Logo
|
Saturday 4th May 2024
Logo

epaper

कुष्ठरोग विश्वव्यापी स्वास्थ्य समस्या, नेपालमा वर्षेनी २ हजार भन्दा बढी नयाँ कुष्ठरोगी भेटिने

समयमा उपचार गरेमा पूर्ण रुपमा निको हुने



नेपाल हेल्थ न्युज, काठमाडौं । अहिलेपनि कुष्ठरोग विश्वव्यापी गम्भीर स्वास्थ्य समस्याको रुपमा छ ।

शरीरमा रातो फुस्रो दाग देखिनु, अनुहारको छाला तथा कानको लोति बाक्लो हुने, शरीरमा गिर्खाहरु देखापर्नु, दागमा छुँदा थाहा नपाउनु, मांशपेशीहरु कमजोर हुने कुष्ठरोगको लक्षण हुन् । यो कुनै देउताको नभई किटाणुको करामत भएकाले तुरुन्त स्वास्थ्य संस्थामा गएर उपचार गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

कुष्ठरोगबारे जनतालाई सचेत गराउने र समाजमा रहेको भ्रम हटाउने उद्देश्यले हरेक वर्ष जनवरीको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाइन्छ ।

नेपालमा पनि ‘कुष्ठ रोग सम्बन्धि गलत अवधारणाको अन्त्य गरौं, मर्यादित व्यवहार गरौं’ भन्ने नाराका साथ ७१ औं कुष्ठ रोग दिवस विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

यसै अवसरमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले कुष्ठ रोगप्रतिको सचेतना अपनाउँदै कुष्ठरोग प्रभावितहरुलाई मर्यादित व्यवहार गर्न अनुरोध गर्नु भएको छ । सरकाले कृष्ठरोग मुक्त समाज बनाउन शून्य कुष्ठरोगको अवधारणा लक्ष प्राप्तिका लागि विभिन्न रणनीतिहरुका साथ अघि बढिरहेकाले यसलाई पूरा गर्न आआफ्नो क्षेत्रबाट समन्वयात्मक भूमिका निर्वाह गरिदिन सबैलाई आग्रह गर्नुभएको छ ।

यसैगरी स्वास्थ्य सचिव डा. रोशन पोख्रेलले कुष्ठरोग सामान्य रोग भएकाले समयमा उपचार गरेमा पूर्ण रुपमा निको हुने बताउनुभएको छ । उहाँले बालबालिकाहरुमा कुष्ठरोग शून्य बनाउने, कुष्ठरोगका कारण हुने अपाङ्गता दर घटाउने ५ वर्षे कार्य योजना तथा रणनीतिहरु अवलम्बन गरेको जानकारी गराउनुभयो ।

गतवर्ष नेपालमा दुई हजार दुई सय २५ जना कुष्ठरोगका नयाँ बिरामी भेटिएका छन् । पछिल्लो समय वर्षमा औषत दुई हजार दुई सय जना कुष्ठरोगका नयाँ बिरामी भेटिने गरेकामा गएको वर्ष दुई हजार दुई सय २५ जना नयाँ बिरामी भेटिएका स्वास्थ्य विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले जनाएको छ ।

विश्व स्वास्थ्य संङ्गठनले नेपाललाई सन् २०१० मा कुष्ठरोग निवारण भएको देश भनेर घोषणा गरेको थियो । सरकारले सन् २०३० को अन्त्यसम्म सबै जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ ।


विश्व स्वास्थ्य संगठनका अनुसार, कुष्ठरोग माइकोब्याक्टेरियम लेप्रे नामक एक प्रकारको ब्याक्टेरियाको कारणले हुने दीर्घकालीन संक्रामक रोग हो । यो रोगले मुख्यतया छाला र पेरिफेरल नर्भस्लाई असर गर्छ । उपचार नगरेमा रोग बढ्दै जाने र स्थायी रुपमा अपाङ्ग गराउन सक्छ । कुष्टरोग उपचार नभएका व्यक्तिहरुसँग नजिक र बारम्बार सम्पर्कमा रहँदा श्वासप्रश्वासका कारण सर्छ । वयस्कहरू भन्दा बालबालिकाहरू कुष्ठरोगका लागि बढी संवेदनशील हुन्छन् । बहुऔषधीय थेरापी (मल्टिपल ड्रग थेरापी) बाट कुष्ठरोग निको हुन्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर कुष्ठरोगका अधिकांश बिरामी अफ्रिका र एसियामा रहेका छन् । अमेरिकामा हरेक वर्ष १०० जना मध्ये १ जनामा यसको डायग्नोसिस भइरहेको छ ।


कुष्ठरोगको प्रकार अनुसार उपचार गर्न गर्नुपर्छ । संक्रमण निको पार्न चिकित्सकको सल्लाहमा एन्टिबायोटिक प्रयोग गरिन्छ, उपचार सामान्यतया ६ महिनादेखि एक वर्षसम्म रहन्छ । तर, यदि बिरामीलाई स्नायु क्षतिको समस्या भएमा अन्य उपचारहरू प्रयोग गरिन्छ । विश्व स्वास्थ्य संगठनले कुष्ठरोगबाट पीडित सबैलाई निःशुल्क उपचार उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्