Logo
|
Sunday 19th May 2024
Logo

epaper

मानिसलाई सपना देख्न र कल्पना गर्न असक्षम बनाउने शारीरिक अवस्थाः ‘एफान्टेजिया’

भेनेजुएलाका ३५ वर्षिय एसेभेडो जसले आजसम्म सपना देखेका छैनन्



नेपाल हेल्थ न्युज, काठमाडौँ । ‘सपना देख्न केही गर्नै पर्दैन, निदाए भैहाल्छ।’ झट्ट सुन्दा यो भनाइ एकदमै स्वाभाविक अवस्था जस्तो लाग्छ। आखिर सिरानीमा टाउको बिसाउँदा वा यात्राको समय गाडीमा झपक्क आँखा लाग्दा धेरैले सजिलै सपना देखिहाल्छन्।

भेनेजुएलाका चिकित्सक गिल्येर्मो एन्टोनियो एसेभेडोलाई सपना वास्तवमै ‘देखिन्छन्’ भनेर थाहा थिएन

सपना बडा रमाइला हुन्छन्। कहिले हामी आफूलाई समुद्र किनारमा पाउँछौँ त कहिले हामी आकाशमा उडिरहेका हुन्छौँ। कहिले हामी तर्सिन्छौँ, जनावर वा भयानक कुनै आकृति देखेर त कहिले हामी जोशिन्छौँ, दौडिरहेको वा खेलिरहेको ठानेर।

तर कोहीले भने सपनाको संसार र यसले हामी निद्रामा हुँदा (र कहिलेकाहीँ ब्यूँझिएको बेला पनि) मस्तिष्कमा सिर्जना गर्ने छवि, ध्वनि र सुवासको आभाषको कहिल्यै अनुभव गर्न पाउँदैनन्। किन? किनभने उनीहरू ‘एफान्टेजिया’ भनिने एक विशेष प्रकारको अवस्थाबाट पीडित हुन्छन्।

देख्न नसक्ने मस्तिष्क

‘एफान्टेजिया’ मानसिक दृष्टिको अभाव वा कल्पना गर्न नसक्नु हो। ब्रिटिश स्नायुविद् एडम जेमानले यसलाई यसरी व्याख्या गरेका छन्। विशेषगरी उहाँले मष्तिस्कले बनाउने चित्रका क्षेत्रमा गरेका अनुसन्धानका कारण यो विषय विगत दुई दशकमा चर्चामा आएको छ।

‘हामीलाई कसैले टेबल वा स्याउ भन्यो भने हामीले हाम्रो मस्तिष्कमा तिनको चित्रसहित कल्पना गर्न सक्छौँ। तर एफान्टेजिया भएका व्यक्तिहरूले यो गर्न सक्दैनन्’, युकेमा एक्सेटर विश्वविद्यालयमा प्राध्यापक पनि रहेका जेमानले बताउनुभयो ।

भेनेजुएलाका चिकित्सक गिल्येर्मो एन्टोनियो एसेभेडो त्यस्तो गर्न नसक्ने व्यक्तिमध्येका हुनुहुन्छ । एफान्टेजियाको प्रभाव बुझ्न बीबीसीले उहाँसँग कुरा गर्‍यो।

‘मेरो मस्तिष्क मनिटर अफ गरिएको र अक्षर बाहेक तस्बिर स्वीकार गर्न नसक्ने कम्प्युटर जस्तै हो,’ उहाँले भन्नुभयो ।

विशेषज्ञहरूका अनुसार संसारको चार प्रतिशत जनसङ्ख्याले यस अवस्थाका कारण मानसपटलमा चित्र विकास गर्न सक्दैनन्। उनी पनि यही चार प्रतिशतमध्येका रहेछन् भनेर डा. एसेभेडोले संयोगले मात्र थाहा पाएका थिए।

