Logo
|
Sunday 28th April 2024
Logo

epaper

जो सरकारी विद्यार्थी थिए, अब्बल डाक्टर बने

विदेशको मोह त्यागे, स्वदेशलाई कार्यथलो बनाए



एउटा डाक्टर बन्न महँगा निजी विद्यालयमा अध्ययन गर्नुपर्ने धेरैको सोचाइ पाइन्छ । तर सरकारी विद्यालयमा अध्ययन गरेर पनि अव्वल डाक्टरको ओहदामा पुग्ने व्यक्ति पनि हाम्रो समाजमा छन् ।

यसैमध्येका एक हुनुहुन्छ—प्रा.डा. रत्नमणि गजुरेल । जो सरकारी विद्यालयबाट एसएलसी उत्तीर्ण गरेर चिकित्सा क्षेत्रमा अव्वल दर्जाको पहिचान कायम गर्न सफल हुनुभयो । उहाँको जन्म काठमाडौँको मुलपानी (हाल कागेश्वरी मनोहरा नगरपालिका) मा भएको हो । वरिष्ठ इन्टरभेन्सनल कार्डियोलोजिष्ट प्रा.डा गजुरेल हाल मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा निर्देशकको जिम्मेवारी वहन गरिरहनुभएको छ । उहाँ कार्डियाक सोसाइटी अफ नेपालको अध्यक्षसमेत हुनुहुन्छ । उहाँ नोभेम्बर २०२३ मा सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल ( साइमन) को अध्यक्षमा पनि निर्वाचित हुनुभएको छ । साथै डा. गजुरेल महाराजगञ्ज मेडिकल क्याम्पसको कार्डियोलोजी विभागको निवर्तमान प्रमुखसमेत हुनुहन्छ ।

प्रा.डा. गजुरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) बाट २०६१ सालमा इन्टरनल मेडिसिनमा एमडी र बि.सं २०५६ सालमा आइओएमबाट एमबीबीएस उत्तीर्ण गर्नुभएको थियो । प्रा.डा. गजुरेल २०४६ सालमा महाराजगञ्ज मेडिकल क्याम्पसबाट हेल्थ असिस्टेन्ट कोर्ष अध्ययनका लागि भर्ना हुनुभएको थियो । बि.सं. २०४५ सालमा पद्मोदय माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरेपछि उहाँले मेडिसिनमा करियर बनाउने सोच राख्नुभयो । त्यो बेला समाजमा डाक्टरी पेशालाई प्रतिष्ठित पेशाका रुपमा पनि लिइन्थ्यो । प्रा.डा. गजुरेल भन्नुहुन्छ—‘कति कुरा आफै बुझेँ, कति कुरा अन्जानमा परिवारको इच्छा अनुरुप डाक्टरी लाइनमा आइयो ।’

उहाँ भन्नुहुन्छ—‘त्यो बेला एक वर्ष मेडिकल अफिसर भएर काम नगरी पोष्ट ग्र्याजुएट अध्ययन गर्न पाइँदैनथ्यो । त्यसपछि त्रिवि शिक्षण अस्पतालको मेडिसिन विभागमा एक वर्ष मेडिकल अफिसर भएर काम गरेँ । सोही समयमा लोक सेवा आयोगको परीक्षामा सामेल भएर सो परीक्षामा एक नम्बरमा नाम निस्कियो । भक्तपुर अस्पतालमा पोष्टिङ पाएँ । त्यो बेला एमडीको कमन इन्ट्रान्स खुल्यो र परीक्षामा सामेल भई पास गरेँ । मेरिटमा टप फाइभ भित्र मेरो नाम निस्कियो । इन्टरनल मेडिसिनमा आएओएमबाट एमडी गर्ने अवसर पाएँ ।’

‘एमडी सकिएपछि कहाँ काम गर्ने ? नेपालमा बस्ने कि विदेश जाने ? अन्योल बढ्यो । लोक सेवा आयोगमा नाम निस्किए पनि परीक्षणकाल नै नसकी जागिर छाडेको थिएँ । पुनः काममा फर्कन मिल्छ कि मिल्दैन भनेर बुझ्न स्वास्थ्य मन्त्रालय गएँ ।’—प्रा.डा. गजुरेल भन्नुहुन्छ— ‘नेपालमा डाक्टरको अभाव भएकाले केही कानूनी प्रक्रिया पूरा गरेर पुनः सेवा सुरु गर्न सकिने आश्वासन त पाएँ । तर बुझ्दै जाँदा यो प्रक्रिया निकै झन्झटिलो रहेछ ।’

‘त्यहि समय त्रिवि शिक्षण अस्पतालको मेडिसिन विभागमा फ्याकल्टी डाक्टर (शिक्षण सहायक) को जागिर खुल्यो । छनौटमा परेँ । त्यसपछि इन्टर मेडिसिनको कार्डियोलोजी यूनिटमा काम सुरु गरेँ । मुटुसम्बन्धिका बिरामीहरुको सेवा गर्ने अवसर मिल्यो । यसमा पहिलेदेखि नै रुचि थियो । यसले अझै हौसला बढायो । यसै विधामा सब–स्पेशियालिटी गर्ने योजना बनाएँ । आफूसँगका कतिपय साथीले बिदेशमा सफलता हाँसिल गरिरहेका थिए । आफूले नेपाल मै बसेर केही गर्न नसकेको हो कि भन्ने अनुभूति नहोस भनी विदेशको पनि अनुभव लिने विचार गरेँ । कतिपयले विदेशमा गएर काम गर्न सल्लाह दिन्थे ।

