात्रा दिनुपर्ने सुझाव दिएको छ। उसका अनुसार दोस्रो मात्रा साधारणतया १५ देखि १८ महिनाबीचको अवधिमा दिनुपर्ने उसको भनाइ छ।

उसले भनेको छ, “सन् १९६३ मा दादुराको खोप प्रयोगमा आउनुअघि र व्यापक खोप लगाउनुअघि प्रत्येक दुई वा तीन वर्षमा ठूलो महामारी देखा पर्थ्यो। प्रत्येक वर्ष झन्डै २६ लाख मानिसले ज्यान गुमाउने गर्थे।”

डब्ल्यूएचओले खोपअघि भन्दा अहिले दादुराको प्रकोपबाट ज्यान गुमाउनेको सङ्ख्या धेरै घटेको जनाएको छ। “सन् २०२१ मा झन्डै एक लाख २८,००० जनाले दादुराका कारण ज्यान गुमाएका थिए।”

ूसुरक्षित र सुलभ मूल्यमा खोप उपलब्ध हुँदाहुँदैू ज्यान गुमाउनेमा अधिकांश पाँच वर्षमुनिका बालबालिका थिए।

एमएमआर खोपसम्बन्धी भ्रामक सूचना
शङ्का र उपशङ्का गर्नेहरूले एमएमआर खोपलाई अटिजमसँग पनि जोडेर हेर्ने गरेको पाइन्छ। ब्रिटिश अनुसन्धानकर्ता एन्ड्रू वेकफील्डले सन् १९९८ मा एमएमआर खोप र अटिमको सम्बन्ध रहेको गलत दाबी गरेका थिए। उनको अनुसन्धानलाई पछि खारेज गरिएको थियो।

वेकफील्डलाई यूकेको जेनरल मेडिकल काउन्सिलले सन् २०१० मा जिम्मेवारीबाट हटाएको थियो। एमएमआर खोपले अटिजम निम्त्याएको कुनै प्रमाण छैन।

खोप लगाउन हिचकिच
किशोर र वयस्कहरूले आफूले पहिले नलगाएको भए एमएमआर खोप पनि लगाउनुपर्छ। तर सीडीसी र डब्ल्यूएचओले दादुराको खोप लगाउने दर कोरोनाभाइरसको महामारी देखा परेयता निरन्तर घटिरहेको जनाएका छन्।

डब्ल्यूएचओले भनेको छ, “कोभिड १९ महामारीले निगरानी र खोप प्रयासमा धक्का लागेको छ। खोप सेवामा स्थगन र निगरानी अनि खोप लगाउने दरमा संसारभरि देखिएको कमीले दशौँ लाख बालबालिकालाई रोकथाम गर्न सकिने दादुराजस्तो रोगको जोखिम निम्त्याएको छ।”

सन् २०२१ मा सर्वाधिक सङ्ख्यामा अर्थात् झन्डै चार करोड बालबालिकाले दादुराको खोपको पूरा मात्रा लगाउन सकेनन्। अढाई लाख बालबालिकाले खोपको पहिलो मात्रा र १.४७ करोड जनाले दोस्रो मात्रा गुमाएको बताइन्छ।

पहिलो मात्रा गुमाएका आधा बालबालिका एङ्गोला, ब्रजिल, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, इथिओपिआ, भारत, इन्डोनेशिया, म्याडग्यास्कर, नाइजिरिया, पाकिस्तान र फिलिपिन्सका हुन्।

के ठूला मानिसलाई दादुरा हुन सक्छ ?

खोप लगाएको वा पहिला सङ्क्रमण नभएको मानिसलाई दादुरा हुन सक्छ। तर यो प्रायः कलिलो उमेरका बालबालिकामा देखिने समस्या हो।

डब्ल्यूएचओ, सीडीसी, एनएचएस र अन्य निकायहरूका अनुसार दादुराले सबै उमेर समूहका व्यक्तिहरूमा नकारात्मक असर भने पार्न सक्छ।

तर कतिपय उमेर समूहका व्यक्तिहरूलाई दादुराले थप जटिलता निम्त्याउन सक्छ

  • पाँच वर्षभन्दा मुनिका बालबालिका
  • २० वर्षभन्दा बढी उमेरका वयस्क
  • गर्भवती महिला
  • ल्यूकेमिआ वा एचआईभीजस्ता रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरू

के दुई पटक दादुरा हुन सक्छ ?
सीडीसी, एनएचएस र गैरनाफामुखी अमेरिकी अध्ययन स्वास्थ्य केन्द्र मेयो क्लिनिकका अनुसार दोहोरिएर दादुरा हुन सक्छ। तर त्यस्तो सम्भावना निकै कम हुन्छ।

मेयो क्लिनिकका अनुसार एमएमआर खोपको पहिलो मात्रा लगाएका ९३ प्रतिशतभन्दा बढी मानिसहरूमा रोगप्रतिरोधी क्षमता विकास हुन्छ। दोस्रो मात्रा लगाउँदा ९७ प्रतिशत मानिसहरू सुरक्षित हुन्छन्।

दादुराको खोप लगाएको या नलगाएको थाहा नपाउने मानिसहरूले रगत परीक्षण गराएर विगतको खोपले आफूलाई सुरक्षा दिइरहेको या नदिएको थाहा पाउन सक्छन्।

अमेरिकामा रोग प्रतिरोधात्मक क्षमता नभएका वयस्कहरूलाई कम्तीमा एक मात्रा एमएमआर खोप लगाउन सुझाव दिने गरिन्छ।

यूकेमा सन् १९७० अघि जन्मिएका वयस्कहरूलाई बालबालिका रहेको समयमा दादुरा, हाडे र रुबेला लागेको हुन सक्ने ठानिन्छ। अथवा उनीहरूले एउटा दादुरा वा रुबेलाको खोप लगाएका पनि हुन सक्छन्। सन् १९८८ मा एमएमआर खोप आउनुअघि एक मात्रा मात्र दिने खोप प्रयोग गरिन्थ्यो।

कहिल्यै पनि सङ्क्रमण नभएका वा खोप नलगाएका व्यक्तिहरूले एक महिनाको अन्तरालमा दुइटा खोप लगाउनुपर्ने भनिएको छ। बीबीसीनेपालीबाट साभार गरिएको

प्रतिक्रिया दिनुहोस्