‘मैले एक मानसिक अस्पतालमा गर्दा मानसिक रोगहरूका बारे जान्न पाएँ र सन् २००५ मा जेमानले दृष्टिविहीन मस्तिष्कबारे लेखिएको एउटा लेख पढ्न पाएँ,’ उहाँले स्पेनको सान सेबास्टियन सहरबाट टेलिफोनमार्फत बताउनुभयो। डा. एसेभेडो विगत छ वर्षदेखि यस सहरमा काम गरिरहेका छन्।

उहाँको लेखमा एफान्टेजिया भएका मानिसहरूले कल्पना गर्न सक्दैनन् वा सोच्दा मानसिक चित्र विकास गर्न सक्दैनन् भनेर वर्णन गरिएको थियो। त्यो पढेर मेरो मनमा प्रश्न उठ्योस् कसैले साँच्चै त्यसरी मानसिक चित्रे विकास गर्न सक्छन् र?

‘धेरैले सक्दछन् भनेर थाहा पाउँदा त म स्तब्ध भएँ,’एसेभेडोले बताउनुभयो। ‘भ्रान्ति वास्तवमै हुने कुरा रहेछ, मैले त प्रतीकात्मक भनी ठान्थेँ।’

हाल ३५ वर्ष रहेका एसेभेडोले जीवनको पहिलो ३१ वर्षसम्म सपना वास्तवमै ‘देखिन्छन्’ भनेर बुझ्न सकेनन्। ‘मलाई एफान्टेजिया रहेको कुरा थाहा नभएको बेला मैले कार्टुन आदिमा पात्रले सपना देख्दा देखाइने दृश्य दर्शकलाई बुझाउनलाई मात्र देखाइएको जस्तो लाग्थ्यो।’

चिकित्सक एसेभेडोले आफ्नो मस्तिष्कलाई मनिटर अफ गरिएको कम्प्युटरसँग तुलना गर्छन्

न राम्रो न नराम्रो

चिकित्सक एसेभेडोलाई सुत्दा कहिले पनि सपना देखेको याद छैन र उनले दिमागमा केही कुराको चित्र बनाएर सोच्ने गरेका पनि छैनन्।

‘तपाईलाई कसैले स्याउ कल्पना गर्न भन्यो भने तपाईको दिमागमा पक्का पनि स्याउको तस्बिर आउँछ। तपाईको मस्तिष्कमा स्याउको छवि राखेका न्यूरोनहरू सक्रिय हुन्छन् र तपाईको आँखा अगाडि स्याउ नभए पनि तपाईले त्यो फल देख्नुहुन्छु। मैले देख्न सक्दिन,’ उहाँले भन्नुभयो ।

‘मलाई स्याउ के हो, यसको आकार कस्तो छ, यो कुन रङ्गको हुन्छ, सबै थाहा छ। तर मेरो आँखा अगाडि नहुँदा म यसको चित्रात्मक कल्पना गर्न सक्दिन,’ उहाँले थप्नुभयो । ‘मैले बाल्यकालमा विद्यालयमा परिवारको चित्र बनाउँदा जहिले प्राविधिक किसिमका कुनै गुण विनाका सिन्का जस्ता हुन्थे। त्यस्तो किन भएको भनेर मैले अब बुझ्दै छु।’

सपना नै नदेख्ने मान्छेलाई दुःस्वप्नको अवधारणा कस्तो लाग्छ त ?

‘मेरो लागि निद्रा राम्रो नपरेको रात नै दुःस्वप्न हो। कुनै रात मलाई राम्ररी आराम पर्दैन वा सुत्न सक्दिनँ। तर कहिले कुनै डरलाग्दो छवि वा आकृति देखेको चाहिँ याद छैन,’ उहाँले भन्नुभयो ।

उहाँको निष्कर्ष छ, ‘मैले त मलाई सपना याद नहुने लाग्थ्यो तर अहिले बुझेको छु कि मैले सपना नै नदेखेको हो।’

