Logo
|
Wednesday 15th January 2025
Logo

epaper

स्वास्थ्य अनुसन्धानमा प्रयोग गर्न बाँदर क्लोन गर्दै वैज्ञानिकहरू



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिनियाँ अनुसन्धानकर्ताहरूले पहिलो पटक रीसस जातको बाँदरको क्लोनिङ गरेका छन्। मानिसको जस्तै शारीरिक संरचना हुने भएकाले यो जातको बाँदर स्वास्थ्य अनुसन्धानमा व्यापक रूपमा प्रयोग गरिन्छ। प्रयोगशालामा क्लोन गरिएका बाँदरको प्रयोगबाट चाँडै औषधि परीक्षण गर्न सकिन्छ।

अनुवांशिक समानता भएका पशुहरू प्रयोग गरी अनुसन्धान गर्दा समान परिणाम आउने भएकाले क्लोन गरिएका बाँदरको प्रयोगबाट औषधिको परीक्षण चाँडै हुन सक्ने ठानिएको छ।

विगतमा रीसस बाँदर क्लोन गर्ने प्रयास गर्दा कहिले विफल भएको थियो भने कहिले जन्मिएका शिशु केही घण्टामै मरेका थिए।एउटा पशुअधिकारवादी संस्थाले बाँदर क्लोन गर्ने विषयप्रति आफू ‘निकै चिन्तित’ बनेको जनाएको छ।

अनुसन्धान के हो?
स्तनधारी जीवहरूमा मैथुनिक प्रजनन हुँदा भाले र पोथीका जीन मिश्रित सन्तानको जन्म हुन्छ। क्लोनिङ गर्दा एउटै जीवको जीनसँग दुरुस्त मिल्ने अर्को जीव बनाउने प्रविधि प्रयोग गरिन्छ।

क्लोनिङ गरेर जन्मिएको सर्वाधिक चर्चित जीव ‘डलीु नामक भेडा थियो। उक्त भेडाको जन्म सन् १९९६ मा भएको थियो।

वैज्ञानिकहरूले एउटा भेडाका छालाका कोषहरू प्रयोग गरेर भ्रूणहरू बनाएका थिए। भ्रूणबाट जीवका अङ्ग प्रत्यङ्ग विकसित हुन्छन्। त्यसपछि ती भ्रूणलाई डलीको सरोगेट आमाको गर्भमा राखिएको थियो।

नेचर कम्यूनिकेशन्स नामक जर्नलमा लेख्दै अनुसन्धानकर्ताहरूले उनीहरूले रीसस बाँदरमा पनि त्यसै गरिएको जनाएका छन्। उनीहरूका अनुसार त्यसरी जन्मिएको बाँदर दुई वर्षभन्दा बढी समयदेखि स्वस्थ छ। अर्थात् त्यसले क्लोनिङ प्रक्रिया सफल भएको सङ्केत गरेको छ।

यूनिभर्सिटी अफ चाइनिज अक्याडमी अफ साइन्सिजका डा फालोङ लुले उक्त सफलतापछि सबै जना खुशीले गदगद भएको बताउनुभयो।

तर यूकेको रोयल सोसाइटी फर द प्रिभेन्शन अफ क्रूअल्टी टू एनिमल्स (आरएसपीसीए) का प्रवक्ताले आफ्नो संस्थाले परीक्षणका लागि प्रयोग गरिने त्यस्ता पशुले भोग्नुपर्ने पीडा बिरामी मानिसले पाउने फाइदाभन्दा बढी हुने ठानेको बताएका छन्।

रीसस बाँदर एशियामा पाइन्छ। अफगानिस्तान, भारत, थाईल्यान्ड, भियतनाम र चीनमा पाइने यी जातको बाँदरलाई सङ्क्रमण र रोगको प्रतिरोधबारे अध्ययन गर्न पनि प्रयोग गरिन्छ।

मानवसँगको आनुवंशिक समानताका कारण रीसस जातका बाँदरहरू स्वास्थ्य अनुसन्धानकर्ताहरूको रोजाइमा पर्ने गर्छन्। तर वयस्क कोषलाई पुनः प्रोग्र्यामिङ गरेर भ्रूण बनाउने प्रयास गर्दा अधिकांश गल्ती हुन्छ र बच्चा जन्मिने सम्भावना निकै कम हुन्छ। अधिकांश स्तनधारी जीवमा त्यसरी जन्मिएकामध्ये एकदेखि तीन प्रतिशत मात्र स्वस्थ हुन्छन्। रीसस बाँदरमा त त्यो झन् कठिन भयो।

क्लोनिङ गरेर रीसस बाँदर जन्माउने प्रयास गर्दा गर्भमा अक्सिजन र पोषण पुर्‍याउने सालनाललाई क्लोनिङ प्रक्रियामा राम्रोसँग प्रोग्र्यामिङ नगरिएको पत्ता लाग्यो। त्यही भएर भ्रूणले राम्ररी विकसित हुन पाएन।

