Logo
|
Saturday 27th July 2024
Logo

epaper

विपन्न–असहायको निःशुल्क उपचार गर्न काठमाडौं महानगरले सार्वजनिक गर्यो अनलाइन प्रणाली

४१ अस्पतालका ३२३ शय्या उपलब्ध



नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौं महानगरपालिकाले विपन्न, असहाय र बेवारिसेको निःशुल्क उपचार गर्न अनलाइन प्रणाली सार्वजनिक गरेको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार हाल यो प्रणालीमा ४१ अस्पतालका ३२३ शय्या उपलब्ध भएका छन् । काठमाडौं महानगरपालिका भित्रका अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउन यसै वर्ष छुट्‌टै कार्यविधि समेत ल्याइएको थियो ।सोही अनुसार निजी ता सामुदायिक अस्पतालहरूमा यही १ फागुनदेखि यो व्यवस्था कार्यान्वयन गर्न पत्राचार समेत गरिसकिएको मेयर शाहले जानकारी दिनुभएको छ ।

‘कोही नभएका र केही नभएकाले न औषधि किन्न सक्छन् । न कुनै शुल्क तिर्न सक्छन्,’ उहाँले भन्नुभयो–‘यस्ता व्यक्तिको सबै उपचार र त्यसमा लाग्ने खर्च निःशुल्क हुनुपर्छ ।’

महानगरपालिकाको अनलाइन प्रणालीमा आबद्ध ४१ ओटा अस्पतालमा कूल तीन हजार २३९ शय्या रहेका छन् । जसको दश प्रतिशत अर्थात् ३२३ शय्या लक्षित वर्गका लागि उपलब्ध हुनेछन् ।

यस बाहेक अन्य अस्पतालहरूसँग समेत सम्पर्क गर्ने र प्रणाली सञ्चालनका लागि अनुरोध गर्ने कार्य भइरहेको मेयर शाहले बताउनुभयो । निःशुल्क उपचार पद्धतिलाई प्रणालीमा आधारित पारदर्शी बनाउन फ्रि हेल्थ डट काठमाडौं डट जीओभी डट एनपी वेब एड्रेसमा उपलब्ध गराइएको छ ।

यो प्रणालीमा अस्पतालहरूलाई आबद्ध गराउन युजरनेम र पासवर्ड दिइएको छ । यो प्रणालीमा कुन अस्पतालमा सेवा छ, बेड सङ्ख्या कति हो कति बेडमा बिरामीले उपचार गराइरहेका छन्, कति खाली छन् भन्ने जानकारी हेर्न सकिन्छ । क्षेत्रपाटी निःशुल्क चिकित्सालय र काठमाडौं मोडेल अस्पतालमा परीक्षण गरेपश्चात् अनलाइन प्रणाली कार्यान्वयनमा ल्याइएको बताइएको छ ।

यो प्रणालीले सेवा प्रदायक अस्पताल र सेवाग्राहीलाई जोड्ने काम गर्छ सेवाग्राहीको आवश्यकता अनलाइन प्रणालीबाटै पूरा हुने मेयर बालेनले बताउनुभयो ।

निःशुल्क उपचारको सेवा देशका जुनसुकै भेगबाट आएका व्यक्तिले तोकिएको मापदण्ड बमोजिम उपभोग गर्न पाउने महानगरले जनाएको छ । यो सेवा प्रभावकारी रूपमा कार्यान्वयन गराउन साझेदार तथा सरोकारवाला सङ्घसंस्था, व्यक्ति तथा प्रतिनिधिसँग छलफल समेत गरिएको थियो ।

जसबाट निःशुल्क उपचार सेवा निर्देशक समिति समेत गठन गरिएको छ । सेव लिन र दिन सहज होस् भन्ने उद्देश्यका साथ अनलाइन प्रणाली विकास गरिएको मेयर शाहले बताउनुभयो ।

कसरी लिने निःशुल्क स्वास्थ्य उपचार सेवा ?

  • गरिबी परिचय पत्र भएका बिरामीहरूले सोझै अस्पतालमा गई उपचार सेवा लिन सकिने ।
  • यदि गरिबी परिचय पत्र छैन भने बिरामीहरूले कार्यविधिको अनुसूची २ बमोजिमको निवेदन र आर्थिक अवस्था खुल्ने अनुसूची ५ बमोजिमको फाराम भरी सम्बन्धित वडा कार्यालयमा दिने ।
  • वडा कार्यालयबाट दिइने अनुसूची ४ बमोजिमको सर्जमिन र अनुसूची ३ अनुसारको सिफारिस पत्र लिई अस्पतालमा जाने
  • यदि बिरामीलाई उपचारका लागि कुन अस्पताल जाने अन्योल भएमा सम्बन्धित वडाको सिफारिस पत्र लिई काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागको निःशुल्क उपचार सहजीकरण एकाइमा सम्पर्क गर्ने । जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठलाई मोबाइल नम्बर ९८०१३०६८९३ मा सोझै सम्पर्क गर्न सकिनेछ ।
  • बेवारिसेको हकमा नजिकको वडा कार्यालय तथा प्रहरी कार्यालयको सिफारिसको आधारमा निःशुल्क उपचार प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्