नेपाल छाडेर ‘खुशी हुन सक्छु कि सक्दिन’ भनेर आफैंलाई जाँच्न मन लाग्यो । त्यसपछि केही समयका लागि जागिरबाट छुट्टी लिएँ र अमेरिका गएँ । हुन त मेरो उद्धेश्य अमेरिका बस्ने पटक्कै थिएन । त्यहाँ पुगेपछि नेपालमा नै फर्किएर सेवा गर्ने हुटहुटी बढेर आयो । आफूले नेपालको र अमेरिकामा भइरहेको अभ्यास राम्रोसँग तुलना गरेँ । अमेरिकामा छोटो तालिम, राम्रो सिप र लाइसेन्स परीक्षाको औपचारिकता पूरा गरेर पुनः स्वदेश फर्किएँ ।

‘म नेपालमै ठिक छु, नेपालमै केही गर्न सक्छु’ भन्ने आत्मविश्वास बढ्यो । नेपालबाट हेर्दा अमेरिका जति राम्रो लाग्थ्यो, अमेरिकाबाट नेपालमा हेर्दा पनि कतिपय कुुराहरु उत्तिकै राम्रो भएको पाएँ । सायद मेरो देशप्रतिको सकारात्मक सोच ले होला । यहाँ बिहान बेलुकाको समय आफन्त र परिवारसँग बिताएर दिउँसो काममा जान पाइन्छ र आत्म सन्तुष्टी पनि मिल्ने रहेछ ।’

अर्को कुरा मैले काठमाडौँमा सेटल हुन दुःख गर्नुपर्ने थिएन किनकि म काठमाडौंकै बासिन्दा थिएँ । नेपालमा पनि मेरो लागि काठमाडौंमै सम्पूर्ण भौतिक पूर्वाधार पारिवारिक लेवलबाट नै तयार थिए । आफूले कसरी गुणस्तरीय सेवा दिनेबारे चिन्ता मात्र लिए पुग्थ्यो । पारिवारिक समर्थन र सहयोग पनि राम्रो थियो । त्यसैले विदेशमा तीन वर्ष रेजिडेन्सी गर्नुभन्दा नेपालमा इन्टरभेन्सनल कार्डियोलोजीमा डीएम गर्ने सोच बनाएँ । त्यतिबेला नेपालमा डीएम कार्यक्रम सुरु हुने हल्ला थियो । सन् २००९ आईओएममा कार्डियोलोजी विषयमा डीएमको कोर्ष शुरु भयो । आवेदन दिएँ, इन्ट्रान्समा मेरिटमा छनौट भई डीएम कार्डियोलोजी पढ्न पाइयो । डा. मुरारी वराकोटी र म आइओएमको पहिलो ब्याचका बिद्यार्थी थियौं । हामी सन् २०१३ मा पास आउट भयौँ ।

त्यतिबेला क्याथल्यावको सेवा अहिलेको जस्तो थिएन । पहिलो ब्याच भएकाले केही कठिनाइ र असहजता भोग्नुपर्यो । यस्ता चुनौति र अप्ठ्यारापनालाई अवसरको रुपमा लिएर अगाडी बढ्न साहस गरेँ । सिकेका अनुभव नयाँ पीँढिका डाक्टरहरुलाई बाँड्न शुुरु गरेँ । त्यो बेला क्याथल्यावको प्रोस्युुडर पनि गर्नुपथ्र्यो । एक चिकित्सक शिक्षक भएकाले आफूले लिएको अनुभव अरुलाई सिकाउनुपथ्र्यो । यसका लागि थप विज्ञता हाँसिल गर्न जरुरी थियो र म इटली गएँ ।

सन् २०१४ मा इटलीको मिलानबाट बच्चा र वयस्कको जन्मजात मुटुको प्वाल र अन्य मुटुका रोगसम्बन्धि इन्टरभेन्सनल कार्डियोलोजीमा फेलोशिप गरेँ । त्यसपछि नेपाल फर्किएँ । त्यस लगत्तै एडल्ट कोरोनरी इन्टरभेन्सनमा फेलोसिप गर्न नेशनल हार्ट सेन्टरबाट छनौट भएकाले सिंगापुर जाने अवसर मिल्यो । सिंगापुर अलि खर्चिलो देश थियो । आफ्नो व्यक्तिगत खर्चमा निर्वाह हुने अवस्था थिएन । आफ्नै देशको विश्वविद्यालयमा योगदान दिने उद्देश्यले थप अध्ययन गर्न जान लागेको र डीएम गर्ने पहिलो ब्याचको विद्यार्थी पनि भएकाले खर्च जुटाइदिन स्वास्थ्य मन्त्रालय र अन्य स्टेक होल्डरसँग अनुरोध गरेँ । आईओएम र स्वास्थ्य मन्त्रालयको सिफारिसमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को छात्रबृत्ति पाएँ । एक वर्षको इन्टरभेन्सनल कार्डियोलोजीमा फेलोशिप गरेर सन् २०१५ मा नेपाल फर्किएँ । त्यसपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा सेवालाई निरन्तरता दिएँ ।

प्रतिक्रिया दिनुहोस्