कामुक कल्पना र मनको आवाज छैन

सपना नदेख्ने मानिसहरूले कामुक कल्पना गर्न सक्छन् त ? एसेभेडोका अनुसार सक्दैनन्। ‘मेरा केही यौन कामना (फेटिश) छन् तर तिनीहरू मैले देखेका वा अनुभव गरेका गतिविधिहरूको आधारमा विकास भएका हुन्। कसैले मलाई केही गरेको वा गर्न चाहेको केही बतायो भने चाहिँ म कल्पना गर्न सक्दिन,’ उहाँले भन्नुभयो ।

यही कारणले गर्दा उहाँले अन्य पुरुषझैँ किशोरावस्थामा प्रवेश गर्दा स्वप्नदोष अनुभव गरेनन्। यस अतिरिक्त एसेभेडोसँग मनको आवाज पनि छैन। यो भनेको, उनीसँग मनमनै आफैसँग कुरा गर्ने क्षमता छैन। ‘मेरो मनमा विचार आउँछन् तर मुखबाट नबोली म त्यस विचारलाई शब्दमा उतार्न सक्दिन। कसैले कल्पनामा केही कुरा देख्न सक्ने वा मनमनै आवाज सुन्न सक्ने कुरा सोच्दा म विचलित हुन्छु,’ उहाँले भन्नुभयो ।

हामी जस्तो कल्पना गर्न नसके पनि एसेभेडो रचनात्मक छन् र चिकित्साबाहेक साथीहरूसँग मिलेर पडकास्ट बनाउँछन्

एफान्टेजियाका फाइदा
एसेभेडोले एफान्टेजियाले उनलाई असामान्य बनाएको मान्दैनन्। यद्यपि, आफूलाई यो भएको थाहा भएदेखि उनले आफ्नो व्यवहार अझ राम्ररी बुझ्न थालेको चाहिँ स्वीकार्छन्।

‘मैले पहिलेदेखि नै आफ्नो फेशन अनौठो र असाधारण रहेको महसुस गर्थेँ। पछि मैले बुझेँ कि यो अनौठो होइन, मैले कुनै शर्ट वा प्यान्ट वा जुत्ता लगाउँदा मलाई कस्तो देखिन्छ भनेर कल्पना गर्न नसकेको हो।’

उहाँले थप्नुभयो–‘म मलाई मनपर्ने लुगा एउटा एउटा गरि छान्ने गर्छु तर सबै सँगै लगाउँदा म कस्तो देखिन्छु भनेर परिकल्पना गर्न सक्दिन। त्यसैले म फरक फरक रङ्ग र डिजाइनका लुगाहरू एकसाथ लगाउन पुग्छु।’

एसेभेडो फेशन सहयोगी वा आन्तरिक डिजाइनरको पेसामा कहिले सफल हुनेछैनन्। यसै बीच, प्राध्यापक जेमानका अनुसार एफान्टेजियाले व्यक्तिको बौद्धिकतामा कुनै असर गर्दैन।

यसको प्रमाण एसेभेडो नै रहेका छन् जसले चिकित्साशास्त्र जस्तो कठिन विषय पढेर उत्तीर्ण हुनुका साथै इतिहास, राजनीति, अर्थशास्त्र, विज्ञान, सङ्गीत, चलचित्र लगायतका क्षेत्रमा विश्वकोश जतिकै ज्ञान राख्छन्।

‘एफान्टेजिया भएका धेरै व्यक्तिहरू विज्ञान तथा प्रविधिका क्षेत्रमा काम गर्छन्। यस कारणले उनीहरू अमूर्त विषयहरूमा अगाडि रहेको मान्न सकिन्छ,’ जेमानले भन्नुभयो ।

एसेभेडोलाई पनि यो रोगले उनलाई उनको पेसामा फाइदा पुर्‍याएको महसुस गर्छन्। ‘बिरामीहरूको अवस्था मैले कल्पना गर्न नसक्ने हुनाले उनीहरूलाई के भइरहेको छ भनेर बुझ्न म धेरै प्रश्न गर्छु,’ उहाँले आफ्नो कार्यशैली व्याख्या गर्नुभयो ।

