Logo
|
Friday 26th July 2024
Logo

epaper

कानून विपरीत सञ्चालित वीर अस्पताल छेउका दुई वटा फार्मेसी बन्द 



नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा औषधि व्यवस्था विभागका अधिकारीहरूको समेत निरीक्षणपछि कानून विपरीत महँगोमा औषधि बिक्री वितरण गरिरहेका वीर अस्पताल छेउकै दुई वटा फार्मेसी बन्द गरिएको छ । 

वीर अस्पतालको नयाँ भवन (सर्किजल)को छेउमै गुठीको जग्गामा निजी स्तरमा सञ्चालन गरिएका उपकार फर्मा र सत्यम फर्माले दर्ता नभएका, म्याद गुज्रिएका र मूल्य नै नतोकिएका औषधि महँगोमा बिरामीलाई बिक्री वितरण गरिरहेको फेला परेपछि दुई वटै फार्मेसी बन्द गरिएको हो । 

बिरामीलाई आवश्यक पर्ने औषधि वीर अस्पताल भित्रका फार्मेसीमा नपाउने र अस्पतालका निर्देशकले मिलेमतोमा बिरामीलाई बाहिरका फार्मेसीबाट महँगो औषधि किनाउने गरेको गुनासो आएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बस्नेतले औषधि व्यवस्था विभागका विज्ञहरू र मन्त्रालयका अधिकारी लिएर बिहीबार आकस्मिक रुपमा वीर अस्पतालले सञ्चालन गरेका अस्पतालभित्र रहेका फार्मेसी र अस्पताल बाहिर नीजि स्तरमा सञ्चालनमा रहेका फार्मेसीहरूको अनुगमन गर्नुभएको थियो। 

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा.विकाश देवकोटा, डा.दीपेन्द्ररमण सिंह र नीति तथा योजना  डा.कृष्ण पौडेल  र औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको नेतृत्वमा सिनियर फर्मासिस्टहरु, मन्त्रालयका अधिकारी र सञ्चारकर्मीसहितको विज्ञ टोली वीर अस्पताल पुगेको थियो । अनुगमनमा स्वास्थ्य मन्त्री बस्नेत आफू नै सहभागी हुनुभएको थियो। 

वीर अस्पताललगायत अधिकांश सरकारी अस्पतालहरूले आफूले सञ्चालन गरेका फार्मेसीहरूमा बिरामीलाई चाहिने औषधि उपलब्ध नगराएर बाहिरका निजी फार्मेसीहरूसँगको कमिसनको मिलेमतोमा महँगोमा औषधि किनाउने गरेको गुनासो आएकाले आकस्मिक निरीक्षण गर्नुपरेको मन्त्री बस्नेतले बताउनुभयो । 

उहाँले भन्नुभयो, “वीर अस्पताल लगायतका सरकारी अस्पतालहरूका फार्मेसीमा बिरामीलाई आवश्यक पर्ने औषधि नराख्नुको कारण पत्ता लगाएर समाधान खोज्न अनुगमन गरिएको हो । जनतालाई अस्पतालकै फार्मेर्सीबाट न्यूनतम मूल्यमा सहज रुपमा औषधि उपलब्ध गराउनुपर्छ । कसैको मिलेमतो र कमिसनको चक्करमा बिरामीले महँगोमा औषधि किन्नु पर्ने बाध्यता हटाउनुपर्छ ।” मन्त्री बस्नेतले अनुगमनको रिपोर्ट आएपछि वीरलगायत देशभरिकै सरकारी अस्पतालहरूमा सहज रुपमा अस्पतालकै फार्मेसीबाट औषधि उपलब्ध गराइने व्यवस्था गर्ने बताउनुभयो । 

अनुगमनका क्रममा वीर अस्पताल भित्र सञ्चालनमा रहेका तीन वटै फार्मेसीमा आवश्यक औषधि फेला नपरेको अतिरिक्त सचिव डा. विकाश देवकोटाले बताउनुभयो । भित्रै उपलब्ध हुने औषधिको लागि समेत बाहिरबाट किनेर ल्याउनुपर्ने बाध्यता रहेको बिरामीहरूले गुनासो गरेका छन् । 

मन्त्री बस्नेतले अस्पताल बाहिरका दुई वटा फार्मेसी निरीक्षण गर्दा भद्रगोल अवस्था देखेको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बताउनुभयो ।  सत्यम र उपकार फर्माले औषधि व्यवस्था विभागमा दर्ता नै नभएका औषधि विक्री वितरण गरिरहेको, म्याद गुज्रेका औषधि विक्री वितरण गरिरहेको र औषधिको भण्डारण पनि सही ढंगले नगरेको पाइएपछि दुई फार्मेसी बन्द गर्ने निर्णय गरेको महानिर्देशक ढकालले जानकारी दिनुभयो । अन्य फार्मेसीहरूको पनि निरन्तर अनुगमन गरेर निर्णय लिइने उहाँले बताउनुभयो । रेडियोनेपाल

प्रतिक्रिया दिनुहोस्