Logo
|
Saturday 27th April 2024
Logo

epaper

डाक्टर अध्ययन गरिरहेका अव्वल विद्यार्थीको राज

आफ्नो खुशी र सहजीकरणका आधारमा तालिका व्यवस्थापन गरेमा क्षमता बढ्ने



दक्षता वास्तविक भित्री सुन्दरता हो । मेडिकल क्षेत्रमा मन, मस्तिष्क र व्यवस्थापनलाई निरन्तर सुन्दर रूपमा स्वीच गरिरहनुपर्छ । अध्ययनको व्यवस्थापन, बिरामीसँग नम्र रूपमा प्रस्तुत हुने, पीडा सुन्ने, बिरामीसँग असल सम्बन्ध स्थापित गर्ने जस्ता कार्य यो क्षेत्रको वास्तविक सुन्दर रूप हुन् । एमबीबीएसमा ९ सेमेस्टर हुन्छन । ५ वर्ष ६ महिना अध्ययन गर्नुपर्छ । यस अंकमा हामीले काठमाडौं मेडिकल कलेजमा विभिन्न व्याचमा डाक्टर अध्ययन गरिरहेका अव्वल विद्यार्थीको अध्ययनको राजबारे जानकारी गराउने कोशिस गरेका छौं ।

‘सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने प्रयास गरेकी छु’

स्मृति बस्नेत, एमबीबीएस चौथो वर्ष

होस्टलमा दुई जना रूम पार्टनर छौँ । बिहान करिब ६ बजेतिर उठ्ने गर्छु । एकैछिन शारीरिक अभ्यास गर्छु । आफ्नो अनुकुलताको आधारमा तालिका बनाउने गरेकी छु । कलेज जानुअघि करिब २ घण्टाजति अध्ययन गर्छु । बिहान ९.०० बजेदेखि अपरान्ह १२.०० बजेसम्म मर्निङ पोस्टिङ हुन्छ । १२ देखि १ बजेसम्म सैद्धान्तिक पढाइ हुन्छ । १ देखि २ बजेसम्म खानाको समय हो । २ बजे देखि ३ बजेसम्म फेरि अर्को सैद्धान्तिक कक्षा हुन्छ । त्यसपछि ४ बजेसम्म टुटोरियल कक्षा हुने गर्छ । त्यसपछि स्पेसिफिक फ्याकल्टीहरूको गाइडमा थप अभ्यासहरू हुने गर्छन् । हरेक दिन अध्ययन गर्ने शीर्षकको विषयवस्तुबारे पहिल्यै हेरेर जाने गर्छु । पढाइमात्र सबैकुरा होइन, आफूलाई सन्तुलनमा राख्नुपर्छ । आफ्नो खुशी र सहजीकरणका आधारमा तालिका व्यवस्थापन गरेमा क्षमता बढ्ने रहेछ । अध्ययन गर्दा साथीहरूबीच छलफल गर्नुपर्छ । पढाउँदा गम्भीर भएर सिक्ने र व्यवहारमा उतार्ने प्रयास गर्नुपर्छ । वास्तवमा कोही टपर भएर धेरै जान्ने वा एभरेज मार्क आएर कम जान्ने भन्ने हुँदैन, त्यो भ्रम हो । सबैको आ–आफ्नो अध्ययन गर्ने शैली हुन्छ । मलाई जसरी सजिलो लाग्छ, त्यसरी नै अध्ययन गर्छु । स्कोर ल्याउनु एउटा पार्ट हो भने ज्ञान हाँसिल गर्नु अर्को पाटो हो । कसैको राम्रो अंक आउँदैमा सबै कुरा आउँछ र ऊ गिफ्टेड हो भन्न मिल्दैन । कोही पनि सबैकुरामा पोख्त हुन सक्दैनन् । स्कोर गर्नु महत्वपूर्ण हो, तर यो बेन्च मार्क होइन । डाक्टर पढ्ने सानैदेखिको रहर हो, त्यही भएर एमबिबिएस पढिरहेकी छु । भविष्यमा केमा स्पेसलाइज (विशेषज्ञता) गर्ने भन्नेबारे सोचिसकेको छैन । तर इन्टर्नशीप गर्दै जाँदा क्लिनिकल्ली वर्किङ वातावरणले निर्णय गर्न सकिएला ।

