Logo
|
Friday 26th April 2024
Logo

epaper

क्यान्सर रोकथाम र उपचारको क्षेत्रमा बढिरहेको दुरी कम गर्न ‘क्यान्सर रजिस्ट्री’ आवश्यक



उमा काफ्ले दाहाल

आज विश्व क्यान्सर दिवस । ‘क्लोज दि केयर ग्याप’ भन्ने नारासहित शारीरिक, मानसिक, आर्थिक, सामाजिक हिसाबले अत्यन्तै पीडा दिने रोग क्यान्सरको विरुद्धमा कार्यरत सम्पूर्ण कर्मचारी, क्यान्सर पीडित बिरामी र क्यान्सरलाई जितेर नयाँ जीवन पाउनुहुने सम्पूर्णमा विश्व क्यान्सर दिवसको शुभकामना दिन चाहन्छु ।

यस सन्दर्भमा दुईचार शब्द लेख्दै गर्दा मेरो मनमा थुप्रै प्रश्नहरु उब्जिरहेका छन् । ‘क्लोज दि केयर ग्याप’ भन्ने नारालाई कसरी आत्मसाथ गर्ने ? केयर भनेको के हो ? केयरको ‘स्कोप’ अथवा दयारा कहाँसम्म हो ? हाम्रो देशमा क्यान्सरका बिरामीको केयरमा भइरहेको ग्यापलाई कसरी कम गर्ने ? पक्कै पनि हामीले पहिला यी प्रश्नहरुको उत्तर खोज्न जरुरी छ ।

केयर भन्नाले अस्पतालमा प्रदान गरिने चिकित्सकीय तथा नर्सिङ्ग सेवा मात्र होइन । यसभित्र रोेकथाम गर्ने (Preventive Care), उपचार गर्ने (Curative Care), रोग लागेर असक्त भएका बिरामीको उच्चतम शक्ति पुनः प्राप्तिका लागि आवश्यक स्याहार गर्ने (Rehabilitative Care) र निको नहुने रोगले दिने पीडा कम गर्न गरिने स्याहार (Palliative Care) आदि सबै केयरभित्र पर्दछन् । क्यान्सरको क्षेत्रमा यी सम्पुर्ण केयरबिचको ग्याप अथवा सेवा दिन खोजिएका तर सेवा उपलब्ध गराउन नसकिएकाको बिचको दुरी कति छ त ? सायद यस प्रश्न प्रति कसैको मानसपलटमा Brainstorming भएको छैन होला । यदि हुन्थ्यो भने हामी हाम्रो देशको आफ्नै तथ्याङ्क खोज्न तत्पर रहन्थ्यौँ होला ।

क्यान्सरको रोकथाम तथा उपचारको क्षेत्रमा बढिरहेको दुरी निर्धारण गर्ने मुख्य तत्व भनेको जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री (Population-Based Cancer Registry, PBCR) हो । जसरी जन्म, मृत्यु र बसाई–सराईले मानिसको जनसंख्याको घटबढ र स्थानान्तरण भएको तथ्यांक दिन्छ, । त्यसरी नै जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्रीले क्यान्सरको संख्याको घटीबढी तथा क्यान्सरको ढाँचा (Cancer Patterns) स्थानान्तरणको एकिन तथ्याङ्क दिन्छ ।

देशको कुन प्रदेश, जिल्ला र स्थानीय निकायमा क्यान्सर पीडितको संख्या कति छ ?, क्यान्सर लागिसकेपछि कतिबर्षसम्म कति मानिस बाँच्न सफल भएका छन् ?, कुन क्षेत्रमा के–कस्ता क्यान्सरको प्रकोप छ ?, कुन क्षेत्रका लागि कस्तो किसिमको रोकथाम तथा नियन्त्रण कार्यक्रम आवश्यक छ ? भन्ने तथ्याङ्क हुन जरुरी पर्छ । हामीले दशकौँ पहिले बनाएका दस्ताबेजहरु जस्तै पाठेघरको मुखको क्यान्सर परीक्षण निर्देशिका, सुर्तीजन्य पदार्थ नियन्त्रण निर्देशिका जस्ता दस्ताबेजको प्रभावकारी कार्यान्यन भएको छ/छैन अथवा यस्ता कार्यक्रमले सम्बन्धित क्यान्सरको प्रकोप घटाएको छ/छैन ? जस्ता गम्भीर प्रश्नहरुको तथ्यांक सहितको उत्तर खोज्ने ठाउँ नै जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री हो ।

