Logo
|
Wednesday 15th January 2025
Logo

epaper

जिल्ला अस्पताल सङ्खुवासभाः १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार



नेपाल हेल्थ न्युज, किमाथाङ्का (सङ्खुवासभा) । जिल्ला अस्पताल सङ्खुवासभामा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार सुरु भएको छ। मंगलबारदेखि सुरु भएको सेवामा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क विशेषज्ञसहितको उपचार गरिने अस्पताल स्रोतले जनाएको छ।

बालबालिका लक्षित निःशुल्क विशेषज्ञ सेवाको मंगलबारदेखि औपचारिकरुपमा सुरुआत गरिएको अस्पतालका मेडिकल अधिकृत प्रनव जयरुले जानकारी दिनुभयो। उनका अनुसार निःशुल्क उपचार प्राप्त गर्ने बिरामी बालबालिकालाई जीवन बीमाले तोके बमोजिमको औषधिसमेत निःशुल्क उपलब्ध गराइने छ।

निःशुल्करुपमा आकस्मिक सेवा लिनुपर्ने बिरामी बालबालिकाको हकमा स्थायी बसोबास भएको विवरण खुल्ने सरकारी कागजात हुनुपर्ने जयरुले जानकारी दिनुभयो।

कोशी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारको योजना ल्याएको हो। बालबालिकाको निःशुल्क उपचार सुविधा ५० शय्या भएका अस्पतालमा मात्र लागु भएको हो।

जिल्ला अस्पतालमा हार्डजोर्नी विशेषज्ञ, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापीलगायत सेवा सञ्चालनमा छन्। जिल्ला अस्पतालको ५० शय्याको भवन समयमा निर्माण नहुँदा विसं २०३३ मा स्थापना भएको ३७ शय्या क्षमता भएको पुरानो भवनबाट सञ्चालन हुँदै आएको छ।

सो अस्पतालमा जिल्लाका १० स्थानीय तहका साथै छिमेकी जिल्ला भोजपुरका अधिकांश सेवाग्राही उपचारका लागि आउने गरेका जयरुले बताउनुभयो। यसअघि प्रदेश सरकारले नोबेल शिक्षण अस्पताल, विराट शिक्षण, हाम्रो अस्पताल र प्रादेशिक अस्पतालसँग सम्झौता गरी उक्त उमेर समूहका बालबालिकाको निःशुल्क उपचार सुरु गरेको थियो। रासस

प्रतिक्रिया दिनुहोस्