‘उदाहरणका लागि कोही बिरामी आएर रिङटा लागिरहेको छ भने मैले ठ्याक्क बुझ्न उनलाई सोध्छुः तपाईँको टाउकोमा केही वस्तुले दबाव सिर्जना गरिरहेको जस्तो लागेको छ? तपाई चकित महसुस गरिरहनुभएको छ? संसार घुमिरहेको जस्तो लागिरहेको छ? म प्रहरीलेझैँ सोधपुछ गर्छु। म धेरै जिज्ञासु छु।’

एफान्टेजियाका बेफाइदा
जेमानले एफान्टेजिया भएका व्यक्तिहरूलाई आफ्नो विगत सम्झन र मानिसहरूको अनुहार चिन्न गाह्रो हुने जानकारी दिनुभयो। उहाँले एफान्टेजिया र अटिजमबीच पनि सम्बन्ध देखिएको बताउनुभयो

यता एसेभेडोलाई कल्पना गर्न नसक्ने भएकोले बिदा वा खानाको योजना बनाउँदा निकै सकस पर्छ। त्यसैले यस्ता परिस्थितिहरूको सामना गर्न उनले पूर्वनिर्धारित प्रतिक्रियाहरूको भण्डार बनाएर राखेका छन्।

‘यदि कसैले मलाई के खान मन लाग्छ भनेर सोध्यो भने म मेकडनल्ड्स भनी दिन्छु। यता स्पेनमा खानालाई धेरै महत्त्व दिइने भएकोले सोध्ने मानिसले मलाई पागल भनी आफै कुनै रेस्टुरेन्ट बताइदिन्छन्। समस्या समाधान,’ उनी जिस्के।

‘मलाई खाना मन नपरेको होइन। मलाई स्वाद र सुगन्धको सम्झना नहुने भएकोले आफ्नो रुचि बुझ्न गाह्रो लाग्छ,’उहाँले बताउनुभयो ।

एसेभेडोले एफान्टेजियाको अर्को एक पक्ष पनि उजागर गर्नुभयो। झट्ट सुन्दा राम्रो लागे पनि उनलाई चाहिँ दुईधारे तरबारू जस्तो लाग्ने यो पक्ष भनेको उहाँलाई कसैको मृत्यु भएमा वा कुनै सम्बन्ध टुटेमा लामो समय दुःख महसुस हुँदैन।

‘मलाई खासै शोक हुँदैन। मैले कसैलाई देख्न छाडेपछि त्यो पीडा पनि महसुस हुन छाड्छ। मलाई तस्बिर देख्दा बाहेक कसैको सम्झनाले सताउँदैन। म वर्तमानमा बाँच्छु,’ उहाँले भन्नुभयो ।

वर्तमानमा मात्र बाँच्दा के खराब भयो त?

‘भौतिक रूपमा मेरो नजिक नरहेका मानिसहरूसँग मलाई सम्बन्ध कायम राख्न कठिन हुन्छ। म बस्ने वा काम गर्ने ठाउँमा एकदम घनिष्ठ साथीहरू बनाउँछु तर घर वा जागिर परिवर्तन गरेपछि ती पुराना सबै सम्बन्ध ओइलाएर जान्छन्,’ उहाँले विडम्बना पोख्नुभयो ।

धेरै अस्कर जितेका पिक्सारका संस्थापकमध्ये एक एड क्याटमललाई पनि एफान्टेजिया छ

‘यदि तपाईले सपना देख्नुहुन्छ भने तपाईले जे पनि गर्न सक्नुहुन्छ।’ संसारको सबैभन्दा ठूलो मनोरञ्जन साम्राज्य डिज्नीका संस्थापक वाल्ट डिज्नीले यो भन्ने गर्थे। तर उनको यो भनाइ गलत थियो किनभने सपना नदेखे पनि लक्ष्य हासिल गरेकाहरू छन्।सुन्दा अनौठो लाग्ला तर कल्पना गर्न नसके पनि व्यक्ति रचनात्मक भने हुनसक्छ।