हामीले हरेक क्षेत्रमा बोल्दै गर्दा तथ्यलाई आधार बनाएर काम गर्नुपर्छ । तर, हामी तथ्य खोज्ने तिर ध्यान नै दिँदैनौँ । यसमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ । हामी कहिलेसम्म छिमेकी देशले गरेका तथ्यांकको आधारमा अन्तराष्ट्रिय निकायले गरेका अनुमानित तथ्यांकको भरमा मात्र हाम्रा कार्यक्रमहरु निर्धारण गर्ने ? अन्तर्राष्ट्रिय स्तरको तथ्यांक निकाल्न सक्ने खुबी हामी मै छ । मात्र यसको महत्व बुझेर आवश्यकता महशुस गर्न जरुरी छ ।

जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्रीका क्षेत्रमा हाम्रै छिमेको देश चीन र भारतको मात्रै कुरा गर्ने हो भने पनि बिगत ६० वर्ष देखि निरन्तर (चीनमा १९७३ र भारतमा १९६३ ) देखि जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री गर्दै आइरहेका छन् । क्यान्सर रोकथाम तथा नियन्त्रण कार्यमा चाहिने आवश्यक तथ्यांक उपलब्ध गराइरहेका छन् ।

नेपाल सरकारको एक मात्र स्वास्थ्य क्षेत्र संग सम्बन्धि अनुसन्धान गर्ने निकाय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्रीको महत्व आत्मसाथ गर्दै सन् २०१८ मा यसको जन्म गराएको छ । नेपालका विभिन्न नौ जिल्लाहरुमा यो गर्दै आइरहेको छ । यस कार्य शुरु गर्नु पूर्व परिषद्ल केहि जनशक्तिलाई अन्तर्राष्ट्रियस्तरको तथ्यांक संकलन तथा विश्लेषण सम्बन्धमा तालिम गराउन क्यान्सर सम्बन्धि अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय निकाय (International Agency for Research on Cancer, IACR) को क्षेत्रीय निकाय (Tata Memorial Centre, Advanced Centre for Treatment, Research and Education in Cancer, Mumbai, India) संग सहकार्य गरी सुरु गरेको हो ।

जसअनुरुप दक्ष जनशक्तिबाट क्यान्सर सर्भिलेन्स अथवा जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री गर्दै आईरहेको छ र यसले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका आफ्नै देशको वास्तविक तथ्यांक उपलब्ध गराईरहेको छ । तर, बिडम्बना आजभन्दा ३१ वर्ष अगाडी जन्मिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा लामो समय देखि विभिन्न तहका थुप्रै दरबन्दीहरु खाली भएता पनि सम्बन्धित निकायले त्यसतर्फ ध्यान नै नदिँदा जनशक्ति अभावमा यस्ता महत्वपुर्ण कार्यक्रमहरु ओंझेलमा परिरहेका छन् ।

क्यान्सर रोकथाम तथा नियन्त्रणमा प्रत्यक्ष सरोकार राख्ने यस्ता कार्यक्रमहरुलाई कुनै राजनैतिक पुर्वाग्रह बिना निरन्तर सहजीकरण गरी आवश्यक बजेटको व्यवस्था सहित दीगो रुपमा संचालन गर्न सहयोग गर्नुका साथै उत्पादित तथ्यांकहरुको उच्चतम प्रयोग गरी क्यान्सर रोकथाम तथा नियन्त्रण कार्य प्रभावकारी ढंगबाट अगाडी बढाउन सकियो भने मात्रै क्लोज दि केयर ग्याप भन्ने नाराले सार्थकता पाउने छ ।
(लेखक काफ्ले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्–जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्रीको अनुसन्धान अधिकृत र बीएन नर्स हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्