Logo
|
Saturday 27th July 2024
Logo

epaper

मुलुकलाई स्वदेशी औषधिमा आत्मनिर्भर बनाउन सरोकारवालाहरुको जोड

'उत्पादन र आयातको तारताव्यता मिलाउनुपर्छ' -अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटा



नेपाल हेल्थ न्युज काठमाडौँ । मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन सरोकारवालाले जोड दिएका छन् । स्वास्थ्य पत्रकार मञ्च, नेपालले राजधानीमा आयोजना गरेको ‘औषधिको गुणस्तर, मापदण्ड र कानूनी प्रावधान’ बिषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका हुन् ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाले सरकारले निःशुल्क वितरण गर्ने ९८ वटा औषधि खरिद गरेमा नेपाली औषधि उद्योग फस्टाउनसक्ने बताउनुभयो । ‘हामी करिब ५० प्रतिशत मात्र स्वदेशी उत्पादनमा आत्मनिर्भर भएका छौ, । उत्पादन र आयातको तारताव्यता मिलाउनुपर्छ । हामीले स्वदेशी औषधि उपभोग गर्नुपर्दछ’—उहाँले भन्नुभयो—‘कुन–कुन उद्योगबाट के–के औषधि उत्पादन गर्न हुन्छ के हुँदैन । हाम्रो देशमा कस्ता रोग फैलिरहेका छन्, त्यो हेरेर हामीले औषधि उत्पादनको रोडम्याप बनाउनुपर्दछ ।’


अतिरिक्त स्वास्थ्य सचिव डा. देवकोटाले चुहावट नियन्त्रण गरेर औषधिको मूल्यमा समायोजन गर्न सकिने बताउनुभयो । उहाँले उद्योगमा नै प्रयोगशाला रहेकाले औषधि गुणस्तर रहेको छ भन्ने हामीले विश्वास गरेको बताउनुभयो ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले शरीरमा औषधिले काम गर्यो भने मात्र औषधिको गुणस्तर मापन हुने बताउनुभयो । उहाँले गुणस्तर सुधार्न विभागले नयाँ नयाँ प्रविधि ल्याइरहेको भन्दै उद्योगले पनि सुधार गरिरहेको बताउनुभयो । ‘रिसर्च, विज्ञलाई राखेर औषधिको फर्मुलेसन भइरहेको छ । निश्चित परीषण गरेपछि गुणस्तर भन्ने मिल्दैन । होल लाइफसाइकललाई हेर्नुपर्दछ । शरीरमा औषधिले काम गरेर मात्र त्यो गुणस्तर हुन्छ’ उहाँले भन्नुभयो । उहाँले औषधिको उत्पादनदेखि प्रयोगसम्म हेरेर मात्र गुणस्तर हो वा होइन भन्ने थाहा हुने बताउनुभयो ।


नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले नेपालमा उत्पादन गने औषधि गुणस्तरीय रहेको बताउनुभयो । औषधि उद्योग संचालन गर्न त्यति सजिलो नभएको भन्दै बाहिर बसेर औषधि उद्योगभित्र पीडा बुझ्न नसकिने उहाँले बताउनुभयो । ‘औषधि उद्योगमा करिब ६० अर्ब रुपिया लगानी रहेको छ ।

एउटा औषधि उद्योग सञ्चालन गर्न करिब ८० करोड लाग्दछ । तर स्वदेशी उद्योगले उत्पादन गरेका औषधिको उपभोगको ३० अर्ब रहेको छ,’— उहाँले भन्नुभयो —‘६० अर्ब लगानी गरेर ३० अर्ब वेचेको छौ । कुनै पनि बिजनेश लगानीको ६ गुणा गर्नुपर्दछ । यसले गर्दा हामीलाई समस्या छ ।’ उहाँले सरकारले खरिद गर्ने औषधि स्वदेशी उद्योगले उत्पादन गरेको खण्डमा औषधि उद्योग फस्टाउने बताउनुभयो । उहाँले सरकारले खरिद गर्ने औषधि किनेमा आफूहरु ५ बर्षभित्रमा मुलुकलाई चाहिने औषधि उत्पादन गर्न सक्ने र बाहिरबाट कुनै पनि औषधि खरिद गर्न नपर्ने अवस्थाको सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


आयुर्वेद औषधि उत्पादन संघका अध्यक्ष सुमन पाण्डेले औषधिको गुणस्तरमा संवेदशनशील रहेको बताउनुभयो । उहाँले सरकारले बनाएको मापदण्ड पुरा गरेर नै बिरामी सम्म पुर्याएको बताउनुभयो । उहाँले सरकारले उद्योगलाई सहयोग गरेमा उद्योगीले मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन सकिने बताउनुभयो ।

नेपाल फर्मास्युटिकल्स एसोसिएसनका महासचिव संजिव कट्टेलले औषधिको लागि गुणस्तरीय प्रयोगशालामा ध्यान दिनुपर्ने बताउनुभयो ।


औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले नेपाली औषधि उद्योग फस्टाउनुपर्ने बताउनुभयो । उहाँले औषधिको गुणस्तर कायम राख्नुपर्ने भन्दै स्वदेशी उद्योग संरक्षण आवश्यक रहेको बताउनुभयो । विश्वमा नेपाल सबभन्दा कम मूल्यमा औषधि वेच्ने मुलुकको रुपमा रहेको बताउनुभयो ।


कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुंगेलले औषधि मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकोले गुणस्तरीय औषधि उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्