अनुसन्धानकर्ताहरूले उक्त समस्याको समाधान खोज्ने क्रममा क्लोन गरिएको भ्रूणको बाह्य भाग प्रयोग गरेनन्। त्यो भागबाट सालनालको बाहिरी भाग बन्थ्यो।

तल देखाइएको चित्रमा जस्तै उनीहरूले शरीर बन्ने भित्रीहरू कोष हटाएर त्यसलाई क्लोन नगरिएको र बाह्य भाग मात्र भएको भ्रूणमा हाले। त्यसले साधारण खालको सालनाल बन्ने उनीहरूको अपेक्षा थियो।

क्लोन
अनुसन्धानकर्ताहरूले ११३ वटा भ्रूण प्रयोग गरेका थिए। तीमध्ये ११ वटा पोथी बाँदरमा सारिएको थियो। तर दुइटामा मात्र गर्भ बस्यो र एउटा मात्रै बच्चा जन्मियो। उनीहरूले उक्त बाँदरको नाम “रेट्रो” राखे।

सो बाँदर विकास गर्न प्रयुक्त विधि “ट्रोफोब्लास्ट रिप्लेसमन्ट” का आधारमा उक्त नाम राखिएको थियो। आरएसपीसीएका प्रवक्ताले यो अनुसन्धानबाट गम्भीर चिन्ता उत्पन्न भएको बताएका छन्।

“यो अध्ययन तत्काल प्रयोग हुँदैन। हामीलाई बिरामीलाई यसबाट फाइदा हुन्छ भनेर अपेक्षा गर्न लगाइयो तर वास्तविक जीवनमा यसको प्रयोग धेरै वर्षपछि मात्रै हुन सक्छ। अनि यो प्रविधिलाई विकास गर्न थप पशु ‘मोडल’ आवश्यक पर्छ।”

“आरएसपीसीए पीडा भोग्ने पशुको ठूलो सङ्ख्या र एकदमै कम सफलता दर भएका यस्ता प्रयोगहरूबारे चिन्तित छ। बाँदरहरू बुद्धि र चेतना भएका जीव हुन्, अनुसन्धानका साधन होइनन्।”

फ्रान्सिस क्रिक इन्स्टिट्यूट लन्डनका प्राध्यापक रोबिन लोभेल–ब्याज पशुले पाउने पीडाको तुलनामा बिरामीले बढी लाभ पाउने भए त्यस्तो अनुसन्धानलाई समर्थन गर्छन्। तर रीसस बाँदरको क्लोनिङप्रति उनी पनि चिन्तित छन्।

“एकैखालका अनुवांशिक गुण भएका जनवारहरूले अनुसन्धानमा स्रोतको विविधतालाई कम गर्छ। तर तपाईँले के यो साँच्चै आवश्यक छ कि छैन भनेर पनि सोध्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो ।

“उनीहरूले धेरै प्रयास गरे। उनीहरूले धेरै भ्रूणको प्रयोग गर्नुपर्‍यो र धेरै सरोगेट आमाहरूको गर्भमा प्रत्यारोपण गरेर एउटा जीवित बाँदरको जन्म भयो।”

कसरी सम्भव छ ?
प्राध्यापक लोभेल–ब्याजले वैज्ञानिकहरूले एउटा मात्रै सुरक्षित जन्म गराएकोमा पनि चिन्ता व्यक्त गर्दै भन्नुभयो– “जम्मा एउटा जन्म भएकाले तपाईँ यो विधिको सफलता दरबारे कुनै निष्कर्षमा पुग्न सक्नुहुन्न। कम्तीमा दुइटा र साँच्चिकै भन्नुपर्दा धेरैवटा सुरक्षित जन्म चाहिन्छ।”

त्यसको जबाफमा डा फालोङ लूले बीबीसीसँग आफ्नो टोलीको उद्देश्य कम भ्रूण प्रयोग गरी धेरै क्लोनिङ गरिएका बाँदरहरू हासिल गर्नु भएको बताउनुभयो। उहाँले अनुसन्धानका लागि सबै मापदण्ड पूरा गरेको दाबी गर्नुभयो ।

‘हाम्रो अनुसन्धानमा पशुहरूबारे प्रयोग भएका सबै प्रक्रियाले शाङ्घाई इन्स्टिट्यूट अफ बायोलजिकल साइन्सको एनिमल यूज एन्ड केअर कमिटी, चाइनिज अक्याडमी अफ साइन्सिज, इन्स्टिट्यूट अफ न्यूरोसाइन्स, सीएएस सेन्टर फर एक्सिलन्स इन ब्रेन, साइन्स एन्ड इन्टेलिजन्स टेक्नोजलीको मापदण्ड पूरा गरेका छन्।’

उहाँका अनुसार क्लोनिङको चरणबद्ध विधिलाई एनिमल यूज एन्ड केअर कमिटी अफ सीएस सेन्टर फोर एक्सिलन्स इन ब्रेन साइन्स एन्ड इन्टेलिजन्सले अनुमोदन गरेको छ। बीबीसीनेपालीबाटसाभार

प्रतिक्रिया दिनुहोस्