एफान्टेजिया सफलताको बाधक होइन।, यस अवस्थाको बारे सचेतना बढाउन काम गर्ने अन्तर्राष्ट्रिय संस्था एफान्टेजिया सञ्जालले जोड दियो। पिक्सारका संस्थापकमध्ये एक र वाल्ट डिज्नी एनिमेशन स्टुडियोका पूर्वअध्यक्ष एड क्याटमल, मानव जीनोमको पहिलो पटक सिक्वेन्सिङ् गरेका जीववैज्ञानिक क्रेग भेन्टर, मोजिल्ला फायरफक्सका निर्माता ब्लेक रस र डिज्नीका एनिमेटर र द लिटल मर्मेड चलचित्रका निर्माता ग्लेन किनलाई पनि एफान्टेजिया छ।

एफान्टेजियाको उत्पत्तिको बारे हामीलाई के थाहा छ?

ब्रिटिश स्नायुविद् एडम जेमान विश्वविख्यात एफान्टेजियाविद् हुन्

एफान्टेजिया के कारणले हुन्छ? के यो रोग हो यसको उपचार हुनसक्छ?

‘यो कुनै रोग होइन। अवस्था भने अलि तटस्थ होला तर मानिसहरूले यो चिकित्सकीय विकार हो भनेर बुझ्नु हुँदैन। म यसलाई मानव अनुभवको चाख लाग्दो भिन्नता भन्न रुचाउँछु,’ जेमानले उत्तर दिनुभयो ।

अध्ययनहरूका आधारमा उनले मानिसहरूलाई जन्मजात एफान्टेजिया हुने जानकारी दिनुभयो। यद्यपि कसैकसैलाई हृदयाघात वा मस्तिष्कमा चोटपटक लागेपछि एफान्टेजिया भएको छ।

‘अहिलेसम्म एफान्टेजिया भएका मानिसहरूको मस्तिष्कमा समवेदनासँग सम्बन्धित भागहरूमा जोडाइ कमजोर हुने व्याख्या गरिएको छ,’ उहाँले भन्नुभयो ।

जेमानले यसमा आनुवंशिक गुण रहेको पनि अवलोकन गरेका छन्। ‘कसैलाई एफान्टेजिया रहेको परिवारमा जन्मिने बच्चालाई पनि एफान्टेजिया हुने सम्भावना १० गुणाले बढी हुन्छ।’

यो अवस्था पत्ता लगाउन व्यक्तिले मानसिक चित्रको तीव्रता सम्बन्धी प्रश्नको उत्तर दिनुपर्छ। एसेभेडोले यही गरेका थिए। यस अतिरिक्त मस्तिष्क तथा आँखाको जाँच गरेर पनि यो अवस्था पत्ता लगाउने गरिन्छ।

‘तपाईसँग कल्पना गर्ने क्षमता छ र तपाईलाई उज्यालो सूर्यको बारे सोच्न भनियो भने तपाईँका आँखाका नानी साना हुन्छन्। तपाईँका आँखाले साँच्चै सूर्य हेरिरहेकाझैँ प्रतिक्रिया दिन्छन्,’जेमानले भन्नुभयो । ‘एफान्टेजिया भएका मानिसहरूको आँखाले त्यस्तो गर्दैनन्।’

यसको उपचार गर्न सकिन्छ भन्ने प्रश्नमा उनले स्पष्ट पारे, ‘कल्पना गर्ने क्षमता कहिले पनि नभएका व्यक्तिहरूलाई यो विकास गर्न निकै कठिन हुन्छ। कसैकसैले साइकडेलिक जस्ता केही पदार्थ लिएर दिमागमा चित्र निकाले तापनि ती स्थायी हुन सकेनन्।’ बीबीसीबाट साभार गरिएको

प्रतिक्रिया दिनुहोस्