Logo
|
Wednesday 15th January 2025
Logo

epaper

माैसमी भाइरल ज्वराेले आमाको मृत्यु, ४ महिने शिशुसहित तीन बालबच्चाको बिचल्ली



जनस्वास्थ्य सरोकार, मुगु । उत्तरी  सोरु गाउँपालिका–६, पुरुमुरु गाउँमा २४ वर्षको  कलिलो उमेरमै आमाको मृत्यु भएपछि उनका कलिला बाल बच्चाको बिचल्ली भएको छ। केही हप्ता अगाडि गाउँमा फैलिएको माैसमी भाइरल ज्वरोको प्रकोपले गत साता २४ वर्षीया कुसुम ढोलीको ज्यान गएको थियो । आमाको मृत्यु पछि ४ महिने दुधे बच्चा सहित ३ जना  छोराछोरी टुहुरा भएका छन् भने उनीहरूको भविष्य अन्धकारमा धकेलिएको छ। उनका एक छोरा र दुई छोरी थिए । उनकी कान्छी छोरी रजना भर्खरै ४ महिनाको मात्रै पुग्दै छिन्। 

हरेक वर्ष  भारतको  मजदुरीले पेट पाल्दै  आएको  ढोली परिवार अहिले महाविपत्तिमा भुमरीमा  फसेको छ। श्रीमतीको मृत्युपछि शोकमा डुबेका उनका श्रीमान् अझैसम्म अर्ध बेहोसमै छन्। उनी केही बोलेनन्। ‘अरूलाई त  सन्चो भएपछि ज्याला मजदुरी गरेर जसोतसो  हुर्काउँला, त्यो अन्न खानै नथालेको ४ महिनाको बच्चालाई के खुवाएर बचाउने भनेर सोच्न सकेको छैन,’ कुसुमका ससुरा सलबहादुर ढोलीले भने।

सलबहादुर आफैँ पनि बिरामी छन् । उनका भाइ बुहारी पनि ज्वरोले थलिएका छन्। रोग र शोक एकै पटक झेलिरहेको परिवारलाई पोषिलो आहार र उपचारको खाँचो छ। तर बिहान बेलुकाको दुई छाक जुटाउन समेत कठिन हुने स्थितिमा ढोली परिवार पुगेको छ ।

‘घरमा दुई छाक टार्नै धौ–धौ छ। मजदुरी गरेर खान्थ्यौँ,’ सलबहादुरले भने, ‘अहिले रोग र भोक र शोकको विपत्ति एकै पटक आयो, ठुलाले जे खाए पनि हुने रहेछ, यी कलिलो बाल बच्चालाई के खुवाएर बचाऔँ ?’ घर खर्च जोहो गर्न घरमा श्रीमती र सुत्केरी बुहारीलाई छोडेर गत मंसिरमा सलबहादुर छोरालाई लिएर मजदुरी गर्न भारत पुगेका थिए।

तर दुई महिना नबित्दै घरमा विपत्ति आइलाग्यो। सबै जना बिरामी परेको खबर पाएपछि उनीहरू घर फर्किए, तर घर आइपुग्दा बुहारीको श्वास रोकिसकेको थियो। गाउँभरि नै भाइरल ज्वरोको प्रकोप छ। ‘घरैभरि बिरामी छन्। मान्छेको बिचल्ली छ,’ सलबहादुरले भने, ‘वल्लो घर पल्लो घरका नानीहरूले दूध खुवाएर त्यो बच्चालाई बचाएका छौ । कसलाई के भनौँ रु कसरी मागौँ ?’

ढोली परिवारलाई परेको विपत्तिमा वडा र गाउँपालिका वा कुनै पनि सरकारी निकायको नजर परेको छैन। झण्डै एक महिनासम्म निरन्तर ज्वरो आउने, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, नाकमुख सुख्खा हुने जस्ता लक्षण देखिएर बिरामी परेकी कुसुमको गतसाता जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

भाइरल ज्वरो फैलिँदा गाउँमा कुसुमसहित अन्य दुई जनाको समेत मृत्यु भएको छ भने अहिले पनि सयौँ जना बिरामी छन्।  सोरू भेगमा  फैलिएको भाइरल ज्वरोको प्रकोपले सयौँ बिरामी थला परेको अवस्थालाई मध्यनजर गर्दै नेपाल विद्यार्थी संघका केन्द्रीय  सदस्य धर्मराज शाही लगायतको टोलीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेत लाई भेटी रोग प्रभावित क्षेत्रमा चिकित्सकको टोली खटाई दिन माग समेत गरेको छ । रेडियोनेपाल

प्रतिक्रिया दिनुहोस्