‘थोरै समयमा धेरै कुरा बुझेर पढ्दा राम्रो गर्न सकिने रहेछ’

जिया आचार्य, एमबीबीएस—चौथो वर्ष

बिहान ९ बजेदेखि ४ बजेसम्म कलेजमा सैद्धान्तिक र व्यवहारिक कक्षा हुने गर्छ । ब्रेक वा कुनै क्लास नभएको बेलामा खेर जाने समयलाई पढाइमा उपयोग गर्छु । बेलुका दुई घण्टा र बिहानको समयमा पढाइलाई प्राथमिकता दिन्छु । मेडिकल पढ्ने विद्यार्थीले निरन्तर घोटिएर पढिरहनुपर्छ भन्ने मिस–कन्सेप्सन छ । तर वास्तवमा यस्तो होइन् । थोरै समयमा धेरै कुरा बुझेर पढ्दा काफी हुन्छ । अध्ययनमा लगनशीलता हुनुपर्छ । नबुझेका कुरा सोध्नुपर्छ । सोध्न डराउन हुँदैन । बिरामीको सेवाप्रति केन्द्रित हुनुपर्छ । अहिले पढाइसँगै जर्नल अफ नेपाल मेडिकल एसोसियसनको असिस्टेन्ट एडिटरको रूपमा समेत कार्यरत छु ।

‘अनुशासित र कन्सिस्टेन्सी भएर अध्ययन गर्छु’

सृष्टि न्यौपाने, एमबीबीएस—तेस्रो वर्ष

सानैदेखि डाक्टर बन्ने इच्छा थियो । बुबा आमाले पनि साथ दिनुभयो । दाजुले पनि केएमसीबाट नै एमबीबीएस सकेर इन्टर्नशीप गरिरहनुभएको छ । हरेक दिन एकघण्टा अध्ययन गर्दा पनि हुन्छ । तर अनुशासन, संयमता र एकाग्रता चाहिने रहेछ । अध्ययनपछि नेपालमा बसेर सेवा गर्ने सोच छ । क्षमतावान् विद्यार्थी विदेश जाने प्रचलन बढेको छ । सबैले नेपालमा बस्ने सोच राख्नुपर्छ । मलाई स्त्री तथा प्रसुती रोग विशेषज्ञ हुने चाहना छ । तर भविष्यमा के हुन्छ समयले देखाउँछ ।

‘इच्छाशक्ति आवश्यक रहेछ’

अस्मिना लामा, एमबीबीएस—तेस्रो वर्ष

मलाई डाक्टर भएको देख्ने बुवामुमाको सपना हो । बाबालाई लाग्थ्यो रे समाजमा सबैभन्दा सम्मानित पेशा डाक्टरको हो रे ! त्यसैले छोरीहरूलाई डाक्टर नै बनाउँछु ता की सबैले सम्मान गरुन् । बुवा आफू भने वकिल हुनुहुन्छ । ठुलो हुँदैगएपछि आफूमा पनि चासो बढ्दै गयो । अध्ययनमा मिहिनेत गर्दै गएँ । अहिले होस्टेलमा बसेर एमबीबीएस अध्ययन गरिरहेको छु । अवस्थाअनुसार होस्टेलमा खाना पकाएर पनि खाने गर्दछौं । फुर्सद नहुँदा बाहिर पनि खानुपर्छ । मेरो एक बहिनी र भाइ छन् । बहिनी पनि एमबीबीएस पढिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्